१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सञ्चालनमा आयो वीपीमा अत्याधुनिक सिटि स्क्यान मेशिन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक नयाँ सि.टि. स्क्यान मेशिन सञ्चालनमा आएको छ।

प्रतिष्ठानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक सि.टि.मेशिन मंगलबारदेखि आएको हो। प्रतिष्ठानका अनुसार यो क्षमताको सिटि मेशिन उपत्यका बाहिर पहिलो पटक वीपी प्रतिष्ठानमा सञ्चालनमा आएको हो। यो सिटि मेशिन सञ्चालनमा आएपछि बिरामीहरुलाई बाहिर रिफर गर्न नपर्ने प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साहले जानकारी दिए।

उनका अनुसार यो सिटि मेशिनले द्रुत गतिमा स्क्यान गर्न सकिने हुँदा विरामीलाई विकिरणीय जोखिम पनि अत्यन्तै न्यून हुन्छ। ‘सुक्ष्मरुपमा गहिराईसम्म यो मेशिनले स्क्यान गर्नसक्छ, यसले विरामीहरुलाई धेरै नै राहत मिल्छ,’ उनले भने। रेडियोलोजी विभागबाट प्राप्त तथ्यांक अनुसार प्रतिष्ठानमा दैनिकरुपमा सरदर ५० जना बिरामी सिटि गर्न आउँछन्।

विभागका डेमोष्ट्रेटर एण्ड टेक्निकल इञ्चार्ज मुकेश झाका अनुुसार न्युनतम रेडिएसन डोजमा छिटो स्क्यान गर्न सकिने भएकोले धेरै विरामीको स्क्यान गर्न सकिन्छ। उनले भने, ‘थोरै समयमा धेरैको स्क्यान गर्न सकिन्छ। हामीले दैनिक ४० देखि ६० वटा स्क्यान गर्ने लक्ष्य राखेका छौं।’ उनका अनुसार अबदेखि मुटुको एनजिओग्राफि(कार्डियाक सिटि), न्युरो इमेजिन (परफ्युजन इमेजिन), बोन मिनरल डेन्सिटी इभाल्युएन (क्युसिटी), सिटि फ्लोरोस्कोपी, सिसि गाइडेट वायोस्पी, मस्कुलर स्केलेटल इमेजिङ, रेनल एनजिओग्राफीलगायत अन्य विशिष्ट खालको सिटि स्क्यान वीपीमा नै हुन्छ।

सिटि स्क्यान सञ्चालनमा आइसके पनि औपचारिकरुपमा हस्तान्रतण गर्न भने बाँकी रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। यसअघि प्रतिष्ठानमा २ वटा सिटि मेशिन सञ्चालनमा रहेको थियो। ती मध्ये रेडियोलोजी विभागको मुख्य सिटि मेशिन बिग्रिए पछि बिरामीहरु मर्कामा थिए। 

प्रकाशित: २९ मंसिर २०७८ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App