१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्टार्टिकमा बरफ पग्लने क्रममा तीव्रता

अन्त्यको सुरुआत भएको वैज्ञानिक आशंका

दक्षिण ध्रुवीय अन्टार्टिक महासागरमा जमेको बरफको स्तरमा सर्वाधिक कमी आएको देखिएको छ। विश्वकै यो दुर्गम स्थानमा विगत दुई वर्षमा दोस्रोपटक नाटकीय रूपमा बरफको फैलावटमा कमी आउनुमा जलवायु परिवर्तन प्रमुख कारण रहेको वैज्ञानिकले बताएका छन्।

यही फेब्रुअरी १३ मा गरिएको मापनअनुसार यो क्षेत्रमा १९ लाख १० हजार वर्ग किलोमिटर क्षेत्रमा बरफ फैलिएको छ। गत वर्षको फेब्रुअरी २५ मा यो क्षेत्रमा १९ लाख २० हजार वर्ग किलोमिटर क्षेत्रमा बरफ थियो। अमेरिकाको नेसनल स्नो एन्ड आइस डाटा सेन्टरका अनुसार यो दक्षिणी समुद्र क्षेत्रमा रहेको बरफको स्तरमा झन् धेरै ह्रास आउन सक्ने देखिएको छ। सन् १९७८ देखि भूउपग्रहको माध्यमबाट यो क्षेत्रको बरफ मापन हुँदै आएकोमा गत दुई वर्षमा पहिलोपटक बरफले ओगटेको क्षेत्र २० लाख वर्ग किलोमिटरभन्दा कम रहन पुगेको छ।

‘बरफले ओगटेको क्षेत्रमा सर्वाधिक कमी मात्र आएको होइन, ह्रास हुने क्रममा समेत तीव्रता देखिएको छ’, कोलोराडो विश्वविद्यालयका ग्लासिओलोजिस्ट टेड स्क्यामबोसले भने। उत्तरी ध्रुवीय आर्कटिक क्षेत्रमा जलवायु परिवर्तनमा वृद्धि हुँदा सामुद्रिक बरफ ह्रासमा पनि त्यही अनुपातमा तीव्रता आएको पाइए पनि अन्टार्टिक क्षेत्रमा यसअघि बरफले ओगटेको क्षेत्र तलमाथि हुने गरेको थियो। यी दुवै धु्रव्रीय क्षेत्र विभिन्न हिसाबले फरक छन्। आर्कटिक क्षेत्रको महासागर महाद्वीपले घेरेको छ भने अन्टार्टिक क्षेत्र समुद्रले घेरेको छ। वरपर समुद्रले घेरिएका कारण अन्टार्टिक क्षेत्रका बरफको बाह्य फैलावट सम्भव रहेको छ। यसैगरी अन्टार्टिक क्षेत्रको बरफको मोटाइ आर्कटिक क्षेत्रको भन्दा पातलो छ।

विभिन्न क्लाइमेट मोडलले अन्टार्टिक क्षेत्रको बरफ आर्कटिकमा जस्तै अनुपातमा ह्रास हुँदै गएको देखाएका थिए तर पछिल्ला मोडेलले फरक नतिजा दिएका छन्। सन् २०१४ को हिउँदमा अन्टार्टिक क्षेत्रमा सर्वाधिक २ करोड ११ लाख वर्ग किलोमिटर क्षेत्रमा बरफ फैलिएको पाइएको थियो र विश्वव्यापी तापमान वृद्धिको प्रभावबाट यो क्षेत्र अछुतो रहेको मानिएको थियो। तर सन् २०१६ यता बरफले ओगटेका क्षेत्रमा ह्रास आएको पाइएको छ। सुरुमा यो विशाल क्षेत्रको जटिल जलवायु प्रणालीका कारण यस्तो देखिएको वैज्ञानिक तर्क थियो तर लगातार बरफले ओगटेको क्षेत्रमा ह्रास आउन थालेपछि वैज्ञानिकहरू चिन्तित देखिएका छन्।

‘मूल प्रश्न भनेको कसरी जलवायु परिवर्तन अन्टार्टिकमा पुग्यो भन्ने हो। के यो अन्त्यको सुरुवात हो? के आगामी वर्षका गर्मीयाममा यो क्षेत्रमा बरफ हराउने छ त?’, जर्मनीमा रहेको वेगनेर इन्स्टिच्युटका अल्फ्रेड वेगनेर प्रश्न गर्छन्। त्यसो त यो परिवर्तनका लागि हावा, सामुद्रिक बहाब तथा सामुद्रिक तापमानजस्ता कारण प्रमुख छन्। अन्टार्टिक क्षेत्रमा हावाको तापक्रम सरदरमा १.५ डिगी सेन्टिग्रेडका हाराहारीमा रहने गर्छ।

यसैगरी पश्चिमा वायुले तातो हावा प्रवाह गर्ने कारणले यो क्षेत्रको बरफ पग्लने क्रममा तीव्रता आएको हुन सक्ने तर्क अमेरिकाको नेसनल स्नो एन्ड आइस डाटा सेन्टरको छ। विश्वको तापमानलाई बढाउन जिम्मेवार वायु प्रदूषण र यो क्षेत्रमाथि रहेको ओजोन तहमा प्वाल परेकाले यो क्षेत्रमा बरफ पग्लेको हुन सक्ने वैज्ञानिक तर्क छ।

समुद्र सतहभन्दा तल रहेको न्यानोपनाका कारणले पनि सतहमा रहेको बरफ पग्लेको हुन सक्ने ग्लासिओलोजिस्ट स्क्यामबोस तर्क गर्छन्।

‘आधारभूत हिसाबले एन्टार्टिक क्षेत्रको समुद्रको माथिल्लो तहमा तातोपना बढेको छ। यसरी समुद्रमा तातोपना बढ्दा एन्टार्टिक क्षेत्रको जमेको बरफको सिटको स्थिरतामा ठूलो प्रश्नचिह्न लागेको छ’, उनी थप्छन्। यो क्षेत्रमा बरफले ओगटेको क्षेत्रमा ह्रास आउँदा यसका प्रभाव अन्यत्र पनि पर्न जाने देखिएको छ। यसले समुद्र सतहमा प्रत्यक्ष वृद्धि नगरे पनि यो क्षेत्रको तातोपनाका कारण सामुद्रिक छाल बढ्ने र हिमनदी पग्लने क्रममा तीव्रता आउन सक्ने देखिएको छ। यसैगरी यो परिवर्तनले यो क्षेत्रलाई बासस्थान पेनगुयन तथा सिलजस्ता वन्यजन्तुमा समेत प्रभाव पर्ने वैज्ञानिक ठान्छन्।

सामुद्रिक बरफमा आएको यो सर्वाधिक ह्रास ‘न्यु नर्मल’ बनेको अथवा यो पुनः पूर्ववत् अवस्थामा फर्केने छ भन्नेमा अहिल्यै निष्कर्षमा पुग्न नसकिने वैज्ञानिक मत भए पनि यो क्रममा लगातार ह्रास आउनु चिन्ताको विषय रहेको उनीहरूले स्वीकार गरेका छन्। अझै केही वर्षका रुझान हेरेर निष्कर्षमा पुग्न सकिने ग्लासिओलोजिस्ट स्क्यामबोस ठान्छन्। ‘जे जसो भए पनि एन्टार्टिक क्षेत्रमा केही परिवर्तन भएको छ र यो परिवर्तन नाटकीय छ’, उनी थप्छन्। 

प्रकाशित: १५ फाल्गुन २०७९ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App