२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाखको उपचार

प्रदेश नं १ कै अग्रणी सामुदायिक अस्पतालका रूपमा रहेको मेची आँखा अस्पतालले २५ वर्षको अवधिमा ओपिडीमार्फत ३० लाख ३७ हजारभन्दा बढीको उपचार गरेको छ।

स्थापनाको २५औँ वर्षगाँठका अवसरमा आज बिर्तामोड नगरपालिका–३सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले तीन लाख ४३ हजार व्यक्तिको आँखाको शल्यक्रिया गरेको जनाएको छ।

दुई सय शय्याको अस्पतालमा अहिले १४ चिकित्सकसहित २सय १५ कर्मचारी कार्यरत छन्। अस्पतालको सेवा उत्कृष्ट भएकै कारण छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल,आसाम,मणिपुर, विहारलगायत राज्यबाट दैनिक सयौँको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको डा. पुरुषोत्तम जोशीले जानकारी दिए ।  

विसं २०५३ मा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा स्थापना भएको मेची आँखा अस्पताल अहिले पूर्वकै सफल र अग्रणी अस्पतालका रूपमा स्थापित हुन पुगेको छ। 

करिब १२ वर्ष साविक चारपाने–१ मा घर भाडामा लिएर अस्पताल सञ्चालन गरिएको सो अस्पताल २०५७ सालमा आफ्नै भवनमा सरेको हो।

झापामा आँखाका रोगीको बढ्दो सङ्ख्या र अस्पतालमा उपचार गराउन पूर्वी नेपालसहित ठूलो सङ्ख्यामा भारतीय बिरामीसमेत आउन थालेपछि आई केयर फाउण्डेशन नेदरल्याण्डले मेची आँखा अस्पताललाई सहयोग गरेको थियो।  

विसं २०५७ मा फाउण्डेशनले बिर्तामोड–३ सैनिकमोडमा तीन बिघा १७ कठ्ठा ६ धुर जमिन खरिद गरी सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको हो। भवनसँगै अत्याधुनिक प्रविधिका उपकरणसमेत सहयोग तथा खरिद गरी जडान गरेर मेची आँखा अस्पतालले आँखाका बिरामीको उपचार गर्दै आएको छ।(रासस)

प्रकाशित: ३० कार्तिक २०७८ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App