७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

संक्रमणदर ११.८ प्रतिशतले कम

एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन्।

मन्त्रालयका अनुसार गत साता पिसिआर परीक्षण भएका कुल १ लाख २० हजार २ सय ९९ वटा पिसिआर नमुनामध्येमा ५९ हजार ६ सय ६५ जनामा संक्रमण पुष्टि भएको थियो भने यो साता परीक्षण भएका ८४ हजार २ सय ३१ वटा नमुनामध्ये २९ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो।

यो हिसाबले गत साता पिसिआर संक्रमणदर ४९.५ प्रतिशत थियो भने यो साता घटेर ३५.२ प्रतिशत पुगेको छ। पिसिआर संक्रमणदरमा १४.३ र एन्टिजेन संक्रमणदरमा २.९ प्रतिशतले कमी आएको छ। यो हिसाबले औसत संक्रमणदरमा ११.८ प्रतिशत बिन्दुले कमी आएको तथ्यांकले औँल्याएको छ।

नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ। बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ। कुल परीक्षण भएका ११ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबारको संक्रमणदर पनि मंगलबारकै हाराहारीमा भएको छ। नयाँ संक्रमितसहित नेपालमा १० लाख ९१ ह्जार ८ सय ६४ जना कुल संक्रमित संख्या पुगेको छ। नयाँ संक्रमितसहित हाल ६९ हजार २ सय ९१ जना सक्रिय संक्रमित छन्। बुधाबार नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ। नयाँ संक्रमित ३ हजार ६ सय ६७ जना रहेकोमा निको हुनेको संख्या ७ हजार ५ सय ५५ जना छन्।

बुधबार नेपालमा कोरोना संक्रमणको कारण थप आठजनाको मृत्यु भएको छ। थपिएको सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ जना पुगेका छन्।

सक्रिय संक्रमितमध्ये हाल नेपालमा ६७ हजार ८ सय २५ जना होम आइसोलेसनमा, १ हजार ४ सय ६६ जना संस्थागत आइसोलेसनमा र २ सय ७० जनाको आइसियुमा उपचार भइरहेको छ। जटिल समस्या भएका थप ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: २० माघ २०७८ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App