१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विद्रोह टर्‍यो, वाग्नर बन्यो बारुदबिनाको बन्दुक

रुसको राजधानी मस्को ‘हान्न’ निस्केका निजी सेना समूह वाग्नर प्रमुख ६२ वर्षीय येभगेनी प्रिगोजिनको अभियान अन्ततः बारुदबिनाको बन्दुक प्रमाणित भएको छ। मस्कोतिर तेर्सिएका वाग्नर समूहका सेना कब्जा गरिएको रस्तोभ–अन–दोनको रुसी सैन्य अखडा छाडेर युक्रेनी भूभागतिर लागेका छन्। वाग्नर प्रमुख प्रिगोजिन अज्ञातस्थलतर्फ पलायन भएका छन्।

प्रिगोजिनले बेलारुसमा शरण लिने बताइएको छ। रुसले मुद्दा नचलाउने भएपछि वाग्नरको समूह युक्रेनी भूभागतिर लागेको बताइएको छ। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार प्रिगोजिनसँग लामो टेलिफोन वार्ता गरेपछि र सो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सहमति जनाएपछि उनीविरुद्धका सारा गल्तीलाई माफ गरिने भएको छ। लुकासेन्कोले प्रिगोजिनलाई २० वर्षदेखि नजिकबाट चिनेका हुनाले उनको असन्तुष्टिलाई शमन गर्न सहज भएको प्रतिक्रिया दिएका छन्।

वार्तामा लुकासेन्कोले प्रिगोजिनलाई वाग्नरका लडाकु कसैलाई पनि कुनै पनि किसिमको मुद्दा नचलाउनेमा विश्वस्त तुल्याएको बताइएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग कुरा गर्दै ‘युद्धका बेला उनीहरूले देखाएको बहादुरीको सधैं सम्मान गरेको’ बताए। उनले लुकासेन्कोले यस संकटपूर्ण घडीमा निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरेका छन्।

रुसको राजधानी मस्को ‘हान्न’ निस्केका निजी सेना समूह वाग्नर प्रमुख ६२ वर्षीय येभगेनी प्रिगोजिनको अभियान अन्ततः बारुदबिनाको बन्दुक प्रमाणित भएको छ।

विद्रोही गतिविधिमा नलागेका तथा कुनै पनि अपराध प्रमाणित नभएका वाग्नरका लडाकुलाई रक्षा मन्त्रालयले सेनामा भर्ती हुनसमेत आग्रह गरेको पेस्कोभले बताए। जुलाई १ देखि वाग्नरका लडाकुहरू रुसी सेनाको नियन्त्रणमा रहने यसअघि नै क्रेमलिनले बताएको छ।

वाग्नर प्रमुख प्रिगोजिनले उठाएको मूल मुद्दा के हुन्छ भन्नेबारे अझै कसैले प्रस्ट जवाफ दिन सकेका छैनन्। प्रिगोजिनले लामो समयदेखि रक्षा मन्त्रालयले युद्धमा आफूहरूलाई सहयोग नगरेको र रक्षामन्त्री सर्गेई सोइगु तथा सेनाको चिफ अफ स्टाफ भालेरी गेरासिमोभले आफ्नो निजी फाइदाका लागि रुसलाई युक्रेनी युद्धमा फसाएको आरोप लगाएका छन्।

आरोपमाथिको छानबिनबारे भने खास जवाफ क्रेमलिनले दिएको छैन। पत्रकारसँग कुरा गर्दै पेस्कोभले भने, ‘यो मुद्दामाथि रुसी महासंघको संविधानअनुसार समाधान खोजिनेछ र समाधानको अधिकार सुप्रिम कमान्डर इन चिफ (राष्ट्रपति भ्लादिमिर पुटिन) सँग छ।’

सोही अधिकार सदुपयोग गर्दै पुटिनले प्रिगोजिन र उनको समूह वाग्नरका सदस्यहरूलाई आफ्ना तर्फबाट सुरक्षाको सुनिश्चितता गरेको प्रतिक्रिया पेस्कोभले दिए। उनले शुक्रबारदेखि संकट समाधान नहुञ्जेलसम्मका सारा गतिविधिलाई ‘दुखद’ भनेका छन्।

पछिल्लो अडियो सन्देशमा प्रिगोजिनले आफ्नो सैन्य कम्पनीलाई ध्वस्त बनाउने कदम चालिएका कारण न्यायका लागि जुन २३ (शुक्रबार) मा ‘मार्च’ गरिएको बताएका थिए। उनले आफ्नो ‘मार्च’ मा रक्तरञ्जित कुनै घटना नभएको बताएका छन्।

‘सडकमा रगत पोखिन सक्थ्यो तर हामी जिम्मेवारी महसुस गर्दै एकतर्फी रूपमा फिल्डमा फर्किएका छौं र यो हाम्रो योजनाभित्रैको कुरा हो,’ प्रिगोजिनको अडियो सन्देशमा उल्लेख छ। वाग्नरको विद्रोही गतिविधिबाट रिसाएका पुटिनले यसअघि प्रिगोजिनले नराम्रो र कडा अवस्था भोग्नुपर्ने चेतावनी दिएका थिए।

पछिल्लो अडियो सन्देशमा प्रिगोजिनले आफ्नो सैन्य कम्पनीलाई ध्वस्त बनाउने कदम चालिएका कारण न्यायका लागि जुन २३ (शुक्रबार) मा ‘मार्च’ गरिएको बताएका थिए।

यी सारा घटनाका बीचमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, ‘जसले दुष्ट्याइँको बाटो रोज्छ, ऊ नष्ट हुन्छ...। लामो समयदेखि रुसले प्रोपागान्डामार्फत आफ्नो सरकारका सारा कमजोरी र मुख्र्याइँहरू लुकाइरहेको थियो। यतिबेला छताछुल्ल भएको गडबडीले झुट लुक्दैन भन्ने प्रमाणित गरिछाडेको छ।’

रुसमा भएको नाटकीय गडबडीका बीच अमेरिका, बेलायत, फ्रान्स र जर्मनीका सरकार प्रमुखहरूले वार्ता गरेको समाचार एजेन्सीहरूले जनाएका छन्।

प्रिगोजिनको विद्रोहले रुसी राष्ट्रपति पुटिनको दुई दशकभन्दा बढीको शक्ति सक्रियतामा सबैभन्दा ठूलो चुनौती दिएको थियो। अहिलेलाई यो विद्रोह टरे पनि पुटिनलाई यस घटनाले निकै नराम्रो असर गरेको छ।

प्रिगोजिनप्रति पुटिनले व्यक्त गरेको ‘पिठ्युँमा छुरा घोपेको’ र ‘देशमाथि गद्दारी गरेको’ प्रतिक्रियाले त्यसको गहिराइ महसुस गर्न सकिने बिबिसीले जनाएको छ। यो घटनापछि पुटिनको शासन अझ बढी नियन्त्रणमुखी र क्रूर हुने विश्लेषण पनि गरिएको छ।

प्रिगोजिनलाई माफी दिएसँगै पुटिनका महत्वपूर्ण व्यक्तिमध्येका एक उनी रहिरहने बताइएको छ। क्रेमलिनका लागि फोहोरी काम वर्षौंदेखि गरिआएका, क्रिमियादेखि सिरियासम्म महत्वपूर्ण जित हासिल गरेका प्रिगोजिनलाई अहिले नै पुटिनले त्याग्ने सम्भावना कम छ। तर आफूलाई बेइज्जत गर्ने, आफ्नो सत्तालाई चुनौती दिने कसैलाई पनि पुटिनले माफ गरेको इतिहास नभएको औंल्याउँदै केही विश्लेषकले प्रिगोजिनको अन्त्य नराम्रो नै हुने आकलन गरिरहेका छन्।

प्रिगोजिनको विद्रोहले रुसी राष्ट्रपति पुटिनको दुई दशकभन्दा बढीको शक्ति सक्रियतामा सबैभन्दा ठूलो चुनौती दिएको थियो। अहिलेलाई यो विद्रोह टरे पनि पुटिनलाई यस घटनाले निकै नराम्रो असर गरेको छ।

प्रिगोजिन जताजता गयो, वाग्नर लडाकु पनि उनीसँगै लाग्ने हुनाले ती सेना बेलारुस, रुस र युक्रेनका लागि खतरा बनिरहनेसमेत देखिएको छ। तर केहीले भने वाग्नर समूह अब केही समयभित्रै रुसी सेनामा विलय हुने आकलन गरिरहेका छन्। विलय भएका लडाकु र रुसी सेनाबीच मिल्ती कस्तो हुन्छ भन्नेबारे अझै केही समय कुर्नुपर्ने देखिएको छ।

वाग्नर समूहको विद्रोह अन्त्यपछि पुटिनको युक्रेन युद्ध के हुन्छ भन्ने चासो यसबेला फेरि ह्वात्तै बढेको छ। युक्रेन युद्धमा पुटिनका तीन बाटा रहेको बिबिसी रुसले जनाएको छ। पहिलो, युद्धलाई बराबरीमा राख्ने र युद्धलाई जारी राख्ने ताकि आफू थाक्नुभन्दा पहिले युक्रेन र पश्चिमा मुलुकहरूलाई थकाउने।

दोस्रो, एक किसिमको सम्झौता गर्ने तर पुटिनले आफूमाथि परेको देखाउने। तेस्रो, युद्धलाई घनीभूत रूपमा अघि बढाउने। तर यो बाटो भने रुसका लागि निकै अप्ठेरो छ। युक्रेन युद्धकै कारण विगत १५ महिनामा क्रेमलिनले धेरै धनजन गुमाइसकेको छ। वाग्नर सेनाको विद्रोह र त्यसका प्रमुख प्रिगोजिनले पोस्ट गरेका भिडियोले रुसले ठूलो जनधनको क्षति बेहोरेको देखिएको छ। र, युद्ध कहाँसम्म पु¥याउने भन्नेमा रुस अलमलमा देखिन्छ।

प्रकाशित: ११ असार २०८० ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App