७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

लोकप्रियता खस्किन थालेपछि प्रधानमन्त्री त्यागको घोषणा

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेन

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले बिहीबार आश्चर्यजनक हिसाबले राजीनामाको घोषणा गरेकी छन्। आगामी अक्टुबरमा हुने आमचुनाव लड्न आफूसँग ऊर्जा नभएको बताउँदै उनले केही सातामै आफू सत्ताबाट बाहिरिने घोषणा गरेकी हुन्। उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीबाटै नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गर्ने आशा व्यक्त गरिन्।  

‘यो मेरो आफ्नै निर्णय हो। देशलाई नेतृत्व दिनु सबैभन्दा सम्मानजनक कार्य हो तर सबैभन्दा चुनौतीपूर्ण पनि हो। आफूसँग सम्पूर्ण तागत छैन भने यो कार्यभार सम्माल्न हँुदैन,’ प्रधानमन्त्री अर्डेनले पत्रकार सम्मेलनमा भनिन्, ‘अब मसँग यो जिम्मेवारीलाई न्याय गर्न आवश्यक ऊर्जा छैन।’

अर्डेनले सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्रीको कार्यभार समालेकी थिइन्। त्यतिबेला प्रधानमन्त्री पदमा पुग्ने उनी विश्वकै कम उमेरकी महिला नेत्री थिइन्। न्युजिल्यान्डको प्रधानमन्त्री बन्ने तेस्रो महिला नेत्री उनी सत्ता समालेको एक वर्षमै आमा बनेकी थिइन्। राज्यसत्तामा हुँदा आमा बन्ने विश्वकै दोस्रो नेतामा पनि उनी पर्छिन्।

कोभिड–१९ रोकथाममा सख्त रवैया अवलम्बन गरेका कारण सन् २०२० मा उनी पुनः प्रधानमन्त्रीमा निर्वाचित भइन्। उनले कोभिड–१९ र ५१ जनाको मृत्यु हुनेगरी भएका दुईवटा आतंककारी हमलाका घटना आफ्ना लागि चुनौतीपूर्ण रहेको बताइन्। उक्त आतंककारी हमलापछि उनले बन्दुक नियन्त्रणसम्बन्धी नयाँ कानुन ल्याएकी थिइन्, जसको मुस्लिम समुदायले ठुला प्रशंसा गरेको थियो। ‘६ वर्षसम्म ठुला चुनौती सामना गरेकी छु। म पनि मानिस हुँ। आखिर राजनीतिज्ञ पनि मानिस नै हुन्। हामीले सकेसम्म गर्ने हो तर समयको चाहनाअनुसार मैले पद त्याग्न लागेकी हुँ,’ उनले भनिन्। प्रधानमन्त्री अर्डेनले राजीनामा घोषणाका अवसरमा आफूले जलवायु परिवर्तन र बाल गरिबी निवारणसम्बन्धी कानुन ल्याएको चर्चा पनि गरिन्।  

राजनीतिक विश्लेषक ब्राइस इडवार्डले अर्डेनको प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा अकस्मात् आए पनि आश्चर्यजनक नभएको बताए। ‘अर्डेनलाई विश्वले मन पराएको छ तर देशमा गरिएका पछिल्ला जनमत सर्वेक्षणमा उनी पछाडि परेकी छन्’, वेलिङ्टनस्थित भिक्टोरिया विश्वविद्यालयका इडवार्डले थपे।  

आगामी अक्टुबर १४ मा न्युजिल्यान्डमा आम चुनाव गर्ने तयारी छ। पूर्वडिजेसमेत रहेकी अर्डेनको राजनीतिमा अकस्मात् उदय भएको हो। उनी राजनीतिमा उदाउँदा न्युजिल्यान्डका धेरै युवाले समर्थन गरेका थिए। तर पछिल्ला वर्षमा उनको लोकप्रियता खस्कँदो थियो। पछिल्ला जनमत सर्वेक्षणमा उनको लेबर पार्टी पछाडि परेको छ। चुनावमा नराम्रो पराजय हुन सक्ने भएकाले उनले राजीनामाको घोषणा गरेको हुन सक्ने राजनीतिक विश्लेषक इडवार्ड बताउँछन्। ‘आफ्नो ख्याति जोगाइराख्न उनले अहिले राजीनामाको घोषणा गरेको हुन सक्छ’, इडवार्डको विश्लेषण छ। अब अर्डेनको स्थान कसले लिन्छ भन्ने निश्चित भएको छैन तर शिक्षामन्त्री क्रिस हिपकिन्स र कानुनमन्त्री किरी अलानमध्ये एकले उनको स्थान लिन सक्ने अनुमान गरिएको छ।  

लंैगिक समानता र महिला अधिकारका क्षेत्रमा राम्रो काम गरेवापत उनले ठुलो प्रशंसा पाएकी छन्। आफ्नो जिम्मेवारी र मातृत्वलाई महिलाले सन्तुलनमा राख्न सक्ने धारणा उनको छ। आमा बनेपछि उनले संयुक्त राष्ट्रसंघको साधारणसभामा आफ्नो शिशुलाई लिएर गएकी थिइन्।  

सामाजिक सञ्जालमा अर्डेनको राजीनामा घोषणाको प्रशंसा गरिएको छ। धेरैजसोले राजनीतिमा उनले पदचिह्न बनाएको प्रतिक्रिया दिएका छन्। अस्ट्रेलिया तथा क्यानडाका प्रधानमन्त्रीले ट्विटमार्फत उनको खुलेर प्रशंसा गरेका छन्। क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडेले अर्डेनको राजनीतिक योगदान अतुलनीय रहेको बताएका छन्। (सिएनएन)

प्रकाशित: ७ माघ २०७९ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App