१० आश्विन २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

आरोग्य जीवन बाँचौं, विपदाबाट बचौं

साधना

यतिखेर आम नेपालीका मनमा उठ्ने एउटै प्रश्न छ– नेपालमा मात्रै प्राकृतिक विपत्ति आउँछ किन? इतिहासको लामो कालखण्डदेखि नेपालमा बाढीपहिरो, भूकम्प, कोरोना महामारी आइरहेका छन्। तिनीहरूबाट प्रायः नेपाली नै आहत भइरहेका छन् र मेरै आफन्त परिरहेका छन्। कमजोर आर्थिक अवस्थाबाट वामे सर्दै आफ्नै खुट्टामा निर्भर हुन खोज्दाखोज्दै फेरि हाम्रो मुलुकमा अर्को विपत्ति आइपर्छ। भोटेकोसी बाढीका कारण हामीमाथि जुन विपदा आयो, त्यसमा सयौं मानिसको मृत्यु र अर्बौंको धन सम्पत्ति स्वाहा भयो। यसमा को जिम्मेवार छ?

प्रथमतः यसमा हामी नै जिम्मेवार छौं। हामी अर्थात् यस भूगोलका अधिकांश मानिसले बाटो बिराउँदाको परिणाम हो यो। यसको सुरूवात हामीबाटै भएको हो। जुन बढ्दै गएर सिंगो भूगोलले नै बाटो बिरायो, जसको परिणाम आज हाम्रो थाप्लोमा यस्ता विपत्ति आइपरे।

अर्को कुरा, हामीले शत्रु खोज्यौं, मित्र खोज्यौं, पत्नी खोज्यौं, छोराछोरी खोज्यौं, इष्टमित्र खोज्यौं, भौतिक धनसम्पत्ति खोज्यौं, मान, प्रतिष्ठा, इज्जत, सम्मान खोज्यौं तर ईश्वरलाई कहिल्यै खोजेनौं। ऊ हामीभित्र पनि छ र बाहिर पनि छ। सर्वत्र छ तर हामीले जहाँ ऊ छैन, त्यहीं खोजिरह्यौं। जहाँ ऊ छ, त्यहाँ खोजेनौं। हामीले जे खोज्नुपथ्र्यो त्यो खोजेनौं। अन्ततः हामीले जे खोजेका थियौं, त्यही पायौं।

आफ्नो धरती, आफ्नो धर्म संस्कृतिमाथि अतिक्रमण गर्नु पनि विपत्तिको अर्को कारण हो। हाम्रा पितापुर्खाले निर्माण गरेका देवदेवालय, मठिमन्दिर, गुम्बा, चैत्य, नागस्थान, पूजास्थल कहाँ राख्न मिल्छ र कहाँ मिल्दैन आदिबारे अध्यात्मको संविधान र नीतिनियम बनाइदिएका थिए, उपदेश, शिक्षा, सन्देश दिएका थिए, भगवत्गीता, पातञ्जल योगसूत्र, उपनिषद्, वेद, पुराण, महाभारत, रामायण दिएका थिए, जसलाई हामीले लत्यायौं र अवज्ञा गर्‍यौं।

सामन्ती संस्कृति भन्दै गालीगलौज र तिरस्कार गर्ने गलत प्रवृत्ति अनुसरण गर्न थाल्यौं, त्यसैलाई सदर गर्‍यौं र ताली मार्‍यौं अनि बाँचुञ्जेल मरे झैं गरी बाँचिरह्यौं। त्यसैका कारण आज हामी भोटेकोसी विपदाको भागीदार बन्यौं।  

सृष्टिको प्रारम्भमा उद्योग कलकारखाना थिएन। घर, परिवार र समाजका बिचमा सत्प्रेम, भाइचारा, सद्भाव, श्रद्धा, सद्विश्वास र आस्था थियो। प्रकृतिप्रति प्रेम थियो। प्रकृतिलाई देवताका रूपमा पुजिन्थ्यो।

हिमालको देश, सगरमाथाको देश, बुद्ध जन्मिएको देश, सीतामाता जन्मिएको देश भनेर नेपाललाई पोषित, सम्मान गरिन्थ्यो। आफ्नो गौरव, गरिमा र जीवन्तता थियो, जुन सबै बिर्संदै गयौं र झर्न थाल्यौं। कतिसम्म झर्‍यौं भने सतीले सरापेको देश, गरिबहरूको देश भनिरह्यौं।

एकपटक आफ्नै शरीरलाई हेरौं त। मुखले म जे मन लाग्छ, त्यही खान्छु भन्यो। मनले म जे मन लाग्छ त्यही गर्छु भन्यो। हात र खुट्टाले म आफ्नै लागि बाँच्छु, अरूसँग मेरो केही सरोकार छैन भन्यो। नङ, आँखा, कान, टाउको, मेरूदण्ड पनि यस्तै स्वार्थी भए भने तपाईंहाम्रो शरीरको के अवस्था होला ? यस्ता धेरै अंग मिलेर हाम्रो शरीर बनेजस्तै मानिस, वनस्पति, जीवजन्तु, हिमाल, पहाड, तराई, पानी, हावा, बादल, आकाश, तारा, ग्रह, नक्षत्र आदि मिलेर विश्व ब्रह्माण्ड बनेको हो; जुन हामी सबैको साझ घर हो। यो ब्रह्माण्ड सञ्चालनमा मेरो पनि केही न केही अंश छ। म यो ब्रह्माण्डकै एक अंग हुँ।

तपाईंहामी पनि स्वार्थी बनिदिँदा त्यसको सजाय यस भूगोलको अर्को कुनामा बस्ने मानिसले पाएको छ; हामीले पायौं। हामीले आफ्नो घर सजाएर राख्न सकेको भए यस्ता विपत्ति आउँदैनथे। आए पनि कम आउँथे। सबै मानिसको जीवनमा आरोग्यता आएको भए पृथ्वीको तापक्रम पनि यति धेरै किन बढ्थ्यो होला र?

हामीले प्रकृतिसँग देवताको व्यवहार गरेनौं। भोग्य वस्तुको व्यवहार गर्‍यौं। प्रकृतिलाई दोहन गर्नु बलात्कार गर्नु हो, युवतीलाई नंग्याएर भोग गर्नुजस्तै हो। प्रकृतिसँग राम्रो व्यवहार गर तब मात्र देवताले पनि तिमीलाई राम्रो व्यवहार गर्नेछन्।

प्रकृति देवता हुन्; दुर्गा माता हुन् र कालीमाता हुन्। उनै हामीभित्र कुण्डलिनी ऊर्जाका रूपमा आउँछिन्। जब आसुरी प्रवृत्ति बोकेकाहरू प्रकृतिमाथि दमन गर्न खोज्छन्, भोग्न खोज्छन्, तब प्रकृतिदेवी क्रूर भएर महिषासुरको बध गर्छिन्। भोटेकोसी बाढी प्रकृति दोहनकै परिणाम होइन र ?

भोटेकोसी बाढीबाट हजारौं घरवारविहीन भएका छन्; अनाथ भएका छन् र आफन्त गुमाएका छन्। लाखौंको भौतिक सम्पत्ति, परिवार, छोराछोरी र नातिनातिनासमेत गुमाएका छन्। जो विपत्तिमा परे; जो विपत्तिबाट बचे; उनीहरू सबैको जीवनमा खुसी छैन। यस्तो विपत्ति म बसेको ठाउँमा आएको छैन र आउँदैन नभनौं।

मेरो जीवनमा आउँदैन नभनौं। अरूबेला केही पनि भएको छैन झैं गरेर बाँच्ने र अचानक केही भएपछि मात्र उठ्ने; अरूका आफन्त दिवंगत हुँदा चुप लागेर बस्ने र आफ्ना मान्छे दिवंगत हुँदा अलापविलाप गर्ने; अरूमाथि काटमार गर्ने तर आफू र आफ्नालाई जोगाउने यी प्रवृत्ति सबैभन्दा खतरनाक छन्।

हामीले मीठामिठा खानेकुरा बनाएर खाइरहँदा छिमेकमा खान नपाएर कोही रोइरहेका छन् कि ? यसतर्फ हामीले ध्यान दिएनौं भने एक दिन हामीले खाएको मीठामीठा खानेकुरा ओकल्ने दिन आउने छ। आफूले गरेको, अरूलाई गर्न लगाएको र अरूले गर्दा चुप बसेको यी सबै हिंसा हुन्। अन्यायप्रति चुप लाग्नु पापको भागीदार बन्नु हो।

आरोप–प्रत्यारोप गरेर तत्काल दोषबाट उम्किन सकिन्छ, तर त्यसले कालान्तरमा आफैंलाई सिध्याउँछ। जो आफ्नो लागि मात्र बाँच्छ, त्यो महापापी हो। तिनै महापापीका स्वार्थपूर्ण व्यवहारका कारण हाम्रो जीवनमा र प्रकृतिको जीवनमा विपदा आएका हुन्।

अर्को कुरा, क्षणक्षणमा मृत्यु छ। मृत्युको दाबानल कालाग्नि बलिरहेको छ। त्यसमा हामी पंक्तिबद्ध छौं। मृत्युको लाइनमा हाम्रो नाम दर्ता भइसकेको छ। हामी पालो पर्खिरहेका छौं। भगवत्गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ– म यस प्रकृतिको अध्यक्ष हुँ। यो सबै मबाट सञ्चालित छ। तिमीले प्रकतिसँग खेलबाड गर्‍यौ भने प्रकृतिले तिमीलाई लात मार्छिन्। त्यही विपदाले आज हामीमाथि लात मारेको होइन र ?  

प्रकृतिमाथि गरिएको खेलबाड आफैंमाथिको खेलबाड हो। बालबालिकाको के दोष थियो र उनीहरू पनि यो विपद्मा परे भन्नुहोला। हो, उनीहरू निष्कलंक छन्, तर हाम्रा गलत व्यवहारको सिकार उनीहरूले पनि हुनुपर्‍यो। हामी अरूलाई दोष दिएर उम्किन खोज्छौं, तर प्रकृतिले उम्किन दिइनन्।

हामी आफ्नो भूमिकामा छैनौं। विज्ञान, धर्म र अध्यात्मलाई अलगअलग बनाएर हेर्‍यौं। यसपछि द्वैत बुद्धि सुरु भयो। यही नै विनासकाले विपरीत बुद्धि हो। अझ पनि जहाँजहाँ लोभ, मोह र अहंकार चरममा छ, त्यहाँ पनि विपदाको बाजा बज्छ नै।

भगवान् श्रीकृष्णका लागि मृत्यु छैन। उनका लागि मृत्यु उत्सवसरह हुन्छ। मृत्युलाई गहिरिएर नचिन्दा नै हामीलाई सबैभन्दा बढी घाउ लागिरहेको छ, पीडा भइरहेको छ। एक दिन यो जगत मर्छ, म पनि मर्छु तर मेरो चेतना कहिल्यै मर्दैन भन्ने बोध नहुँदा पनि यो घाउ लागेको हो। यतिखेरको विपदाले के बताउँछ भने हामीले त्यसलाई खोज्न बाँकी छ, आफूलाई खोज्न बाँकी छ। आध्यात्मिक जीवन जिउन बाँकी छ।

समय पनि अझ बाँकी छ। बाँकी समय खेर नजाओस् भन्ने ध्येय राखेर हामी योग, प्राणायाम र ध्यान लिएर बारबार सरकारका उच्च संयन्त्रसम्म पुग्यौं। कार्यालय–कार्यालयमा पुग्यौं। जिल्ला–जिल्लामा पुग्यौं। विदेशमा पुग्यौं। योग प्राणायाम र ध्यान गरायौं, हरेक दिन नियमित गर्नुहोला भन्यौं।

हामीले योग प्राणायाम र ध्यान गराएको त्यसै हो र ? हामीले ख्यालख्याल गरेका हौं र ? यस ब्रह्माण्डको र यस भूगोलमा रहेका हामी सबैको भलाइका लागि भगवान् शिव, भगवान् राम, भगवान् श्रीकृष्ण, भगवान् गौतमबुद्ध र ऋषिगणले योग ध्यान र ज्ञान छाडेर गएको म, मेरो परिवार, समाज, देश, यो भूगोल र विश्व ब्रह्माण्डका लागि थियो, तर हामीले खै उहाँहरूको अनुसरण गर्‍यौं र ?

हामी योगभूमि, आरोग्यभूमि, देवभूमि, बुद्धभूमि, ऋषिभूमि तपोभूमि, गुरूभूमिमा जन्मिएका ऋषिमुनिका सन्तान हौं। प्रकृति, संस्कृति र धर्म नबिगारीकन सिंगो देश समृद्ध हुने बाटो हाम्रा ऋषिमुनिले हामीलाई आरोग्यका रूपमा दिएका छन्। त्यही आरोग्यता लिएर विश्वका मानिसलाई सिकाउन देशदेशमा जाऔं; आफ्नै गाउँघर र टोलटोलमा पनि जाऔं; योग, प्राणायाम र ध्यान गराऔं र धेरैभन्दा धेरै मानिसलाई ध्यान सिकाऔं; जसले प्रत्येक नागरिकको जीवनमा तपस्या आओस्। आरोग्यता आओस्। योग, प्राणायाम र ध्यान जीवन पद्धति बनोस्। जीवनशैली बनोस्। यही नै प्रकृतिप्रतिको न्याय हो। यसबाटै प्रकृति प्रसन्न हुन्छिन् र अनुकुल जलवायु परिवर्तनमा सकारात्मक सहयोग पुग्नेछ। यही पृथ्वी वैकुण्ठ बन्ने छ।

वास्तवमा कमाउनु, खानु र रमाउनु प्रमुख कुरा होइनन्। प्रमुख कुरा त सेवा गर्नु हो। तपाईंहाम्रो जीवन आफ्ना लागिभन्दा पनि बढी अरूको सेवाका लागि हो। सेवाको विकल्प छैन। त्यही भएर हामीले बारबार सेवा गरौं, सेवा गरौं, सेवा गरौं भनिरहेका हौं। सेवाबाटै मोक्ष मिल्छ। मोक्ष नै जीवनको सार्थकता हो। यही उद्देश्य राखेर नेपालको एकल प्रस्तावमा संयुक्त राष्ट्रसंघले विश्व आरोग्य दिवस घोषणा गरेको छ।

नेपाल आरोग्य देश हो भन्ने कुरा विश्वले पनि थाहा पाएको छ। अब ऊर्जावान् र जिम्मेवार भएर भोलिको सुन्दर संसार निर्माण गर्न अग्रसर हुने जिम्मेवारी हाम्रो काँधमा आएको छ। यसमा तपाईंहामी सबै जुटौं।

- शर्मा जीवन विज्ञान परिषद्का संस्थापक हुन्।

प्रकाशित: १० आश्विन २०८३ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App