१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा ओमिक्रोन संक्रमितको संख्या सयभन्दा तल झर्‍यो

उदयपुरमा पछिल्लो समय कोभिड ओमिक्रोन भेरिएन्ट संक्रमित घट्दै गएको पाइएको छ। पछिल्लो एक सातायता संक्रमितको दर घट्नुका साथै बिरामी निको हुने क्रम बढेर जिल्लाभर १ सयभन्दा कममा झरेको छ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ९४ मा सीमित भएको छ। जसमा ५३ महिला र ४१ जना पुरुष रहेका छन्। उनीहरु सबै होम आइसोलेसनमा रहेको स्वास्थ्यले जनाएको छ। स्वास्थ्यका अनुसार उदयपुरका दुई पुरुषको जिल्लाबाहिर ओमिक्रोनका कारण ज्यान गएको भए पनि जिल्लाभित्र भने कसैको निधन भएको छैन।

पुस दोस्रो सातादेखि एक्कासी फैलिन थालेको ओमिक्रोन नियन्त्रणमा लागि जिल्ला कोभिड शंकत व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरले पुस २७ गतेदेखि नियमित परीक्षण र आईसोलेसनको व्यवस्था गर्न थालेको थियो। जसअनुसार सुरुको दुई सातामै ह्वात्तै बढेर संक्रमितको संख्या ६ सय नाघेको थियो।

संक्रमित दर तिव्र भएपछि डिसिसिएमसीले जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहका स्वास्थ्य चौकी तथा जिल्ला र नगर अस्पतालहरुमार्फत एन्टीजेन विधिको परीक्षण दरलाई तिव्रता दिएको थियो। परीक्षण बढाउनुका साथै उपचार र खोप दिने क्रम एकैचोटी बढाएपछि डेढ महिनामै ओमिक्रोन नियन्त्रणोन्मुख भएको डिसिसिएमसीले जनाएको छ।

डिसिसिएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार पछिल्लो संक्रमण दर हेर्दा ओमिक्रोन भेरिएन्ट नियन्त्रणतर्फ गाईरहेको देखिन्छ। पुस पहिलो सातादेखि एक्कासी बढेको संक्रमण नियन्त्रण गर्न जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, प्रहरी प्रशासन र स्थानीय सरकारहरु सबैलाई सक्रिय गराइए अनुसार अपेक्षाकृत संक्रमण घट्दै गएको पाइएको उनले बताए।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म १ हजार ४ सय ७० जनाको परीक्षण गरिएकोमा ७ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। परीक्षण गरिएका महिलाको संख्या ६ सय ६४ र पुरुष ८ सय ६ जना रहेकामा ३ सय ५० महिला र ४ सय ८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए।

दासका अनुसार एक महिना तिब्रगतिमा बढेको संक्रमण त्यसपछि ओरालो लाग्दै गएको हो। संक्रमण बढ्न नदिन स्वास्थ्यले खोप लगाउने कामलाई पनि तिव्रता दिएको उनले बताए। १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो र पहिलो हानिसकेकालाई दोस्रो डोज खोप हान्ने काम यही बीचको अवधिमा भयो भने दोस्रो खोप हानिसकेका जेष्ठ नागरिक र अग्रपंतिमा बसेर काम गर्ने वर्गलाई बुस्टार डोज खोपसमेत हानिएको छ।

कोभिडबाट बचाउँन भेरोसिल, एस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन खोप दिइएको छ भने बालबालिकालाई मोडर्ना खोप दिइएको स्वास्थ्यले जनाएको छ। त्यस्तै दोस्रो मात्रा खोप दिन छुटेका कोभिसिल हान्नेहरुलाई एस्ट्राजेनिका दिइएको दासले बताए। खोपको मात्रा बढाउनुका साथै लक्षण देखिएका सबै ठाउँमा परीक्षण गर्दै आइसोलेसनमा राख्ने गरेका कारण छिट्टै संक्रमण दर घटेको निश्कर्ष स्वास्थ्यले निकालेको छ।

अहिले पनि जिल्ला अस्पतालमा खोप हान्ने क्रम नियमित सञ्चालन भईरहेको छ। तर, पहिलाको दाँजोमा अहिले परीक्षण गर्न आउँने र खोप हान्ने सेवाग्राही धेरै घटेको अस्पताल प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. मुकेश झाले बताए। झाका अनुसार सुरुवाती चरणमा आक्रामक दरले संक्रमित बढेको भएपनि पछिल्लो दुईसातायता धेरै कम भएको छ।

संक्रमण दर बढिरहेका बेला अस्प्तालकै दर्जन बढी डा. र स्वास्थ्यकर्मीलाई पनि ओमिक्रोनले छोपेको उनले बताए। स्वास्थ्यकर्मी नै संक्रमित भएपछि केही दिन अस्पतालको सेवा समेत प्रभावित भएको थियो। तर, गएको दुई सातायता सबै स्वास्थ्यकर्मी संक्रमणमुक्त भएको र परीक्षण गर्न र खोप हान्न आउनेहरु पनि घटेकाले अन्य स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको डा. झाको भनाई छ। 

प्रकाशित: ८ फाल्गुन २०७८ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App