४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नवलपरासीमा जापानिज इन्सेफलाईटिसबाट तीन जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जापानिज ईन्सेफलाईटिसबाट तीन जनाको मृत्यु भएको छ। दुई साताको बीचमा देवचुली  र गैंडाकोट नगरपालिकामा गरी तीन जनाको मृत्यु भएको हो।  

स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का अनुसार देवचुली नगरपालिकामा दुई र गैंडाकोट नगरपालिकामा जापानिज इन्सेफलाईटिसबाट  एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नम्बर १ गर्दुवाका ७२ बर्षिय पुरुष र ४९ बर्षिया महिला रहेको देवचुली नगरपालिकाका स्वास्थ्य अधिकृत पिताम्बर भुर्तेलले जानकारी दिए। उनका अनुसार, ४९ बर्षिया महिलाको साउन २३ गते भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ७२ बर्षिय पुरुषको भदौ ५ गते उपचार पश्चात आफ्नै घरमा मृत्यु भएको भुर्तेलले जानकारी दिए। चितवन मेडिकल कलेजले उपचार सम्भव नहुने बताएपछि उनलाई घरमा नै लगेका थिए।  

गैंडाकोट नगरपालिका १६ अमरापुरीका ६५ बर्षिय पुरुषको पनि जापानिज इन्सेफलाईटिसबाट मृत्यु भएको छ। गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक पौडेलका अनुसार, उनको एक साता अघि चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनको मृत्यु भएको ६ दिनपछि(हिजो)मात्र जापानिज इन्सेफलाईटिसबाट मृत्यु भएको पुष्टि भएको हो। यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा पनि एक जनामा संक्रमण पुष्टि भएको छ।  

नवलपुरमा पहिलोपटक जापानिज ईन्सेफलाईटिस फेला परेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईंले बताए। ‘२०६२÷०६३मा बाँके, बर्दिया, कैलाली क्षेत्रमा महामारीकै रुपमा फैलिएको थियो। त्यहाँ छिटफुट देखियो।’ उनले भने, ‘नयाँ संरचना बनेपछि नवलपरासीमा जापानिज इन्सेफलाईटिस भेटिएको पहिलोपटक हो।’

जिल्लामा रोग देखिएपछि स्थानीय तहमार्फत् जनचेतनामा मूलक अभियान सञ्चालन गर्न थालिएको उनले बताए। जापानिज ईन्सेफलाईटिसको परीक्षण नवलपुर र चितवनमा हुँदैन। यहाँबाट काठमाडौँको केन्द्रिय परीक्षण प्रयोगशाला टेकुमा नै पठाउने गरिएको छ। जसका कारण रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ।  

जापानिज ईन्सेपलाईटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो। यी लामखुट्टेहरु मध्यम आकारका, खैरो रंगको र पेटतिर भने सेतो चिन्हहरु भएका हुन्छन्। तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने चापागार्इंले बताए। विशेष गरि धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान रहेको उनले बताए। साउन, भदौ र असोजमा जापानिज ईन्सेपलाईटिस बढी देखिने उनले बताए। यस रोगबाट बढीजसो धेरै व्यक्तिहरु गम्भिर बिरामी नहुने गरेपनि केहीको गम्भिर अबस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको उनको भनाई छ।  

यस रोग लाग्दा धेरैजसोलाई  ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने,  टाउको दुखाई वा कमजोरी देखिन्छन्। तर, कुनै पनि लक्षण नदेखिन सक्छ। यस रोगका खतराका लक्षणहरु छारेरोग, प्यारालाईसिस र अचेत हुनु पनि रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागार्इंले बताए।

खोपको प्रयोगबाट जापानिज ईन्सेफलाईटिसको रोकथाम हुन्छ। साथै लामखुट्टेको टोकाईबाट जोगिने र लामखुट्टेको प्रजननको रोकथाम गर्नुपर्ने उनले बताए। कुनै खतराको लक्षण देखिएमा भने तुरुन्तै अस्पताल जान उनले सुझाव दिएका छन्।  सरकारले जापानिज ईन्सेफलाईटिस रोकथामका लागि दुई बर्ष मुनिका बालबालिकामा दुई पटकसम्म खोप लगाउने गरेको छ। १३ बर्षअघि सरकारले १५ बर्षमुनिका बालबालिकालाई पनि खोप अभियान सञ्चालन गरेको थियो। आजभोलि यस्ता अभियान सञ्चालन हुन सकेको छैन। रोग देखिएको स्थानमा जापानिज ईन्सेफलाईटिस विरुद्धको खोप अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनले बताए।

प्रकाशित: ७ भाद्र २०७९ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App