८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मीहरुले पारे आकस्मिक बाहेक सबै सेवा ठप्प

तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ। औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन्।  

उनीहरुले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन्। अ नर्स मनदेवी गौतमले चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए।  

'अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो,' उनले भने'अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं। चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो।' आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन्। आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगङ्गा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउदा समस्या भएको बताए।  

बिरामी बच्चाको उपचारका लागि आएकी मङगला गाउँपालिका–१ कुहुँकी देबी खत्रीले आन्दोलनका कारण सेवा नपाउँदा मर्कामा परेको दुखेसो व्यक्त गरे। दृष्टिबिहीन छिमेकीको उपचारका लागि आएका बेनी नगरपालिका–२ भकुण्डेका गणेश सुवेदीले पनि सेवा नलिइ घर फर्कदा दुःख मात्र पाएको गुनासो गरे। अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन्। गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई वटा कार्यालयसमेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए।

गण्डकी प्रदेश सरकार अन्तर्गतको अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ। आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जीतेन्द्र कँडेलले बताए। 

लेखापाल सुबेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परिक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भएपनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिए। चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनिका, अस्पताल प्रशासन र ब्यवस्थापन समितिबीच छलफल गरेर सेवा सञ्चालन गराउन पहल गरेको प्रमुख डाक्टर कडेलले बताए। रासस

प्रकाशित: २० आश्विन २०७८ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App