२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्मनीका युवा युरोपकै सबैभन्दा असन्तुष्ट

जर्मनीका किशोर तथा युवा युरोपभरिकै सबैभन्दा असन्तुष्ट र बेखुस पिँढी रहेको देखिएको छ। हालै युनिसेफले गरेको एउटा सर्भेले त्यस्तो खुलासा गरेको हो। असन्तुष्टिबीच तिनीहरू अतिवादी खेमातर्फ आकर्षित भइरहेको पनि अध्ययनले औंल्याएको छ। खुसी र जीवनप्रतिको सन्तुष्टि मापनका लागि युनिसेफले उक्त सर्भे गरेको थियो। १६–१९ र २०–२४ उमेर समूहका युवाको खुसीको तहलाई १ देखि १० नम्बरसम्म अंकित गर्न दिइएको थियो।

सन् २०२१ र सन् २०२२ मा गरिएको सो सर्भेमा ती युवाले ७.५ देखि ६.६ नम्बर दिएका थिए। यो असन्तुष्टि बुल्गेरियाभन्दा केही माथि रहेको देखिएको छ। तथ्यांकले उमेरले केही बढी युवा अतिवादतर्फ आकर्षित भएको समेत देखिएको छ। अल्टरनेटिभ फर जर्मनी (एएफडी) तर्फ ४४ प्रतिशत युवाको झुकाव बढेको समेत रिपोर्टले बताएको छ।

कलेज अफ म्याडेबर्ग–स्टेन्डलका राजनीतिक मनोविद् थोमस क्लिचे भन्छन्, ‘युवाहरूले एएफडीलाई भोट दिनेबारे सोच्नुका पछाडि हालको सरकारले उनीहरूका समस्या समाधान गर्न सक्षम छैन भन्नेमा विश्वस्त हुनु हो। उनीहरू आफ्नो भविष्यलाई लिएर चिन्तित छन्। यो चिन्ताले उनीहरूमा पक्षधरता बढ्न थालेको छ।’

सन् २०१३ मा स्थापित एएफडी पार्टीले सुरुमा आफूलाई युरोपेली संघविरोधीलाई एकजुट बनाएको थियो। जुन महिनामा यस पार्टीका एकजनाले जिल्ला निर्वाचनमा राम्रो मत ल्याएका थिए। केही वर्षअघिसम्म पनि यस पार्टीलाई जम्मा १७ देखि १९ प्रतिशत जनताले राम्रो मान्ने गरेको सर्भेमा देखिएको थियो। यसपटकको सर्भेमा भने ४४ प्रतिशत युवाले एएफडी पार्टीलाई भोट हाल्ने जनाएका छन्। पेसाले विद्युत्कर्मी ३२ वर्षीय क्रिस्टोफ मुलुक जसरी चलिरहेको छ, त्यसबाट वाक्क भएको बताउँछन्। त्यसैले आफू एएफडीतर्फ आकर्षित भएको उनको भनाइ छ।

‘विगतका चार वर्षमा धेरै कुरा परिवर्तन भइसकेका छन्’, क्रिस्टोफ भन्छन्, ‘अपराध बढेको छ, हिंसा बढेको छ। यी सबै कुरा नयाँनयाँ शरणार्थी थपिएर भएका हुन् भन्ने सबैलाई थाहा छ तर पनि कोही यसबारेमा खुलेर कुरा गर्न चाहँदैनन्।’

४३ वर्षीय प्याट्रिक लान्ज पनि देशको ठूलो समस्या शरणार्थी रहेको बताउँछन्। ‘तीन दिनमा छुरा हानेको तीन घटना मैले अखबारमा पढें। जहाँजहाँ हेर्‍यो, घर र अन्य कुराको जानकारी जर्मन भाषामा पाइँदैन’, उनको भनाइ छ।

त्यसो त जर्मनीमा पछिल्लो समय देखिएको समस्या एएफडीले समाधान गर्नेमा कोही पनि विश्वस्त छैनन्। चिकित्साशास्त्र अध्ययन गरिरहेका ड्यानियल भन्छन्, ‘पछिल्लो समय एएफडीप्रति आकर्षण बढ्नुको कारण त्यो पार्टीप्रतिको विश्वसनीयता वा उसले कायापलट गर्छ भन्ने विश्वास होइन तर परिवर्तनको चाह भने हो।’

प्रकाशित: २ आश्विन २०८० ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App