२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राम रहिम सिंहकी धर्मपुत्री हनीप्रित पक्राउ

विवादित धर्मगुरू राम रहिम सिंहसँग उनी धर्मपुत्री हनीप्रित इन्सान (बायाँं । तस्बिर : एजेन्सी

नयाँ दिल्ली –भारतका विवादित धर्मगुरु राम रहीम सिंहकी धर्मपुत्री हनीप्रित इन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । 
अगस्ट महिनामा धर्मगुरु राम रहीमलाई अदालतले २० वर्ष अगाडि आफ्ना दुई महिला अनुयायीलाई बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका आरोपित मध्ये हनीप्रित इन्सान पनि एक थिइन् । उक्त हिंसामा ३८ जनाको मृत्यु भएको थियो । राम रहीम सिंह पक्राउ परेलगत्तै उनी बेपत्ता भएको प्रहरीले बताउँदै आएको थियो  । पक्राउ पर्नु भन्दा केही घण्टा अगाडि एउटा टेलिभिजन कार्यक्रममा बोल्दै उनले हिंसा मच्चाउनमा आफ्नो संलग्नता रहेको भन्ने आरोपले आफू विक्षिप्त भएको बताएकी थिइन् । ‘म हिंसा मच्चाउनेहरुसँगै थिएँ र? कसरी म माथि यस्ता आरोप लगाइए,’ उनले उक्त टेलिभिजमा प्रतिप्रश्न गरेकी थिइन् । 

वास्तविक नाम प्रियंका तानेजा भएकी हनीप्रित इन्सानले राम रहीम सिंह पक्राउ परेपछि आफूले देश नछाडेको र आफ्नो आफूलाई धर्मपुत्री बनाएका बाबु राम रहीमले यौन हिंसा नगरेको बताइन् । उनले आफ्ना बाबु सिंह निर्दोष रहेको र उनले बलात्कार गरेको भन्ने अदालतको फैसलाले आफूलाई तनाब दिएको बताएकी थिइन् । टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिएको केही समयमा नै उनी पक्राउ परेको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । हरियाणाका एक वरिष्ठ प्रहरी अधिकारीले ३६ वर्षे हनीप्रित इन्सान पक्राउ परेको पुष्टि गर्दै उनलाई बुधबार अदालत सामु पेश गरिने जानकारी दिए । सन् १९९९ देखि २००२ का बीचमा आफ्नै दुई महिला समर्थकलाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै विवादित धर्मगुरु राम रहीम सिंहलाई २० वर्षको जेल सजाय तोकेको थियो ।

पीडितका तर्फबाट वकालत गरेका कानुन व्यवसायीका अनुसार राम रहीम सिंह जेल परेपछि ४०–५० जना महिला आफू पनि सिंहबाट बलात्कार पीडित भएको भन्दै आएका छन् र तिनीहरुका विषयलाई पनि जोडेर थप अनुसन्धान हुने बताइएको छ । बलात्कारका घटना बाहेकपनि राम रहीम सिंहमाथि दुई जनाको हत्या गरेको आरोपमा अदालतमा मुद्धा चलिरहेको छ । तर राम रहीम सिंहले भने उक्त आरोप अस्विकार गर्दै आएका छन् ।  

 

प्रकाशित: १८ आश्विन २०७४ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App