coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्।

आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए। यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए।  

दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए। फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनले बताए।  

‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ,' उनले भने।

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए। सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उनको भनाइ छ। कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए।

एक कार्यक्रमकाबिच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेशनले संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिँदै पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताए।

फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिए।

प्रकाशित: १७ आश्विन २०७८ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App