२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चितवनमा पनि भेटिन थाले जापानीज इन्सेफलाइटिसका बिरामी

जापानीज इन्सेफलाइटिसका बिरामी चितवनमा पनि भेटिन थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, २२ जनाको नमुना परीक्षण गर्दा ९ जनामा जापानीज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै ४ जना रहेका छन्। महानगरमा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए। त्यस्तै माडीमा २ महिला, रत्ननगर, राप्ती र कालिका नगरपालिकामा समान एक/एक जनामा संक्रमण संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये एक जना भरतपुर अस्पतालको आईसीयूमा उपचार भैरहेको केसीले जानकारी दिए।

अन्य बिरामीको अवस्थाबारे बुझ्ने काम भैरहेको उनले बताए। ‘हामीलाई हेटौँडामा रहेको डब्लुएचओको कार्यालयबाट शुक्रबार रिपोर्ट प्राप्त गरेका छौँ। अहिले बिरामीको अवस्था बुझेका छैनन्,’ उनले भने, ‘जिल्लाका अस्पतालहरुसँग समन्वय गरेर बुझ्ने प्रयासमै छौँ।’ एक जना भरतपुर अस्पतालको आईसीयूमा उपचारत रहेको उनले बताए।

छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का तीन जनाको जापानीज इन्सेफलाइटिसका कारण मृत्यु भएको छ। मृत्यु हुनुपूर्व उनीहरुको उपचार चितवनमै भएको थियो। अघिल्लो दुई साताको बीचमा देवचुली र गैडाकोट नगरपालिकामा गरी तीन जनाको मृत्यु भएको हो। चितवनमा लामो समयपछि जापानीज इन्सेफलाइटिस फेला परेको हो।

‘१५ वर्ष अगाडि चितवनमा महामारीकै रुपमा फैलिएको थियो। त्यतिखेर कालिका शक्तिखोर क्षेत्रमा केही मानिसको मृत्यु भएको थियो,’ केसीले भने ‘नयाँ संरचना बनेपछि जापानीज इन्सेफलाइटिस भेटिएको पहिलोपटक हो।’ जापानीज इन्सेफलाइटिसको परीक्षण चितवनमा हुँदैन। यहाँबाट काठमाडौँको केन्द्रीय परीक्षण प्रयोगशाला टेकुमा नै पठाउने गरिएको छ।

जसका कारण रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ। जिल्लामा रोग देखिएपछि स्थानीय तहमार्फत् जनचेतनामा मुलक अभियान सञ्चालन गर्नुपर्ने उनले बताए। जापानीज इन्सेपलाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो। यी लामखुट्टेहरु माध्यम आकारका, खैरो रंगको र पेटतिर भने सेतो चिन्हहरु भएका हुन्छन्। तीनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने उनले बताए। विशेष गरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान रहेको उनले बताए।

साउन, भदौ र असोजमा जापानीज इन्सेपलाइटिस बढी देखिने उनले बताए। यस रोगबाट बढीजसो धेरै व्यक्तिहरु गम्भीर बिरामी नहुने गरेपनि केहीको गम्भीर अवस्था सृजना भइ दिमागलाई नै असर गरी मृत्यु हुने गरेको उनको भनाइ छ। यस रोग लाग्दा धेरै जसोलाई  ज्वरो, झाडा पखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने,  टाउको दुखाई वा कमजोरी देखिन्छन्।

तर, कुनै पनि लक्षण नदेखिन सक्छ। यस रोगका खतराका लक्षणहरु छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ। खोपको प्रयोगबाट जापानीज इन्सेफलाइटिसको रोकथाम हुन्छ। साथै लामखुट्टेको टोकाईबाट जोगिने र लामखुट्टेको प्रजननको रोकथाम गर्नुपर्ने उनले बताए। कुनै खतराको लक्षण देखिएमा भने तुरुन्तै अस्पताल जान उनले सुझाव दिएका छन्।

सरकारले जापानीज इन्सेफलाइटिस रोकथामका लागि दुई वर्ष मुनिका बालबालिकामा दुई पटकसम्म खोप लगाउने गरेको छ। १३ वर्षअघि सरकारले १५ वर्षमुनिका बालबालिकालाई पनि खोप अभियान सञ्चालन गरेको थियो। आजभोलि यस्ता अभियान सञ्चालन हुन सकेको छैन। यस्तै चितवनमा साउन महिनामा ७६ जनामो डेंगी र ३२ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। डेंगी जापानीज इन्सेपलाइटिस लामखुट्टेको कारण लाग्ने भएकाले बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने उनले बताए।

प्रकाशित: १७ भाद्र २०७९ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App