ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पुस २१ र २२ गते सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका जटिल रोगीहरुको थप उपचारका लागि जनही अधिकतम् ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउने भएको छ।
गाउँ कार्यपालिकाको बैठकले ३ जना मुटु रोगीलाई जनही ५० हजार र १ जना हर्नियाका बिरामीलाइ थप उपचार खर्च बापत ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए। नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा गाउँपालिकाले पुस २१ र २२ गते पालिकाको केन्द्र तेल्लोकमा ११ बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार शिविरमा आएका १ सय ६३ जना आँखाका बिरामीलाई चश्मा बापतको शुल्क अनुसार जनही ५ सय रुपैयाँका दरले ८१ हजार ५ सयसमेत उपलब्ध गराइएको छ।
प्रकाशित: २८ पुस २०७८ १०:५३ बुधबार