१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल-प्यालेस्टाइन किन सधैं अशान्त?

गाजा सहरमा बुधबार इजरायली बमबारीपछि भत्किएका भवनसामु चिच्याउँदै एक युवक। अघिल्लो रात इजरायलले व्यापक हवाई हमला गर्दा गाजापट्टीमा ठुलो जनधनको क्षति भएको छ। तस्बिर: एएफपी/रासस

इजरायलमा अक्टुबर ६ को राति ३० वर्षभन्दा कम उमेरका दुई हजारभन्दा बढी युवा एउटा संगीत उत्सवमा भेला भएका थिए। उत्सवमा केही रातभर नाचे, कोही नाच्दानाच्दै थाकेर निदाए। केही भने मिर्मिरे उज्यालोमा पुनः नाच्न थाले।

अर्को दिन शनिबार बिहान साढे ६ बजेतिर संगीत उत्सव स्थलमाथि काला धब्बा देखिनुका साथै ठुल्ठुलो आवाज सुनिन थाल्यो। यो आवाज गाजापट्टीमा रहेका हमास लडाकु समूहले पाँच हजारभन्दा बढी रकेट प्रहार गर्दाको थियो। उत्सवमा भेला भएकाबीच भागाभाग मच्चिन थाल्यो। जहाँ उनीहरू जान्थे, त्यहीं हमासका लडाकुले घेर्थे।

 गाजापट्टीसँग सीमा जोडिएको इजरायलका अग्ला काँडेतार ध्वस्त पार्दै ६ ठाउँबाट घुसेर हमास लडाकुले आक्रमण गरेका थिए। लडाकुले बाटोमा फेला पारेका केहीको हत्या गरे, केहीलाई बन्धक बनाउँदै जान थाले। केही समयमै संगीत उत्सवमा रमाउनेले थाहा पाइसकेका थिए, उनीहरूमध्ये सयजनाको ज्यान गइसकेको छ र कैयौंलाई बन्दी बनाइएको छ।

यति मात्र होइन, इजरायलका विभिन्न ठाउँमा हमास लडाकुले आक्रमण गरेर यसअघि कहिल्यै नदेखाएको शक्ति प्रदर्शन गरेका थिए।

संगीतको मनोरन्जन यति महँगो पर्ला भन्ने कल्पनासमेत ती अनुरागीले गरेका थिएनन्। संयोगले त्यो शुक्रबार योम किपुरको युद्ध भएको पचासौं वर्ष पूरा भएको थियो। इजरायलीलाई भित्रैदेखि हल्लाउने यो घटनाको सुरुवात इसापूर्वबाट भएको थियो।

बाइबलका अनुसार ईश्वरले अब्राहमलाई आफ्ना पिताको थलो छाड्ने आदेश दिन्छन् (बाइबल, उत्पत्ति १३ः१)। ईश्वरले वचन दिएको त्यस राज्यका बारेमा अब्राहमपछि उनका सन्तानलाई पनि बताइन्छ। यसरी पुस्तापुस्ता संसारका विभिन्न ठाउँमा पुगे पनि यहुदीलाई उनीहरूको ‘प्रोमिस्ड ल्यान्ड’को कथालाई जारी राखियो। जब कुनै मिथक धर्मसँग गाँसिन्छ, त्यसले सिर्जना गर्ने विश्वासलाई कसैले पनि हल्लाउन सक्दैन।

मिथकमा वचन दिइएको भूमिु हुनु र त्यसलाई वास्तविकता परिणत गर्ने सपना देखिरहनुले संसारको जुनसुकै कुनामा पुगे पनि ‘मुलुकबिनाका’ उनीहरूलाई ‘परदेशीपन’को एउटा गहिरो आघात दिइरहेको थियो।

यहुदीले संसारमा जहाँसुकै पुगे पनि व्यापारलाई मुख्य पेसा बनाए। व्यापारमा उनीहरूले पैसा कमाए। पैसा कमाएपछि उनीहरू समाजको तारो पनि बन्न थाले। एक त परदेशबाट आएर स्थानीयभन्दा बढी पैसा कमाउनु यहुदीका लागि अप्ठेरो पार्ने विषय भयो, अर्कोतर्फ उनीहरूले दानदातव्यमा ठुलो खर्च गर्ने भएकाले समाजमा प्रतिष्ठा पनि उत्तिकै हुने हुन्थ्यो।

यहुदीको संख्या थोरै भएकाले उनीहरूबीचको एकता निकै बलियो हुन्थ्यो। कतिसम्म भने अफ्रिकासम्म फैलिएर रहेका काला यहुदीलाई समेत उनीहरूले पछि उद्धार गरेर इजरायलमा बसोबास गराएका थिए।

हजारौं वर्षसम्म इजरायल भन्ने मुलुक एउटा मिथकीय मुलुकका रूपमा रहिरह्यो। यो कहाँ छ, कहाँ हुनुपर्छ भन्नेबारे बाइबलमा उल्लेख गरिएका केही पंक्तिका कारण अहिलेको इजरायल स्थापित भएको हो।

खासगरी आफ्ना पुर्खाले देखेको सपनाको ठाउँलाई पवित्र मानी यहुदीले मन्दिर स्थापना गरेका थिए। ‘टेम्पल अफ जेरुसेलम’ नामक सो मन्दिरलाई रोमन सेनाले आफ्नो राज्य विस्तारका बेला पटकपटक भत्काए। भत्किएको मन्दिरलाई पटकपटक पुनर्निर्माण गरियो।

जब रोमले क्रिस्चियन धर्म अँगाल्यो, त्यसपछि सो पवित्र मन्दिरको महत्व अझ बढ्यो। अब यहुदीको मन्दिर क्रिस्चियनहरूको पनि पवित्र तीर्थस्थल बन्यो। तर जब धर्मगुरु मोहम्मदले इस्लाम धर्म स्थापित गरे, जेरुसेलम उनीहरूको तेस्रो महत्वपूर्ण तीर्थ बन्न पुग्यो। इस्लाम धर्मको प्रभाव बढ्दै जाँदा क्रिस्चियन र यहुदीले जेरुसेलमको रक्षाका लागि भन्दै विभिन्न समयमा र खासगरी हजार वर्षको समय ‘धर्मयुद्ध’मा बिताए। जसलाई क्रिस्चियन धर्मावलम्बीले ‘क्रुसेड’ नाम दिए।

अब्राहमदेखि हजारौं वर्षको समय बित्दा पनि यहुदीको पवित्र ठाउँले इजरायल नाम पाइसकेको थिएन। बाइबलमा उल्लेख गरिएको पवित्र मन्दिर र वरिपरिको क्षेत्रलाई इजरायल नामकरण गरिनुपर्ने र त्यहाँ यहुदीको बसोबास हुनुपर्ने कुरामा फ्रान्सेली सम्राट नेपोलियनले सन् १७९९ मा आफ्नो धारणा राखे, जुन युरोपेलीबीच साझा धारणा बन्न पुग्यो।

युरोपको व्यापारमा प्रभाव जमाएका यहुदीले राजनीतिमा पनि ठूलो पहुँच राख्थे। उनीहरूले इजरायल स्थापनाको आफ्नो सुसुप्त अजेन्डालाई बेलाबेलामा प्रभावशाली व्यक्तिमार्फत अभिव्यक्त गराउँथे। यसो गर्दा प्रभावशाली व्यापारीहरूले देश छाड्ने हुँदा खाली ठाउँमा स्वदेशी व्यापारी तथा उद्यमीले पाउने अपेक्षा पनि केहीको थियो।

सन् १८८२ मा प्यालेस्टाइनको क्षेत्रमा यहुदीको बसोबास पहिलो पटक गराइएको थियो। १८८५ मा पहिलो पटक यहुदीलाई चिनाउने ‘जियोनिज्म’ शब्द बन्यो। त्यस्तै १८९६ मा हिब्रु भाषाको पहिलो अखबार छापिन थाल्यो। कुनै पनि जातिलाई सशक्त बनाउन उसको भाषाको व्यापक प्रचारप्रसारले भूमिका खेल्छ भन्ने बुझेका यहुदीले १८९७ मा संसारभरका यहुदीको पहिलो सम्मेलन गरे।

हेर्दाहेर्दै यहुदीको शक्ति बढ्न थालेको देखेपछि प्यालेस्टिनी लेखक नजिब नासरले ‘अल–कार्मेल’ अखबार प्रकाशन गर्न थाले। नजिबले यहुदीको पछिल्लो बसाइँसराइ प्यालेस्टाइन क्षेत्रलाई उपनिवेश बनाउने नियत रहेको वकालत गरिरहे।

यहुदीलाई धेरै देशले राजनीतिमा प्रतिबन्ध लगाएका थिए तर पुनर्जागरणको युगपछि उनीहरूलाई राजनीतिमा रोक्ने शक्ति कसैमा पनि रहेन। यसको उदाहरणका रूपमा ६ वर्ष बेलायती प्रधानमन्त्री रहेका बेन्जामिन डिजरायलीलाई लिन सकिन्छ।

सन् १९१५ मा बेलायतको सांसद रहेका हर्बट स्यामुएलले ‘प्यालेस्टाइनको भविष्य’ शीर्षकमा एउटा प्रतिवेदन तयार पारे र समर्थन जुटाउन पैरवी गर्न थाले। यो पैरवीका कारण बेलायतले संसारभर घृणाका नजरले हेरिने यहुदीको एउटा निश्चित थलो हुने र उनीहरू थान्को लाग्ने विश्वास गरिएको थियो।

प्रथम विश्वयुद्धले त्यो बेलाको शक्तिशाली मुस्लिम साम्राज्य अटोमन खण्डित हुन थाल्यो। खण्डित क्षेत्रलाई फ्रान्स र बेलायतले भाग लगाएर लिए। १९१७ मा बेलायतले अरब क्षेत्रमा ‘यहुदीको राष्ट्रिय घर’ बनाउने घोषणा गर्‍यो। घटनाक्रम अघि बढ्दै जाँदा १९२२ मा ‘लिग अफ नेसन्स’ ले यहुदी मुलुकका लागि सहयोगको घोषणा गर्‍यो।

ठूला मुलुकहरूले मुस्लिम बहुल क्षेत्रमा यहुदी घुसाउने निर्णयको विरोध हुन थाल्यो। प्यालेस्टाइन क्षेत्रका मुस्लिम नेताहरूले विरोध प्रदर्शन गर्न थाले। प्रभावशाली नेता इज अद्दिन अल कासिमको बेलायती सेनाले १९३५ मा हत्या गरेपछि आन्दोलन चर्कियो। खासमा त्यो बेला प्यालेस्टाइन क्षेत्रमा यहुदी शरणार्थीको संख्या यति बढ्यो कि त्यहाँको जनसंख्या अनुपात नै गडबडायो। यसैबीच बेलायतले जबर्जस्ती यहुदी राज्यको सीमारेखा कोरिदियो।

महत्वपूर्ण समय १९३८ र ३९ को रह्यो। त्यसबेला बेलायतले तीन वर्ष लामो अरब विद्रोह दबाइदियो। सोही बेला यहुदीको सशस्त्र समूह इर्गन जन्माइयो। यसले प्यालेस्टाइनविरुद्ध सशस्त्र आक्रमण गर्न थाल्यो।

दोस्रो विश्वयुद्धकै छायामा यहुदीको पहिलोपटक अमेरिकामा सम्मेलन भयो। त्यसले अमेरिकाले इजरायलको अस्तित्वलाई सघाउने सम्बन्धमा सशक्तता प्रदान गर्‍यो।

सन् १९४६ मा जेरुसेलमस्थित किङ डेभिड होटेलमा इर्गनले बम विष्फोट गराउँदा ९१ जनाको मृत्यु भयो। यस घटनापछि संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई दुई भाग लगाएर एक भाग यहुदीको जिम्मा लगाउने सूची दर्ता गर्‍यो। तर प्यालेस्टाइनले त्यसलाई अस्वीकार गर्‍यो।

१९४८ को मे महिनामा इजरायल राज्य घोषणा गरियो। त्यो घोषणालाई अमेरिका, सोभियत संघसँगै नेपालले पनि समर्थन गर्‍यो। यो विवाद, आक्रमण र हताहतीका बीच हजारौं प्यालेस्टिनीले देश छाडे। छिमेकी मुलुक लेबनान, सिरिया, जोर्डन र इजिप्टमा इजरायल राज्य स्थापनाको असन्तोष चुलिन थाल्यो। उनीहरूले इजरायलविरुद्ध छद्मयुद्ध कायम राखे। युद्ध रोक्न ती देशबीच सम्झौता पनि हुँदै गए।

आफूहरू बसिरहेको ठाउँ उजाडियो भन्ने तुष बोकेको समूहले प्यालेस्टिन लिबरेसन अर्गनाइजेसन (पिएलओ) स्थापना गर्‍यो। पछि यो निकै प्रभावशाली संगठन बन्यो। यसका नेता यासिर अराफात निकै चर्चित र नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तित्वसमेत बने।

इजरायलले आफ्नो अस्तित्व जोगाउन सन् १९४८–४९, १९५६, १९६७, १९७३, १९८२ र २००६ मा युद्ध लड्नु पर्‍यो। पहिलो युद्ध १९४८–४९ मा भयो। १५ मे १९४८ मा बेलायतले सो क्षेत्र छाड्दा इजरायलले आफू स्वतन्त्र भएको घोषणा गर्‍यो। बेलायती सेनाले छाड्नेबित्तिकै वरिपरिका मुलुकहरू इजिप्ट, जोर्डन, इराक, सिरिया र लेबनानले पनि इजरायलले आफ्नो भनेका क्षेत्रहरू कब्जा गरे। तिनलाई इजरायलले सफलतापूर्वक फिर्ता लियो।

दोस्रो पटक १९५६ मा सुज नहरको संकटका बेला इजरायलले इजिप्टको सिनाई क्षेत्रमा आक्रमण गरी आफ्नो पकड बलियो बनायो। इजरायल–अरब युद्धमा सबैभन्दा आश्चर्यचकित पार्ने युद्ध ‘६ दिने युद्ध’ हो। १९६७ जुन ५ देखि १० सम्म चलेको यस युद्धमा सिरियाको गोलन हाइटलाई इजरायलले आफ्नो क्षेत्रमा गाभ्यो। यो सामरिक क्षेत्र मानिन्छ। ६ दिने युद्धमा इजरायलले इजिप्टको वायु सेनालाई ध्वस्त पारेको थियो।

रोचक त के छ भने, नेपालले इजरायलबाट बरोबर विभिन्न सहयोग लिने गर्छ तर संयुक्त राष्ट्रसंघमा भने प्यालेस्टाइनका पक्षमा मतदान गर्छ।

यो युद्धमा इजरायलले गाजापट्टी, सिनाई क्षेत्र र वेस्ट बैंक भनिने ठाउँमा आफ्नो उपस्थिति जनाउन सफल भयो भने जेरुसलेममा पनि ऊ थप सशक्त बन्यो। उक्त युद्धको बदला लिन अरब मुलुकहरूले १९७३ मा अर्को युद्ध गरे, जसलाई योम किपुरको युद्ध भनिन्छ।

उनीहरूले इजरायललाई आच्छुआच्छु मात्र पारेनन्, अरब मुलुकहरूको लडाईं कला निकै तिखारिएको देखियो। तर यो युद्धमा इजरायलले पहिले कब्जा गरेका धेरै क्षेत्र इजिप्ट र सिरियालाई फिर्ता गर्नुपर्‍यो। यसको झोंकमा प्रधानमन्त्री गोल्डा मायरलाई संसदले युद्ध हारेको अभियोग लगाएर पदच्युत गर्न खोजे पनि सफलता मिलेन।

सन् १९८२ जुन ५ मा इजरायलले सिनाई क्षेत्रबाट आफ्ना सेना पूर्ण रूपमा फिर्ता गराउँदा प्यालेस्टिनीहरूले विद्रोह गर्न थाले। उनीहरू इजरायलले कब्जा गरेका आफ्ना क्षेत्र फिर्ता गराउन चाहन्थे।

यो विद्रोहमा लेबनानको हात रहेको आरोप लगाउँदै इजरायलले लेबनानको राजधानी बेरुत र दक्षिणी लेबनानमा हवाई आक्रमण गर्‍यो। ती क्षेत्रमा पिएलओले गोप्य कार्यालय खोलेको आरोप इजरायलको थियो। पिएलओलाई सघाएको आरोपमा इजरायली सेना राजधानी बेरुतको पश्चिमी भेगसम्मै छिर्‍यो। पछि सन् १९८५ को जुनमा सारा इजरायली सेना फिर्ता भएको थियो।

सन् २००६ मा लेबनानसँगको दोस्रो युद्ध भएको थियो। लेबनानका लडाकु हिजबुल्लाले इजरायललाई लेबनानी युद्धबन्दी छाड्न दबाब दिए। दबाबमूलक आक्रमणमा केही इजरायली सेना मारिए भने दुई जनालाई युद्धबन्दी बनाइयो। ती दुई युद्धबन्दीलाई छुटाउन इजरायलले लेबनानसँग ३४ दिने युद्ध गर्‍यो। त्यसक्रममा एक हजारभन्दा बढी लेबनानीको ज्यान गयो, १० लाखभन्दा बढीले घरबार छाड्नुपर्‍यो।

प्रकाशित: २५ आश्विन २०८० ००:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App