१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘जुन कुकुरले टोके पनि खोप लगाउनू’

सन्दर्भ: विश्व रेविज दिवस

कसैलाई घरमा पालेको कुकुरले टोक्यो ? वा भुस्याहा कुकुरले टोक्यो ? वा भर्खरै जन्मेको कुकुरले टोक्यो ? या कुनै जंगली जनावरले टोक्यो ? यीमध्ये कुनै पनि कुकुर या जनावरले टोकेको छ भने सक्दो छिटो रेबिजविरुद्ध खोप लगाउन चिकित्सकले सुझाएका छन्। 

नेपालमा यीमध्ये बच्चा कुकुर या घरको कुकुर या चिनेको कुकुरले टोकेपछि सुई लगाउन वास्ता नगर्दा बर्सेनि औसत १ सय जनाको रेबिज लागेर मृत्यु हुने गर्छ।

३ वर्षअघि काठमाडौंकै २० वर्षीया युवतीलाई साँझपख हिँडिरहेको बेला कुकुरले टोक्यो। उनलाई कुकुरले टोकेपछि रेबिजको खोप लगाउनुपर्छ भन्ने थाहा थियो। तर सानो मात्र टोकेको छ भनेर बेवास्ता गरी खोप लगाइनन्। परिणाम, कुकुरले टोकेको तीन महिनामा रेबिजको लक्षण देखियो। 

लक्षण देखिएको ६ दिनमा उनको मृत्यु भयो। रेबिजको लक्षण देखिएपछि उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनसँग फोनमा कुरा गरिन्। उनले डा. पुनलाई खोप लगाउने कुरा थाहा भए पनि सानो घाउ भनी नलगाएको बताइन्। त्यो बेला उनी नजिकै आएको मृत्यु सम्झेर फोनमै बेस्सरी रोएकी थिइन् ।

तीन वर्षअघि नै उपत्यका बाहिरकी एक युवतीलाई कुकुरले टोक्यो। रेबिजको लक्षण देखिएपछि उनलाई पनि टेकु अस्पतालमै पुर्‍याए। कुकुरले टोकेको बखत उनका पति र आफन्तले रेबिजविरुद्धको खोप लगाउन सुझाएका थिए। तर उनले हेलचक्र्याइँ गरेर खोप लगाइनन्। परिणाम, रेबिज लाग्यो। रेबिज लागेपछि शतप्रतिशत मरिन्छ भन्ने कुराको थाहा पाएकी उनी मृत्युअघि पतिको हात समातेर बेस्सरी रोएकी थिइन्। यी सबै दृश्य टेकु अस्पतालका डा. पुनले हेरिरहेका थिए ।

यी दुई घटनाबाहेक कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ भन्ने थाहा भएर पनि बेवास्ता गर्दा मृत्यु हुनेहरू नेपालमा धेरै छन्। राष्ट्रिय इपिडिमोयोलोजी तथा रोग नियन्यत्रण महाशाखा रेबिज शाखाका पशु चिकित्सक डा. रोशिका श्रेष्ठले न्याउरी मुसा र बच्चा कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाउँदा गोरखा र  काभ्रेमा दुई जनाको मृत्यु भएको खबर पाएको बताइन्। गत वर्ष दोलखामा कुकुरले टोकेपछि पूरा खोप नलाएका एकै गाउँका तीन जनाको मृत्यु भएको थियो।

महाशाखाका अनुसार नेपालमा प्रतिवर्ष औसत सय जनाको रेबिजका कारण मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ। नेपालमा सबै निजी अस्पताल र दुर्गम गाउँबाट यस्ता मृत्युका घटनाको प्रतिवदेन नआउने हुनाले यकिन तथ्यांक महाशाखामा आइपुग्दैन। 

तर यस्ता घटना धेरै हुने गरेको डा. रोशिका श्रेष्ठ बताउँछिन्। चिकित्सकका अनुसार सरकारले खोप निःशुल्क व्यवस्था गरेको भए पनि धेरैले हेलचक्र्याइँ गरेकाले बर्सेनि नेपालमा धेरैको रेबिजका कारणले मृत्यु भइरहेको हो। योसँगै दुर्गम ठाउँमा खोप पहुँचमा नहुनु र कतिपयमा पूरा जानकारी नहुनु, कुकुरले टोकेपछि सुरुमै पुगिने औषधि पसलमा समेत सही सुझाव नपाउनुले अकालमा मृत्यु भइरहेको छ। ‘कतिपय औषधि पसलेहरूले घरकै कुकुरले टोकेमा लगाउनु नपर्ने, कुकुरले टोकेको तीन दिनपछि लगाउनु नपर्नेजस्ता हचुवायुक्त सुझाव दिँदा पनि रेबिज लागेको देखिन्छ,’ डा. पुनले भने ।

कुनै पनि कुकुर या जंगली जनावरले टोकेमा रेबिज लाग्ने र रेबिजको खोप समयमै नलगाएमा शतप्रतिशत मृत्यु हुने हुनाले सक्दो छिटो खोप लगाउन चिकित्सकको सुझाव छ। रेबिज लागेमा एकदेखि तीन महिना या सात/आठ महिनाभित्र रेबिजको लक्षण देखिन्छ। रेबिजको उपचार भएन भने यो प्राणघातक रोग हो। ‘रेबिज लागेपछि शतप्रतिशत मानिसको मृत्यु हुन्छ,’ डा. पुनले भने ।

कतिपय मानिस धामीको उपचारमा जाँदा पनि रेबिज पहिचान नभई मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन्। कतिपय दुर्गम ठाउँमा खोपको पहुँच नहुनु र जनचेतनाको कमी दुवै कारणले पनि रेबिज लागेर मृत्यु हुने गरेको डा. श्रेष्ठले बताइन् ।

कुकुरको टोकाइमा हुने रेबिजविरुद्धको खोप नेपालमै बन्छ। पछिल्लो समय रेबिज दिवसको अवसर पारेर पशुअधिकारकर्मी तथा पशुसेवा विभागले भुस्याहा कुकुरलाई समेत रेविजविरुद्धको खोप लगाउने गरेको छ। तर यो अभियानले सबै कुकुरलाई समेट्न सकिएको छैन। नेपालमा कुकुरले टोकेपछि रेबिज लागेको कुकुर निश्चित गरेपछि मात्र रेबिजविरुद्धको खोप लगाउने अभ्यास थियो। 

यो अभ्यासले धेरैमा रेबिजको जोखिम बढेपछि रेबिज शाखाले कुनै पनि कुकुरले टोकेपछि जतिसक्दो चाँडो खोप लगाउने गरी निर्देशिका तयार गरेको डा. श्रेष्ठले बताइन्। ‘घरकै कुकुर, गाउँकै कुकुर भनेर पर्खिंदा रेबिजको जोखिम बढ्छ, हामीले पुरानो अभ्यास रोकिसकेका छौं,’ उनले भनिन् ।

नेपालमा रेबिजविरुद्धको खोप सबैको पहुँचमा  पुर्‍याउनका लागि सरकारले रेफरिजेरेटर भएका प्रत्येक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप वितरण गर्ने नीति तथा कार्यक्रम तयार भइसकेको र तत्कालै लागु हुने शाखाले जनाएको छ। नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ भने १ प्रतिशत स्याल, न्याउरी मुसा तथा अन्य जंगली जनावरको टोकाइबाट हुने गरेको पाइएको छ ।

नेपालले सन् २०३० सम्ममा रेबिजको कारणले हुने मृत्यु शून्यमा पुर्‍याउने अन्तर्राष्ट्रिय रूपमा प्रतिबद्धता व्यक्त गरेको भए पनि खोपको पहुँच, हेलचेक्र्याइँको स्थिति र जनचेतनाको कमी जस्ता पक्ष कार्यान्वयनका लागि चुनौती बनिरहेको डा. पुन बताउँछन्। ‘औषधि पसल र समुदाय दुवै तहमा रेबिजविरुद्धको जनचेतना कार्यक्रम आवश्यक देखिन्छ, नत्र शून्यमा  पुर्‍याउने कुरा चुनौतीपूर्ण छ,’ डा. पुनले भने ।

प्रकाशित: १२ आश्विन २०७८ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App