१६ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मृगौला बिरामीले नामावली सार्वजनिक गर्नुपर्ने

मृगौला प्रत्यारोपण गराएका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले बुझिलिएको रकम र भुक्तानी गरिएकाहरुको नामावली अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ।

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ ले यस्तो खर्च पाउनेहरुको नामावली सम्बन्धीत स्थानीय तह र वडा कार्यालयमा टाँस गर्नुपर्ने तथा कार्यालयको वेबसाइटमा प्रकाशित गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हो।

यस्तै प्रत्येक वडा कार्यालयले औषधि उपचार वापत खर्च पाउने लाभग्राहीको अभिलेख लक्षित समूह अनुसार अद्यावधिक गर्नुपर्ने भएको छ। यस्तो औषधि उपचार खर्च प्रचलित कानुन बमोजिम गराउने जिम्मेवारी सम्बन्धीत स्थानीय तहको हुने भएको छ। लाभग्राहीको सूची प्रत्येक आर्थिक वर्षको सुरुमा सम्बन्धीत वडा कार्यालयले नविकरण गर्नुपर्ने हुन्छ।

लक्षित समूहमा परेका औषधि उपचार गर्न नसक्ने, गरिबीको परिचयपत्र वितरण गरिएका जिल्लाको सो परिचयपत्रवाला तथा गरिबीको परिचयपत्र वितरण भइ नसकेका जिल्लाको हकमा विपन्न व्यक्ति वा स्थानीय तहबाट सिफारिस समिति गठन गरी पहिचान भएका विपन्न रहेको प्रमाणपत्र प्राप्त व्यक्ति लाभग्राहीमा पर्नेछन्।

निर्देशिका अनुसार प्रक्रिया पूरा गरेपछि औषधि उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ पाउने छन्। यो रकम त्रैमासिक रुपमा महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा जम्मा गर्नेछ।

लक्षित समूह भन्नाले मृगौला प्रत्यारोपण गराएका, डायलाइसिस गरिरहेका, क्यान्सर रोग पहिचान भइ निको भइसकेका व्यक्ति बाहेकका क्यान्सर रोगी (क्यान्सर पहिचान भइ उपचार पछि निको भइसकेका तर चिकित्सकले तीन–तीन महिना भित्र निरन्तर निगारानीमा राखेका व्यक्ति) र मेरुदण्ड पक्षघातका बिरामी (रातो र निलो परिचयपत्र वाहक) लाई सम्झनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

लक्षित समूहका व्यक्तिले उपचार सुविधा लिनका लागि राष्ट्रिय परिचय नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि,नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकको सिफारिस र मेरुदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो र निलो परिचयपत्रको प्रतिलिपिसहित सम्बन्धीत स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ।

तर, नेपाल सरकार वा नेपाल सरकारको पूर्ण, अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी/निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी/पेन्सन प्राप्त गरिरहेका व्यक्तिले भने यो निर्देशिका अनुसार औषधि उपचार खर्च पाउँदैनन्।

त्यसैगरी नेपाल सरकारबाट उपलब्ध गराइदैं आएको जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, र अपाङ्गता भत्ता लगायत नेपाल सरकारबाट साविकमा पाइ आएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका अनुसार उपलब्ध गराइने मध्ये कुनै एक किसिमको भत्ता/मासिक वृत्तिमात्र प्राप्त गर्न सक्नेछन्। एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो पर्नेगरी सुविधा प्राप्त गर्न नसक्ने समेत निर्देशिकामा उल्लेख छ। 

प्रकाशित: १७ चैत्र २०७८ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App