१४ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मापदण्ड विपरीत बैतडीका एम्बुलेन्स

बैतडी जिल्लामा १२ वटा एम्बुलेन्स सञ्चालनमा छन्। तर तिमध्ये एउटा एम्बुलेन्स पनि मापदण्ड अनुसार छैनन्। स्वास्थ्यकर्मी, औषधि उपकरणुसहितका एम्बुलेन्स सञ्चालन गर्नु सरकारको मापदण्ड भए पनि यहाँका एम्बुलेन्सले कुनै मापदण्ड पूरा गरेका छैनन्।

मापदण्ड विपरीतका एम्बुलेन्सबाट बिरामी बोक्दा बाटोमै बिरामीले ज्यान गुमाउन बाध्य भएका छन्। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले क र ख वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाइने व्यवस्थाको छ। तर बैतडीमा भने ति दुवै मापदण्ड भएका एम्बुलेन्स छैनन्। ग वर्गका एम्बुलेन्सले बिरामी बोक्ने गरेका छन्।

जिल्लामा सञ्चालित एम्बुलेन्सहरुलाई ख वर्गका बनाउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले दुई महिनाको समय दिएको छ। दुई महिनाभित्र आकस्मिक उपकरण, दक्ष जनशक्ती, औषधि र अन्य सुविधा थप गरी ख वर्गको एम्बुलेन्स बनाउन निर्देशन दिएको छ। तर एम्बुलेन्स सञ्चालन गर्ने स्थानीय तह, संघसंस्थाले अहिलेसम्म स्तरोन्नतिको लागि पहल गरेका छैनन्।

जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मापदण्ड अनुसारका नभएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले तोके अनुसारका कुनै पनि एम्बुलेन्स नरहेका उनले बताए। उनले भने ‘एम्बुलेन्सका लागि आवश्यक जनशक्ति, औषधि, उपकरण आदिको व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसका लागि निर्देशिकामा मापदण्ड उल्लेख गरेको छ। त्यो मापदण्ड अनुसार हाम्रो जिल्लामा कुनै पनि एम्बुलेन्स छैनन्।’

मापदण्ड अनुसारका एम्बुलेन्स नहुँदा बिरामीहरुले पाउनुपर्ने आवश्यक सुविधा पाउन सकिरहेका छैनन्। जिल्ला एम्बुलेन्स सञ्चालन समितिले सबै एम्बुलेन्सलाई दुई महिनाभित्र ख वर्गमा स्तरोन्नती गरी सञ्चालन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको भए पनि अहिलेसम्म कसैले पनि स्तरोन्नती नगरेको स्वास्थ्य प्रमुख भट्टले बताए।

जिल्लाको सिगास गाउँपालिका बाहेकका सबै स्थानीय तहमा एम्बुलेन्सको व्यवस्था छ। पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स ६ महिनादेखि धनगढीमा थन्किरहेको छ। डिलासैनी गाउँपालिकाको एम्बुलेन्स पनि २ महिनादेखि सञ्चालनमा छैन। एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा स्थानीय तहले चासो दिएका छैनन्।

बिरामी वा घाइतेलाई छिटो छरितो अस्पताल पुर्‍याउन अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोत साधन र सुविधा सम्पन्न व्यवस्थित एम्बुलेन्सको आवश्यकता भए पनि एम्बुलेन्स सञ्चालन गर्ने निकायले ध्यान दिन सकेका छैनन्।

प्रकाशित: २ श्रावण २०७९ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App