६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा आप्रवासीमाथि व्यापक धरपकड, हालसम्म ३७ आप्रवासी देशनिकाला

वासिङ्गटन- अमेरिकामा बसोबास गरिरहेका कागजातबिहिन आप्रवासीहरुलाई अमेरिकी सरकारले व्यापक धरपकड गरेको छ। अमेरिकी अधिकारीहरुले विभिन्न ठाउँमा छापा मारेर कागजात नभएका सयौं आप्रवासीलाई प्रकाउ गरेको समाचार संस्था एएफपीले बताएको छ।

राष्ट्रपति ट्रम्पले गत जनवरी २० मा अमेरिकी राष्ट्रपतिको सपथ लिएर ह्वाइट हाउसको कार्यकाल सुरु गरेपछिको सबैभन्दा ठूलो पछिल्लो धरपकड भएको बताइएको छ।

यस धरपकडबाट अमेरिकामा लुकेर बसेका कागजातबिहिन आप्रवासी समुदायमा आतंकित भएका छन्। समाचारअनुसार संघीय अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सी (आईसीई)ले लस एन्जलस्, न्युयोर्क, सिकागो, अस्टिन र एटलान्टा सहरमा छापा मारेका थिए।

राष्ट्रपति ट्रम्पले गत जनवरी २५ मा बिनाकागजात बसेका आप्रवासीहरूलाई देशनिकाला गर्ने विषयको कार्यकारी आदेश जारी गरेपछि यो कदम चालिएको बताइएतापनि संघीय अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सीले भने यो नियमित काममात्र भएको बताएको छ।

आईसीईका प्रवक्ता जेनिफर एल्जियाले यो अपरेसनको उद्देश्य आईसीईको यसअघिको भगौडा खोज अपरेसन टिमले संचालन गर्ने गरेको अपरेसनजस्तै भएको बताएकी छिन्।

आईसीईको लस एन्जलस अपरेसनका प्रमुख डेभिड मरिनले उक्त क्षेत्रबाट करिब १६० जना आप्रवासी पक्राउ गरिएको बताएका छन्। पक्राउ परेका मध्ये करिब ७० प्रतिशत यसअघि पनि गुन्डागर्दीको आरोपमा दोषी पाइएको उनले बताए। केही मानिस भने कागजात नभएका कारण नै पक्राउ परेको जानकारी पनि उनले दिएका छन्।

यसैबीच गत जनवरी २० बाट गत शुक्रबार रातिसम्म ३७ जना मेक्सिकन नागरिक पनि अमेरिकाबाट निकालिएको समाचारमा उल्लेख गरिएको छ।

आप्रवासीहरु बस्ने आवासीय तथा उनीहरुले काम गर्ने क्षेत्रमा छापा मारिएको तथा पक्राउ गरिएको भन्दै अमेरिकामा ट्रम्प प्रशासनको विरोध पनि भइरहेको छ। साथै डेमोक्र्याटिक पार्टीका निर्वाचित प्रतिनिधिहरू सरकारको यस्तो खालको कदमबाट रुष्ट भएका छन्।

'राष्ट्रपति ट्रम्पको नीति परिवर्तनले हाम्रा मूल्यमान्यतालाई असफल बनाइदिएको छ,' डेमोक्र्याटिक पार्टीका सिनेटर डियान्ने फियान्स्टेनले भनिन्।

अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस् क्षेत्रमा मात्र १० लाख बिनाकागजातका आप्रवासी रहेको बताइएको छ। यसैगरी टेक्सास राज्यको अस्टिनमामा पनि एक लाख गैरकानुनी आप्रवासी छन्। त्यहाँबाट पनि एक आप्रवासी पक्राउ परेको समाचार प्रकाशन भएपछि व्यापक प्रर्दशन भइरहेको छ। त्यहाँका डेमोक्रेटिक पार्टीका सिनेटर जोक्वीन क्यास्ट्रोले बिनाकागजातका आप्रवासीलाई लक्षित गरी प्रशासनले पक्राउ अपरेसन सुरु गरेको पुष्टि गरेका छन्। उनले आईसीई अधिकारीहरूलाई 'के तिनीहरू साँच्चिकै  समुदायका लागि खतरनाक र चुनौती थिए?' भन्ने प्रश्न पनि गरेका छन्। त्यसैगरी न्युयोर्कमा पनि १५ लाख बिनाकागजातका आप्रवासी रहेको बताइएको छ।

अमेरिकाको इतिहासमा निवर्तमान राष्ट्रपति बाराक ओबामाको पालमा सबैभन्दा धेरै आप्रवासीहरूलाई देश निकाला गरिएको थियो। ओबामा प्रशासनका बेला पटकपटक मादक पदार्थ सेवन गरेर गाडी चलाउनेलाई आप्रवासीलाई मुख्य रुपमा लक्षित गरिएको थियो।

यसैबीच केही दिनअगाडि अमेरिकी प्रशासनले १४ वर्षदेखि अमेरिकामा बस्दै आएकी मेक्सिकोकी ३६ वर्षीया गौडालुपे गार्सियालाई देशनिकाला गरेको थियो। गार्सियाले झुटो विवरण पेस गरेर जागिर खाएकी थिइन्।

उनले सन् २००९ मै दोष स्वीकार गरेकी थिइन्। २०१३ मा उनलाई पक्राउ गरेर देश निकाला गर्न खोजिएको भए पनि तत्कालीन ओबामा प्रशासनले उनलाई अमेरिका बस्न दिएको थियो।

प्रकाशित: २ फाल्गुन २०७३ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App