२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

लक्षणबिनाको संक्रमणमा पनि ‘एन्टिबडी’

तपाईंका पति अथवा पत्नीलाई कोभिड–१९ संक्रमण भइसकेको हुन सक्छ। बच्चाको हेरचाह गर्ने सहयोगी तथा कार्यालयका सहकर्मीलाई पनि संक्रमण भइसकेको हुनुपर्छ।

यसरी अनगिन्ति पटक तपाईं कोभिड–१९ सँग साक्षात्कार भइसक्नुभएको छ। तर तपाईंमा कोभिड–१९ पोजिटिभ नदेखिएको पनि हुन सक्छ। अत्यन्त नजिकबाट कोभिड–१९ सँग यसरी भएको जम्काभेटले तपाईंको प्रतिरक्षा प्रणालीलाई सशक्त पारेको छ त? वैज्ञानिकका अनुसार यसको उत्तर अझै प्रस्ट भइसकेको छैन।

यदि तपाइँलाई कोरोना संक्रमण भइसकेको छ भने प्रतिरक्षा प्रणालीलाई यसबाट फाइदा हुने वैज्ञानिक मत छ। तर झन्डैझन्डै संक्रमित भएको अवस्थामा शरीरमा प्रतिरक्षा प्रणालीको विकास गर्न उत्प्रेरित गर्न यथेष्ट भाइरस शरीरमा प्रवेश नभएको अवस्थामा शरीरले प्रतिरक्षा प्रणालीलाई अर्थपूर्ण हिसाबले सशक्त नपारेको हुन सक्छ।

तर तपाईंले अनुभव नगरेको, भाइरसको र्‍यापिड टेस्टले समेत पहिचान गर्न नसकेको तथा लक्षणबिनाका संक्रमणले तपाईंलाई फाइदा भएको हुन सक्छ। कोभिड–१९ संक्रमणका कारण गम्भीर खाले बिरामी हुन सक्ने, अस्पताल भर्ना हुनुपर्ने तथा कहिलेकाहीं मृत्युसमेत हुन सक्ने भएकाले यो रोगविरुद्ध प्रतिरक्षा (एन्टिबडी) प्रणाली विकास गर्न सबैभन्दा सुरक्षित उपाय खोप नै हो।

सकेसम्म संक्रमण हुन नदिनु झनै महत्वपूर्ण सफलता हो। तर कुनै हिसाबले तपाईं भाइरसबाट संक्रमित भइसक्नुभएको छ भने यो अवस्थामा भाइरसविरुद्ध एन्टिबडीको विकास हुने भएकाले यसले फाइदा गर्न सक्ने तर्क विज्ञहरू गर्छन्। युनिभर्सिटी अफ वासिङ्टनअन्तर्गतको सियाटलमा रहेको स्कुल अफ मेडिसिनकी इम्युनोलोजिस्ट तथा सहप्राध्यापक डा. मारिओन पेपरका अनुसार शरीरमा कुन मात्रामा भाइरसले संक्रमण गरेको छ, त्यही आधारमा प्रतिरक्षा प्रणालीको विकास भएको हुन्छ। ‘भाइरसमा रहेको संक्रामक प्रोटिन अथवा संक्रामक तत्वको निश्चित मात्राले आक्रमण नगरेसम्म हाम्रो प्रतिरक्षा प्रणाली सशक्त हुँदैन,’ डा. पेपर भन्छिन्।

त्यसो हुँदाहुँदै पनि धेरैपटक भाइरसको सम्पर्कमा रहँदा तथा देखिनेगरी संक्रमण नभएको अवस्थामा पनि शरीरले भाइरसका अवयवहरू यथेष्ट रहेको पहिचान गरे प्रतिरक्षा प्रणाली सशक्त हुने र भाइरसविरुद्धको प्रतिरक्षा प्रणालीले ऊर्जा पाउने डा. पेपरको तर्क छ।

‘यो सम्भावनाको विषय हो, यसै हो भनेर ठ्याक्कै भन्न सकिन्न,’ उनी थप्छिन्। शरीरमा रहेको ‘बी सेल’ नामक कोषिकाले भाइरसका अवयव शरीरमा प्रवेश गरेको अनुभूत गरेपछि यी कोषिका भाइरसविरुद्ध सक्रिय हुने उनी बताउँछिन्। कतिपय वैज्ञानिकले खोप अथवा यसअघि भएको प्राकृतिक संक्रमणका कारण विकास भएको प्रतिरक्षा प्रणालीले भाइरसविरुद्ध लड्न सहयोग गर्ने मान्छन्। मानौं तपाईंको नाकभित्रको तन्तुमा भाइरस प्रवेश गर्‍यो भने शरीरको एन्टिबडीले यसलाई पहिचान (ट्याग) गर्न सक्छ तर प्रतिरक्षा प्रणालीसँग सम्बद्ध कोषिकाले यसलाई नष्ट गर्नुअघि नै भाइरसले आफ्ना प्रतिकृति बनाउन सक्यो भने संक्रमण देखिन सक्छ।

त्यतिबेला शरीरमा रहेको एन्टिबडीले शरीरका अन्य प्रतिरक्षा प्रणालीलाई भाइरसको पहिचान गर्न प्रशिक्षित गर्न सक्ने युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापक डा. निकोल वामगर्थ बताउँछिन्।

‘भाइरसविरुद्ध एन्टिबडी बनाउन प्रतिरक्षा प्रणालीलाई सम्झाउने काम यी एन्टिबडीले गर्छन्,’ उनी भन्छिन्। पछिल्ला दिनमा संक्रमण बढेका कारण कतिपय देशले दोस्रो बुस्टर डोज खोप दिन थालेका छन्। चौथो बुस्टर डोजले कोभिड–१९ विरुद्धको एन्टिबडीको मात्रा बढाएको इजरायलमा गरिएको अध्ययनको प्रारम्भिक नतिजाले देखाएको छ। तर यसले ओमिक्रोनको संक्रमणबाट जोगाउन नसकेको देखिएको छ।

तर अन्य कतिपय वैज्ञानिक यसले प्रतिरक्षा प्रणालीलाई उल्लेख्य प्रभाव नपार्ने ठान्छन्। ‘यदि भाइरसका अवयव शरीरमा प्रवेश गर्दा त्यसलाई खोपका कारण विकास भएको एन्टिबडीले रोक्यो भने खोपले काम गरेको मानिन्छ तर यसले भविष्यमा हुनुपर्ने प्रतिकार्यलाई उल्लेख्य सुधार गर्छ भन्ने हुँदैन,’ युनिभर्सिटी अफ पेनस्लिभानियाअन्तर्गतको इन्स्टिच्युट अफ इम्युनोलोजीका निर्देशक जोन होयरी भन्छन्। खोप लगाइसकेको अथवा यसअघि भाइरस संक्रमण भइसकेको मानिस पनि कुनै लक्षण नदेखिए पनि संक्रमित हुन सक्छन्। यस्तो अवस्थमा हुने अल्पकालीन संक्रमण एकाध दिनमा हराउन सक्छ।

‘यस्तो अवस्थामा प्रतिरक्षा प्रणालीले भाइरसलाई पहिचान गर्न र आफूलाई सशक्त पार्न सक्छ,’ युनिभर्सिटी अफ बर्मिङ्घमका प्राध्यापक फ्रान्सेस इ. लुन्ड भन्छन्। ‘आफू बिरामी भएको तपाइँलाई हेक्का नै हुँदैन,’ उनी थप्छन्। संक्रमणको कमजोर स्तरले प्रतिरक्षा प्रणालीलाई सशक्त नपार्ने उनको तर्क छ। त्यसैले कुनै हिसाबले तपाईं कोभिड–१९ लाई छल्न सफल हुनुभएको छ भने यसको अर्थ शरीरमा भाइरसविरुद्धको प्रतिरक्षा सुदृढ भएको मान्न सकिन्न। (वाल स्ट्रिट जर्नल)

प्रकाशित: ६ फाल्गुन २०७८ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App