२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बढ्दो उमेरको जटिल समस्या : डिमेन्सिया

उमेर बढ्दै गएपछि शरीरमा विभिन्न समस्याहरू देखिन थाल्छन्। शरीर कमजोर हुँदै जाने, हिँडडुल गर्न गाह्रो पर्ने, आँखाको दृष्टि कमजोर हुने, श्रवण शक्तिमा कमी आउने, शरीरका विभिन्न अङ्गमा रोग लाग्ने त छँदै छ, मानसिक समस्याले सताउने सम्भावना अझै बढी देखिन्छ।

यसका कारणले रोगीलाई मात्र होइन, पूरै परिवारलाई असर पार्छ। यस्तै भएको छ सुरेशको परिवारमा। छ दशकपार गरेका उनका बुबाको रेखदेखमा पूरै परिवार लाग्नुपरेको छ आजभोलि। उनको व्यवहारमा निकै परिवर्तन आएको छ। ससाना कुरामा पनि रिसाउने, झर्कने, बिनाकारण झगडा गर्ने, जिद्दी गर्ने भएका छन्।

कहिलेकाहीँ त घरबाट निस्केर हिँडिदिन्छन्। खोजेर ल्याउनुपर्छ। उनी भन्छन्, ‘बुढाबुढी सम्हाल्न गाह्रो मात्र हैन, निकै कठिन हुँदोरहेछ ।’ उनले भनेझैँ वृद्धावस्था सबैका लागि यति कठिन हुँदैन। समस्याको कारण यस्तो कठिन अवस्था झेल्न बाध्य हुन्छ मानिस। विश्व स्वास्थ्य संगठनका अनुसार वृद्धावस्थामा विशेषगरी डिमेन्सिया, डिप्रेसनजस्ता समस्या भेटिन्छन्।  

के हो डिमेन्सिया ?

बुढेसकाल अर्थात् ६० कटेपछि आउने मस्तिष्कको समस्या हो डिमेन्सिया। बिस्तारै मस्तिष्कका कोषहरूले काम गर्न छोड्दै जान्छन्। यसका कारणले दिमागले सोच्ने, सम्झने शक्तिमा कठिनाइ उत्पन्न भई दैनिक क्रियाकलाप गर्न नसक्ने अवस्था आउँछ।

 सामान्यतया वृद्धावस्थामा आउने समस्या हुनाले यसलाई बुढेसकालको लक्षण भन्ने गरेको पनि पाइन्छ। तर यो बिल्कुल बुढेसकालको लक्षण नभै मस्तिष्कमा आउने समस्या हो। विश्वभरमा ५ करोडभन्दा बढी वृद्धवस्थाका व्यक्तिहरू डिमेन्सियाबाट पीडित भएको विश्व स्वास्थ्य संगठन (ध्ज्इ) को तथ्याङ्कले देखाएको छ। यो संख्या बढेर सन् २०३० सम्ममा ८ करोड नाघ्ने अनुमान गरिएको छ। दिनानुदिन यो समस्या मानव समाजमा चुनौतीका रूपमा देखा पर्दैआएको छ।  

उपचारका आधारमा यसलाई दुई ग्रुपमा छुट्याइएको छ।  

१. उपचार हुन सक्ने : हाइपर टेन्सन, डायबेटिज, ट्युमर, टिबी, भिटामिनको कमी, स्लिपएप्निया, थायोराइडजस्ता रोगहरूका कारणले भएको डिमेन्सिया ।

२. उपचार हुन नसक्ने : जुन उमेरको साथसाथ वृद्धि हुँदै जान्छ। अल्जाइमर्स डिमेन्सिया, फ्रन्टोटेम्पोरल डिमेन्सिया, भास्कुलर डिमेन्सिया ।

क. अल्जाइमर्स डिमेन्सिया : अधिकतर वृद्ध व्यक्तिलाई हुने गरेको समस्या अल्जाइमर्स हो। यसमा सम्झिने शक्ति बिस्तारै हराउँदै जान्छ। राखेको सामान, दैनिक प्रयोग गर्ने चीज, जानुपर्ने ठाउँ, यहाँसम्म कि आफ्नो घर जाने बाटो पनि बिर्सन सक्छ। यदि यो समस्याको पहिचान सुरुकै अवस्थामा भयो भने जटिल अवस्थामा नपुग्दै रोकथाम गर्न पनि सकिन्छ।  

ख. फ्रन्टोटेम्पोरल डिमेन्सिया : यो समस्या मस्तिष्कको फ्रन्टल लोब र टेम्पोरल लोबको सेलमा खराबी आउँदा हुन्छ। यसका कारणले बिर्सने समस्या त छँदै छ, जिद्दी हुने, झगडा गर्ने, रिसाउने व्यवहार देखा पर्छ।  

ग. भास्कुलर डिमेन्सिया : यो पनि अल्जाइमर्सजस्तै हुन्छ। तर अल्जाइमर्स डिमेन्सिया बिस्तारै सुरु हुँदै अन्तिममा सबै कुरा बिर्सने लक्षण हुन्छ भने यो समस्या स्ट्रोकपछि एक्कासि सुरु हुन्छ।  

यसका लक्षण

- मान्छेको, सामानको, स्थानको नाम भुल्नु

- आफ्नै मान्छे पनि चिन्न नसक्नु

- एउटै कुरा दोहोर्‍याई रहनु वा एउटै कुरो बारबार सोधिरहनु

- नयाँ कुरा सिक्न, बुझ्न नसक्नु  

- कुनै कुराको निर्णय लिन नसक्नु

-बिनाकारण रिसाउनु, झर्कनु, कसैप्रति आक्रामक हुनु

- मति भ्रम हुनु, उल्टापाल्टा काम गर्नु

- साना साना काम गर्न पनि गाह्रो पर्नु वा गर्न नसक्नु

- शारीरिक क्षमतामा ह्रास आउनुका साथै खानेकुरा निल्न पनि समस्या हुनु

यसका कारण

अहिलेसम्म कुनै पनि अध्ययनले यसको कारण यही हो भनेर भन्न सकेको छैन। कारण विविध हुन सक्छन्। त्यसमध्ये केही प्रमुख कारणहरू निम्न छन् ः  

- उमेर : साधारणतया ६० कटेपछि यो समस्या देखिने सम्भावना बढी हुन्छ। यदि अस्वस्थकर जीवन शैली अपनाएको छ भने अवश्य पनि यो उमेरमा समस्या आउन सक्छ ।

- शारीरिक रोग : शारीरिक रोगका कारणले मानसिक समस्या उत्पन्न हुन सक्छ भने मानसिक कारणले शारीरिक समस्या आउन सक्छ। यी दुईको साइकल चलिरहेको हुन्छ मानव जीवनमा ।

- वंशाणुगत  

- मानसिक समस्या : डिप्रेशन, तनाव, चिन्ता

- शारीरिक तथा मानसिक क्रियाकलापको कमी

- लागु पदार्थको सेवन

- अस्वस्थकर खानपान

सुरुको स्टेजमा डिमेन्सियाको लक्षण खासै नदेखिन सक्छ। बिस्तारै नामहरू बिर्संदै जान सुरु हुन्छ। यसले व्यावहारिक कठिनाइ ल्याएको हुँदैन। त्यसैले यसप्रति कसैको चासो हुँदैन। जतिजति समय बित्दै जान्छ, बिर्सने समस्या बढ्दै जान थाल्छ।

आफुले राखेको सामान भुल्ने, नाम बिर्सने, समय याद नहुने, हिँडिरहेको बाटो बिर्सने, बोल्न गाह्रो पर्ने, आफ्नै परिवारका सदस्य नचिन्ने, आपूmले के गरिरहेको छु भन्ने पनि याद नहुन सक्छ। ६० वर्ष कटेपछि यो समस्याका लक्षणहरू देखिन थाले पनि त्यो भन्दा २० वर्ष अघिदेखि नै समस्या सुरु हुन थालिसकेको हुन्छ। त्यसैले यसप्रति समयमै सचेत हुनु आवश्यक हुन्छ।  

यसका साथै वृद्धावस्थामा देखिने अर्को समस्या हो डिप्रेसन। शारीरिक क्षमतामा कमी आउनु, शरीरमा विभिन्न प्रकारका रोग लाग्नु, आर्थिक समस्याका कारण परनिर्भर हुनु, सन्तानद्वारा उपेक्षाको अनुभव गरी एक्लोपनको महसुस गर्नु, पारिवारिक तनाव, क्लेश बढ्नु, मृत्युको भय आदिका कारण यो उमेरमा डिप्रेसन जस्तो मानसिक समस्याले सताउन सक्छ ।

रोकथामको उपाय

आफ्नो स्वास्थ्यप्रति हरेक व्यक्ति जीवनको सुरुवाती समयदेखि नै पूर्ण सजग बन्नुपर्छ। शरीरको प्रकृतिअनुसारको उचित खानपान, उमेरअनुसारको शारीरिक तथा मानसिक व्यायाम, कुनै पनि मानसिक समस्या (डिप्रेसन, तनाव, चिन्ता) छ भने समयमै त्यसको उपचार गर्ने, सामाजिक क्रियाकलापमा सहभागी हुने बानीको विकास गर्ने हो भने शारीरिक, मानसिक तथा भावनात्मक रूपबाट व्यक्ति स्वस्थ भई बाँच्न सक्छ।

वृद्धावस्था नैराश्यजनक रूपमा बिताउनुको सट्टा जीवनभरको ज्ञान, सीप, अनुभव आउँदो पुस्तालाई बाँडेर परिवार र समाजलाई समृद्ध बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।  

प्रकाशित: १८ भाद्र २०७९ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App