२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

शल्यक्रियापछि फेरिएका अनुहार

कतिपयको जन्मिँदै टाउको या अनुहारको बनोट बिग्रेको हुन्छ त कतिको चोटपटकले टाउको या अनुहारको बनोट बिग्रिन्छ। तपाईंको शरीरमा यी अमिल्दा समस्या छन्? यस्तो छ भने अब चिन्ता गर्नुपर्दैन।

वीर अस्पतालमा चार वर्षदेखि सुरु भएको क्रोनियोमेग्जिलो फेसियल (टाउको) सर्जरीबाट यी समस्याको उपचार हुँदै आएको छ। यो आधुनिक प्रविधियुक्त शल्यक्रियाबाट धेरैले लाभ लिइसकेका छन्। शल्यक्रियाले मुहार फेरिएपछि कोही निर्धक्क भएर घरायसी काममा फर्केका छन् भने कोही मोडेलिङको तयारीमा छन्।

काठमाडौं स्वयम्भूका १९ वर्षीय यमन महर्जनको एक वर्षअघिसम्म मुहारको स्वरूप नराम्रो थियो। तल्लो दाँत बाहिर निस्केको थियो, बोल्न अप्ठेरो थियो,चिउँडोको भाग भासिएकाले उनलाई साथीहरूको बीचमा जाँदा हीनताबोध हुन्थ्यो।

एक दिन उनी उपचारको खोजीमा काठमाडौंको महाबौद्धस्थित निजी डेन्टल क्लिनिक पुगे। त्यहाँका चिकित्सकले शल्यक्रिया गरेर सामान्य बनाउँछौ भनेर एकपटक दाँतको शल्यक्रिया पनि गरे।

शल्यक्रियाका लागि ९० हजार रूपैयाँ खर्च भयो। तर,कुनै सुधार भएन। पछि वीर अस्पतालमा यो सेवा छ भन्ने जानकारी पाएपछि उनी त्यहाँको डेन्टल विभाग पुगे।

अस्पतालका चिकित्सक र क्रोनियो फेसियल अर्थोडेन्टिक्स मनीष बज्राचार्य र क्रोनियोमेग्लिोफेसियल सर्जन डा.किशोर भण्डारीले उनको शल्यक्रिया गर्ने निधो गरे। बाहिर निस्केको चिउँडोको हड्डी काटेर शल्यक्रिया गरे।

उनको उपचारमा संलग्न डा.बज्राचार्यका अनुसार महर्जनको माथिल्लो दाँतको हड्डी भित्र र तल्लो दाँतको हड्डी बाहिर निस्केको र चिउँडो पनि बाहिर निस्केकाले असामान्य देखिन्थ्यो। यो शल्यक्रियाका लागि तीन ठाउँको हड्डी काट्नुपरेको र १२ वटा प्लेट राख्नुपरेको थियो।

शल्यक्रिया गरेको ४५ दिनमै सामान्य अवस्थामा फर्केका उनको आन्तरिक दाँतसहित एक वर्षमा पूरै उपचार सकिएको छ। अहिले उनी मोडेल बन्ने सपना पूरा गर्न तालिममा छन्। ‘मोडेलिङ गर्ने मेरो रुचि थियो, शल्यक्रिया गरेपछि म अघि बढें’, उनले भने। चिउँडो सामान्य भइसकेपछि साथीभाइका बीचमा पुग्दा हिनताबोध हटेको महर्जनले बताए।

काठमाडौंमै बस्दै आएका रामेछापका ३० वर्षीय मानबहादुर प्रधानको छुट्टै समस्या थियो। खाना खाने बेलामा दाँत जोडिन्थ्यो। तल्लो र माथिल्लो ओंठ बीच बढी दूरी रहेकाले दाँत जोडेर खान मिल्दैन्थ्यो। चिउँडो पनि सामान्यभन्दा लामो देखिन्थ्यो।

यसले उनलाई खाना खान समस्या थियो भने थुक्दा थुक नाकमा पुग्थ्यो। यस्तै अवस्था रहे बुढेसकालमा खाना खान झनै अप्ठेरो हुने थाहा पाएपछि उनी उपचारको लागि सुरुमा जोरपाटीस्थित अर्थोपेडिक अस्पताल पुगे। त्यसपछि उनी सिभिल अस्पताल हुँदै वीरमा पुगे।

वीरमै डा.भण्डारी र बज्राचार्यसहितले उनको उपचार गरे। उनको उपचार सकिन डेढ वर्ष लाग्यो। दाँतको दूरी बढी भएकाले सारेर नयाँ दाँत राख्ने काम पनि भयो। अहिले उनको दाँत र चिउँडो मिलेको देखिन्छ। फेरिएको आफ्नो मुहार देखेर उनी दंग छन्। उनी भन्छन्, ‘मैले शल्यक्रिया नगरेको भए बुढेसकालमा खानै सक्दिनथें’,उनले भने।

बाँके,नेपालगन्जका १६ महिने बालकलाई टाउको सानो र चेप्टो भएपछि उपचारका लागि स्थानीय अस्पतालले वीरमा रेफर गर्‍यो।

दिमागको विकास हुन नसकेकाले बच्चामा बोल्न या हिँड्न नसक्ने समस्या पनि थियो। उनको टाउको सामान्य बनाउने शल्यक्रिया वीरका अन्य चिकित्सकसहितको सहयोगमा डा. भण्डारीले गरेका थिए। टाउकाको आकार कत्रो बनाउने भन्ने नाप–जाँच भने डा.बज्राचार्यले गरेका थिए।

उनको  शल्यक्रिया दुई चरणमा गरेपछि मात्र सामान्य हुने भएकाले पहिलो चरणमा अघिल्लो भाग ठूलो पार्न शल्यक्रिया गरिएको छ। अर्को चरणमा टाउकाको पछिल्लो भागको शल्यक्रिया गर्ने तयारी छ।

उपचारमा संलग्न चिकित्सक क्रोनोफेसियल सर्जन डा. भण्डारीका अनुसार टाउकाको हड्डी बढाउन विकास केन्द्र हुन्छ। त्यो विकास केन्द्र निष्क्रिय भएमा टाउकाको आकार असामान्य हुन्छ।

टाउकाको विकास केन्द्र निष्क्रिय भएपछि प्रदेश २ का एक पाँच वर्षीय बालक पनि वीरमा उपचारका लागि आएका छन्। उनको टाउकोमा प्वाल भएर दिमागको भाग बाहिर निस्केको छ भने हड्डीको बनोट सानो भएर आँखा बाहिर निस्केको छ। यो समस्या हटाउन पनि शल्यक्रिया गर्ने वीरका चिकित्सकको तयारी छ।

यसबाहेक वीर अस्पतालमा अर्थोन्याटिक सर्जरी (नमिलेको अनुहार मिलाउने) मात्र २५ वटा भइसकेको छ। यी सबै आधुनिक प्रविधिको सहयोगमा गरिएको डा.बज्राचार्यले बताए।

क्रोनियोमेग्जिलो फेसियल सर्जरी मध्येमा क्रोनिया फेसियल सर्जरी गत वषर्ददेखि मात्र सुरु भएको हो। यो सर्जरी साना बालबािलकामा मात्र गर्न मिल्छ। जसका हड्डीको वृद्धि हुने उमेर रहेको हुन्छ। तर, क्रोनियोमेग्जिलो फेसियल शल्यक्रिया भने १८ वर्ष नाघेकाको मात्र गरिन्छ।

दुई वर्षअघि वीरको डेन्टल विभागका चिकित्सक भण्डारीसहित अर्का एकजना ताइवान गएर थप तालिम लिएपछि नमिलेको टाउको मिलाउने सर्जरी सुरु भएको हो। त्यसभन्दा अघि यो सेवाका लागि डा.भण्डारी र बज्राचार्य चीन, जर्मनी र भारत पुगेर विशेषज्ञ तालिम तथा अध्ययन पूरा गरेका थिए। चार वर्षअघि वीरमा आधुनिक मेग्जिलो फेसियल सर्जरी सेवा सुरु भएको हो।

नेपालमा पुरानो प्रविधिले अनुहार मिलाउने शल्यक्रिया भने पहिलादेखि नै थियो। थ्रिडी प्रिन्ट गरेर बनाउन खोजिएको अनुहारको आकृति प्लास्टिकको फ्रेममा निकालिन्छ। त्यही प्रेम शल्यक्रियाको समयमा प्रयोग गरी कति हड्डी काट्ने, तन्काउने या पछि धकेल्नेजस्ता प्रक्रिया अपनाइन्छ।

त्यसपछि मात्र मुखमा, दाँतमा तार बाँधिन्छ। थ्रिडि ई प्रिन्टङ गरी विदेशबाटै भित्र्यायाइएको सफ्टवेयर प्रयोग गरी शल्यक्रिया गरिने हुनाले शल्यक्रियामा त्रुटि नहुने डा.भण्डारी बताउँछन्। शल्यक्रिया गर्नुअघि कहाँ कति हड्डी मिलाउने, बढाउने या तन्काउने भन्ने बनोटको नाप जाँच सफ्टवेयरमा तयार गर्ने र शल्यक्रियापछि मुखमा तार बाँध्ने,दाँत मिलाउने जस्ता काम क्रोनियोफेसियल अर्थोडेन्टिक्स डा. बज्राचार्यको भागमा पर्छ।

यो प्रविधि भित्रिनुअघि नेपालमा अनुहारको आकृति मिलाउन करिब तीन वर्ष समय लाग्थ्यो। हातैले गरिने उपचारमा शल्यक्रियापछि त्रुटि आउने सम्भावना धेरै हुन्थ्यो। नयाँ प्रविधिबाट अनुहार र टाउकोको बनोट मिलाउने सेवा वीर अस्पतालले मात्र सुरु गरेको छ। अन्य अस्पतालमा सुरु भए पनि म्यानुअल प्रविधिबाटै गरिन्छ।

नयाँ प्रविधिअनुसार उपचार गर्दा बिरामीको इच्छामा आकृति बनाइने हुनाले उनीहरू पनि सन्तुष्ट हुन्छन्। नयाँ प्रविधिबाट गरिने यो उपचार अन्तर्राष्ट्रिय तहको भएको चिकित्सकहरूको दाबी छ। ‘आधुनिक प्रविधिको सर्जरीले उपचार छोटो समयमा सम्भव भएको छ,बिरामी पनि खुशी छन्’, डा. बज्राचार्यले भने।

चिकित्सकका अनुसार वीर यो सेवाका लागि अत्यन्त न्यून शुल्क लिइन्छ। त्यसैले बिरामीका लागि सस्तो पर्छ। यो उपचारमा चाहिने सामग्री गुणस्तरीय किन्नुपर्ने भएकाले केही महँगो हुन्छन्। तर विदेशमा पुगेर उपचार गर्नुको तुलनामा तेब्बर सस्तो पर्न आउँछ। जन्मजात, चोटपटक, क्यान्सर तथा अन्य काराणले नमिल्ने अनुहार र टाउकाको आकृति मिलाउने शल्यक्रियामध्येमा वीरमा अनुहार र टाउको मिलाउने शल्यक्रिया बढी गरिन्छ। यो शल्यक्रियामा समस्याको स्थिति अनुसार २ देखि ३ लाख खर्च हुने चिकित्सक बताउँछन्।

क्यान्सरका कारण बिग्रेको अनुहारको उपचारमा पालो कुर्नुपर्ने भएकाले क्यान्सर अस्पतालमै पठाउने गरिन्छ। चोटपकट तथा अन्य कारणले बिग्रेको अनुहारको हड्डीको शल्यक्रिया गर्न वीरकै टोली ट्रमा सेन्टर पुग्छन्। सीमित स्रोत साधनमा यो सेवा सञ्चालन गर्नु अस्पतालका लागि चुनौती हो। तर, आफूहरू नेपालमै नयाँ सेवा दिन पाएकोमा खुसी भएको बताउँछन् चिकित्सक। ‘यो सामूहिक काम हो, मुख्य कुरा हामीले नेपालमै अन्तर्राष्ट्रिय तहको सेवा दिन पाएकोमा साधनारत छौं’, डा.भण्डारीले भने। यो सेवामा आवश्यक थ्रिडी प्रिन्टका लागि नेपालमा रहेको एक मात्र ल्याब आई–अलाइनले विपन्न परिवारका लागि निःशुल्कसमेत प्रिन्ट गर्ने गरेको डा. बज्राचार्यले जानकारी दिए।

प्रकाशित: ३ पुस २०७८ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App