४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

‘सिटामोलसहित १९ औषधि उत्पादन धराशयी’

मूल्य समायोजन नहुँदा सिटामोलसहित १९ औषधि उत्पादन ‘धराशयी’ हुँदै गइरहेको औषधि उत्पादक संघले जनाएको छ। बजारमा माग हुने तर अति कम मूल्यमा उत्पादन गर्नुपर्ने बाध्यताका कारण कोरोना महामारीको समयमा सिटामोलको अभाव हुने गरेको संघका अध्यक्ष प्रज्जवलजंग पाण्डेले बताए। सिटामोलको मूल्य २०५७ सालमा प्रतिट्याब्लेट ६० पैसा कायम भएकोमा ०६४ मा १ रूपैयाँ कायम भएपछि अहिलेसम्म मूल्य समायोन हुन नसकेको उनले बताए।

उत्पादक कम्पनीहरूले अति आवश्यक औषधि अन्तर्गत सिटामोल, सलाइन र जीवनजल लगायतलाई राखेकोले विपद परेको बेलामा जस्तो सुकै संकटमा पनि कम्पनीले उपलब्ध गराउँदै आएको छ तर यो  प्रक्रियाले उत्पादनमा आवश्यक कच्चा पदार्थ, जनशक्ति लगायतका पक्ष महंगी सकेको अवस्थामा पुरानै मूल्यमा बिक्री गर्दा निजी क्षेत्रबाट औषधि उत्पादनको लागि गरेको ६० अर्ब लगानीले प्रतिफल पाउन नसकेको उनले बताए। ‘नेपालमा प्रतिट्याब्लेट एक रूपैयाँमा बिक्री भइरहेको सिटामोल भारतमा अहिले प्रतिट्याब्लेट दुई रूपैयाँ ५० पैसामा बिक्री भइरहेको छ,’ अध्यक्ष पाण्डेले भने।

नेपालमा औषधि ऐनमा मूल्य समायोजनको व्यवस्था भए पनि विधिको अभावमा समायोजन हुन नसकेको उनले बताए। नेपालमा १४ वर्षदेखि सिटामोलसहित अन्य १४ वटा औषधिको मूल्य समायोजन हुन नसकेकोले औषधि उत्पादकहरू घाटामा परिरहेको संघका कार्यक्रम संयोजक जीवनराज क्षेत्रीले बताए। उनका अनुसार नेपालमा ७३ वटा कम्पनीले एक सय १० वटा औषधि उत्पादन गरिरहेका छन्।

निजी उत्पादकहरूले ५५ देखि ६० अर्ब औषधि उत्पादनको क्षेत्रमा गरिरहेकोमा ६० अर्बको औषधि बिक्री भइरहेको बताइएको छ। अन्य देशमा जस्तो नेपालमा औषधि कम्पनीलाई सरकारले प्रवर्धनको नीति नलिएको संघको गुनासो छ। भारतमा औषधि उत्पादन कम्पनीलाई ५४ वटा शिर्षकमा नयाँ उद्योगलाई प्रोत्साहन दिइरहेको अवस्थामा नेपालले एउटा पनि नीति नलिएको बताइएको छ।

नेपाल औषधि प्रदर्शनी नारायणगढमा 

नेपाल औषधि उत्पादक संघले ‘औषधि फार्मा एक्सपो २०२२’ आगामी वैशाखमा भतरपुरमा गर्ने भएको छ। प्रत्येक २ वर्षमा हुँदै आएको सो प्रदर्शनी कोभिड–१९ का कारण अघिल्लो वर्ष हुन नसकेको जनाउँदै यो वर्ष गर्ने तयारी भएको प्रर्दशनीका संयोजक जीवनारायण क्षेत्रीले बताए। यो ८औं प्रर्दशनी हुन लागेको हो। प्रर्दशनीमा नेपालमा उत्पादन भएका औषधि र त्यसमा प्रयोग भएका प्रविधी रहनेछन्। प्रदर्शनीमा एक सय ६० वटा स्टल रहने छन् भने एक सय २० वटा बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधि उद्योगले भाग लिनेछन्। 

प्रकाशित: २२ फाल्गुन २०७८ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App