७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रादेशिक अस्पताल सिरहा मधेस प्रदेशमै पहिलो

प्रादेशिक अस्पताल सिरहा मधेस प्रदेशकै पहिलो।

प्रादेशिक अस्पताल सिरहा न्यूनतम सेवा मापदण्ड पूरा गर्ने सरकारी अस्पतालमा मधेस प्रदेशकै पहिलो बनेको छ। प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकन तथा समिक्षाका आधारमा प्रादेशि अस्पताल सिरहा ९१ प्रतिशत अंकसहित मधेस प्रदेशमै प्रथम स्थानमा परेको हो।

प्रादेशिक अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकन तथा समिक्षा कार्यक्रममा मूल्यांकनको नतिजा सार्वजनिक गर्दै यो जानकारी गराइएको हो। ६२ शैय्याको मान्यता पाइसकेको अस्पतालले न्युनतम मापदण्ड पूरा गर्नेमा नेपालका अस्पतालहरू मध्ये तेस्रो नम्बरमा पर्न सफल भएको प्रादेशक अस्पतला सिरहाका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए।

‘एमएसएस मूल्यांकनमा मधेस प्रदेशकै पहिलो भएका छौं, उनले भने,‘त्यतिमात्र होईन नेपालका अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेका छौं।’ सबैको सहयोगले यो सम्भव भएको भन्दै उनले जिल्लावासी सबैलाई धन्यवाद दिएका छन्। यस अस्पतालमा आईसियु सेवा, एनआइसियु सेवा, डाइलासिस सेवा, अक्सिजन प्लान्ट, भेन्टिलेटर, ब्लड बैंक, २४ घण्टे ल्याब र एक्सरे सेवा, २४ घण्टे फार्मेसि सेवा, दन्त सेवालगायत सेवा डा.यादव प्रमुख भएपछि थप भएका छन्।

अब जिल्लावासीलाई उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको अस्पतालका मेसु डा. यादवले बताए। ‘अस्पतालमा सबै कुराको अभाव थियो, धेरै जसो बिरामीलाई बाहिरी जिल्ला पठाउनु पर्ने बाध्यता थियो, डा. यादवले  भने, ‘अब बाहिरी जिल्लाबाट विरामीहरु उपचारका लागि यस अस्पतालमा आउँदै छन्। पहिले उपचार गर्न बाहिर पठाउँदा बाटोमै ज्यान जाने जोखिम थियो, उनले भने, ‘अस्पतालमा सेवा विस्तारले थुप्रै विरामीको ज्यान जोगिएको छ । उपचार भरपर्दो र प्रभावकारी हुँदा सीमावर्ती भारतीय गाउँका विरामीहरु समेत उपचारका लागि यस अस्पतालमा आउन थालेको डा. यादवले बताए।’

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले अस्पतालमा सुविधा थप भएपछि भरपर्दो र प्रभावकारी बनेको बताए। ग्रामिण मधेसको केन्द्रमा रहेको यस अस्पतालको प्रभावकारी सेवाले निम्न मध्यम वर्गीय र गरिव वर्गलाई राहत मिलेको उनले बताए। प्रभावकारी सेवाका कारण यस अस्पतालले ग्रामिण भेगका निमूखा जनतालाई जीवन प्रदान गरिरहेको छ उनले भने, ‘अस्पतालमा परिक्षण उपकरण थपेर सेवा अझ प्रभावकारी बनाउनुपर्छ।

अस्पतालको चौतर्फी विकासमा मेसु डा. यादवको सक्रियत भूमिका र व्यवस्थापन कारक रहेको उनले बताए। अस्पतालमा कार्यरत चिकित्सकसहित स्टाफनर्स लगायत विभिन्न युनिटमा कार्यरत कर्मचारीहरु अझ जोशका साथ उपचार सेवामा समर्पित हुनुपर्ने उनले बताए।

प्रकाशित: ६ श्रावण २०७९ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App