फ्रिटाउन–अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४०० पुगेको छ भने ६ सयको अवस्था अझै अज्ञात रहेको छ ।
राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पूर्णरुपमा क्षतिग्रस्त हुदाँ ४०० जनाको मृत्यु भएको हो । सोमबार साँझ राजधानी फ्रिटाउन नजिकै पहिरो गएको थियो । भयानक पहिरोका कारण उद्धार कार्य जटिल बनेको छ ।
पहिरोका कारण भयानक अवस्था सृजना भएपश्चात् राष्ट्रपति अर्नेस्ट बाई कोरमाले मुलुकलाई संकटग्रस्त क्षेत्र घोषणा गरेका छन् । उनले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यका लागि विश्व समुदायमा सहयोगको अपिल गरेका छन् । पहिरोका कारण भौतिक संरचना पूर्णरूपमा नष्ट भएकाले उद्धार कार्य ज्यादै कठिन भएको उनको दाबी छ ।
पहिरोका कारण विस्थापितहरूमा राहत वितरण कार्य भइरहेको छ । अन्र्तराष्ट्रिय संस्था रेडक्रसले पनि राहत वितरण तथा विस्थापितहरूको पुनस्थापनाको कार्य गरिरहेको छ भने अज्ञातहरूको खोजीका लागि संयुक्त राष्ट्रसंघले समेत प्रतिनिधिहरू पठाएको छ ।
प्रकाशित: ३२ श्रावण २०७४ ०९:३२ बुधबार