३० वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

समयमै उपचारले निको हुन्छ बालबालिकाको क्यान्सर

बालबालिकामा कुनै पनि क्यान्सर हुन सक्छ। ती क्यान्सको समयमै उपचार गरेमा निको हुन्छ। तर, नेपालमा उपचारमा ढिला पुग्ने र कतिपय उपचारमै नपुग्ने कारण धेरै क्यान्सर भएका बालबालिकाको उपचार हुन नसकेको कान्ति बाल अस्पतालले औंल्याएको छ। अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा बाल क्यान्सर रोग विशेषज्ञले यस्तो औँल्याएका हुन्।  

कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुराज गिरीका अनुसार नेपालमा प्रतिवर्ष १५ सयजना बालबालिकामा नयाँ क्यान्सर हुने गर्दछ। तर तीमध्येमा ५ सय जना मात्र उपचारमा पुग्ने गरेका छन्। ‘भरतपुर, पाटन र कान्तिमा गरी ५ सयजना मात्र उपचारमा पुगेको देखिन्छ,’ उनले भने। उपचारमा पुगेकाहरू पनि ढिला गरी मात्र उपचारमा पुग्ने गर्दा उपचारमा पुगेका सबै बालबालिकालाई निको पार्न नसकेको डा. गिरीले बताए। कतिपय उपचारमै नगएकैले क्यान्सरबाट बालबालिकाको मृत्यु हुने गरेको डा. गिरीले बताए।

क्यान्सर लागेपछि निको हुँदैन भन्ने गलत भ्रमको कारण कतिपय बालबालिकालाई अविभावकले उपचारमा पुर्‍याउँदैनन् भने कतिपय बालबालिका समयमै उपचारमा नपुगेको डा.गिरीको अनुभव छ। ‘मुख्य कुरा क्यान्सर लागेपछि निको हुँदैन भनेर उपचार नगरी राख्ने चलन अझै कायम छ,’ उनले भने।

कतिपय भने रोग पहिचानसम्म नपुगेको कारण पनि बालबालिकाको क्यान्सरको कारण मृत्यु हुने गरेको छ। पहिलेको तुलनामा अहिले क्यान्सरको उपचार गर्न आउने बालबालिकाको संख्या बढेको भए पनि धेरैजसो उपचारमा आइपुगेका छैनन्। कान्ति बाल अस्पतालमा हरेक वर्ष ३० देखि ४० जनाको दरले उपचारमा आउनेको संख्या बढेको अस्पतालले जनाएको छ।

समयमै उपचारमा पुगेमा ९० प्रतिशत बालबालिकाको क्यान्सर निको हुन्छ। समयमै नपुगेको कारण हाल कान्ति बालमा उपचारमा पुगेका ७० प्रतिशत बालबालिकाको मात्र क्यान्सर निको हुने गरेको छ। नेपालमा ७० देखि ७५ प्रतिशत बालबालिकाको क्यान्सर निको हुने गरेको देखिन्छ।

उपचारमा पुगेकामध्येमा ७० प्रतिशत मात्र निको भएका र बाँकी उपचारमा नपुगेका बालबालिका सहित करिब ११ सयभन्दा बढी बालबालिकाको क्यान्सरको कारण नेपालमा मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ। अब यो तथ्यांक व्यवस्थित गर्नु सरकारको दायित्व रहेको चिकित्सकको सुझाव छ। विश्वभरी हरेक वर्ष ४ लाख बालबालिकामा नयाँ क्यान्सर हुने गरेको छ।

चिकित्सकका अनुसार बालबालिकामा लाग्ने क्यान्सर मध्येमा ५० प्रतिशत रगतसँग सम्बन्धित क्यान्सर छन्। त्यसपछि मिर्गौला र आँखाको क्यान्सर बढी देखिने गरेको छ। यीमध्ये कुनै पनि क्यान्सरको लक्षण सुरुमै थाहा पाउन सकिन्छ। ती लक्षण देखिएमा नजिकको बालरोग बिशेषज्ञसमक्ष उपचारमा गएमा उनीहरूले बालबालिकामा हुने क्यान्सर पहिचान गर्छन्। क्यान्सर पहिचान भइसकेपछि क्यान्सर अस्पतालमा गएर सही उपचार पाउन सक्छन्।

भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल, कान्तिवाल, पाटन अस्पताललगायतका अस्पतालहरूमा बालबालिकाको उपचार हुन्छ। आँखाको क्यान्सर भएमा तिलगंगा आँखा अस्पताल तथा अन्य आँखा अस्पतालमा उपचार हुन्छ।

बालबालिकाकामा के कारणले क्यान्सर हुन्छ भन्ने कुरा थाहा छैन। कुनै पनि अंगहरूमा क्यान्सर लागेमा बिभिन्न लक्षणहरू देखिन्छ। आँखामा फुला पर्नु, लामो समय ज्वरो आउनु, बच्चामा स्वाँ–स्वाँ बढ्नु, शरीरमा गाँठो देखा पर्नु, आँखामा सेतो फुला देखिनु, बालाबलिकाको शरीर सेतो या पहेंलो हुनु जस्ता लक्षण सुरुमा देखिन सक्छन्। यीमध्ये कुनै पनि लक्षण देखिएमा बालबालिकालाई छिटो बालरोग विशेषज्ञलाई देखाउन चिकित्सकको सुझाव छ।

नेपालमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। सो अवसरमा कान्ति बाल अस्पतालले क्यान्सर निको भएका बालबालिका र क्यान्सरको उपचार गरिरहेका बालाबालिकाबीच भेटघाट कार्यक्रम र साँझपख दीप प्रज्ज्वलनलगायतका कार्यक्रम सम्पन्न गरेको छ। ‘कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई क्यान्सर लाग्नु भनेको मृत्यु हैन भन्ने सन्देश दिनु थियो,’ डा. गिरीले भने।

प्रकाशित: ४ फाल्गुन २०७८ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App