coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोभिडले थलिएको कर्णालीको प्राविधिक शिक्षा

सुदूपश्चिम प्रदेश बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिकाका सुन्दिप सुनार कर्णाली प्राविधिक शिक्षालयमा विशेष छात्रवृत्ति कोटामा फरेष्ट्री विषयमा अध्ययनरत विद्यार्थी हुन्। उनले झण्डै डेढ वर्षदेखि नियतिम रुपमा पढ्न पाएका छैनन्। दोस्रो वर्षमा प्रवेश गर्नु पर्ने उनी पहिलो वर्षमै थन्किएका छन्। कारण थियो- ‘कोभिडको महामारी।’ उनले भने, ‘कोभिड महामारीले हामी विद्यार्थीको भविष्यमा निकै ठूलो खलबल ल्यायो। भविष्य नै अन्यौल बनायो। पठनपाठन नियमित नहुँदा समस्यामा पार्यो।’

डिसीसीएमसी जुम्लाले स्थानीयतहको समन्वयमा विद्यालय खुल्न पाउने निर्णय गरेपछि कर्णाली प्राविधिक शिक्षालयले विद्यार्थीलाई शिक्षालयमा आउन सर्कुलर गर्यो। उनी शिक्षालयको सुर्कलर पाउने वित्तिकै घरबाट हिँडे। उनले भने,‘कोभिडले फरेष्ट्री पढ्ने सपना थलियो। गाउँमा अनलाइन चल्दैनथ्यो। शिक्षकसंग दोहोरो संवाद गरेर पढ्न मिल्दैनथ्यो। एकोहोरो म्यासेन्जरमा आएको नोटको भरमा पढिन्थ्यो। कुनै नोट बुझिन्थे कुनै बुझिदैनथ्ये। एकै दिन धेरै नोट आउँथे। न पढ्न भ्याइन्थ्यो, नत सार्न नै। 

उनले थपे, ‘कोभिडले शिक्षा क्षेत्र नराम्ररी थलियो। सबैभन्दा बढी प्राविधिक धारमा अध्ययनरत विद्यार्थी मर्कामा छौँ। न सुखले घर जान पायौँ, नत प्रभावकारी रुपमा पढ्न।’ सुन्दिप भदौ २४ गते मात्र जुम्ला पुगे। अहिले नियमित कक्ष लिइरहेका छन्। कोभिडका कारण पढाइमा भएको ढिलासुस्तीले मनमा पिरोल्छ।

प्रदेश नं.२ सिराह लाहनकी रञ्जु रसाइली पठनपाठन नियमित नहुँदा निकै समस्या भएको बताउँछिन्। उनी पनि विशेष छात्रावृत्ति कोटामा शिक्षालयमा फरेष्ट्री विषयमा अध्ययन गर्छिन्। शिक्षकले म्यासेन्जरमा नोट पठाएको भरमा गरिने पढाइको कुनै अर्थ नभएको उनले बताइन्। उनले भनिन्,‘कोरोना संक्रमण हुन नदिनको लागि सरकारले लकडाउन गर्यो। निकै दुःख गरेर घरसम्म पुगियो। घरमा पुगेर अनलाइन कक्ष लिने भनियो। त्यो प्रभावकारी हुन सकेन। शिक्षकसंग दोहोरो कुराकानी हुन सकेन। पढाइ लथालिङ्ग नै छ।’

उनी भदौ २५ गतेदेखि नियमित छिन्। उनले भनिन्,‘कतिबेला शिक्षालयमा पुगेर भौतिक उपस्थिती जनाएर पढौँला भन्ने लागेको थियो। शिक्षालयले खबर गर्नेवित्तिकै आइहाल्यौँ। कोभिडले थलिएको पढाइ पहिलेकै लयमा फर्काउन त निकै गाह्रो छ। तर निरन्तर अभ्यास गर्नु पनि जरुरी छ।’  

सुन्दिप र रञ्जु त उदाहरण मात्र हुन्। यहाँ प्रमाणपत्र तह र डिप्लोमा तहका विभिन्न विषयमा अध्ययनरत ७ सय ३३ जना विद्यार्थी अलमलमा छन्। राम्रो सित पढ्न पाएका छैनन्। अनलाइनमा नोट पाएको भरमा परीक्षामा सामेल हुनुको विकल्प छैन। त्यो भरोसा गर्न लायक थिएन।  

रञ्जुले भनिन्,‘यो दशैँमा हामी शिक्षालयमै बसेर पढ्न चाहन्छौँ। त्यो समय शिक्षालय प्रशासनले मिलाइदिनु पर्यो। हामी शिक्षालयमा सुरक्षित बस्छौँ। स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गर्छौँ। तर कोभिडले थलिएको पठनपाठन उकास्न चाहन्छौँ।’

गत वैशाख महिनादेखि ठप्प भएको कर्णाली प्राविधिक शिक्षालय भदौ तेस्रो सातादेखि मात्र खुल्यो। शिक्षालय प्रमुख टेकेन्द्र थापा कोरोनाले विद्यार्थीको पठनपाठन चौपट भएको बताउँछन्। उनले भने,‘कोभिडको पहिलो लहर र दोस्रो लहर गरेर झण्डै डेढ वर्ष शिक्षालय चल्न सकेन। जोखिम उत्तिकै थियो। अनलाइन कक्षामार्फत सैद्धान्तिक कक्षा लिने कार्य भयो। प्राक्टिकल हुन सकेको छैन। प्राविधिक धारका लागि सबैभन्दा महत्वपूर्ण काम नै प्राक्टिकल हो। प्राक्टिकल नै हुन छाडेपछि प्राविधक विषय पढ्नुको औचित्य नै हुँदैन।’

कोरोना कहरमा अनलाइन कक्षा, रेडियोकक्षा जे भनेपनि प्रभावकारी हुन सकेन। प्रमुख थापाले थपे,‘विद्यार्थीको भौतिक उपस्थितीमा हुने पठनपाठन मात्र प्रभावकारी हुने रहेछ भन्ने सिकाइ भयो।’ उनले दसैँ र तिहारको बीचको समयमा नियमित पठनपाठन गर्न शिक्षकसंग आग्रह गर्ने बताए। तर मान्य हुन या नमान्ने हुन। त्यो मलाइ थाहाँ छैन। उनले भने,‘तर म गम्भीर रुपमा आग्रह गर्छु। विद्यार्थीको हीतका लागि जे सुकै गर्न तयार छु।’

कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तर्फ डिप्लोमा इन सिभिल इन्जिनियर, फरेष्ट्री, एग्रीकल्चर र फार्मेसी विषयमा पठनपाठन हुन्छ। अहिले अधिकाँस विद्यार्थी पुगिसकेका छन्। कोरोना महामारीबीचमा थलिएको प्राविधिक शिक्षा उकास्न निकै समय लाग्ने देखिन्छ।  

विद्यार्थीले अभ्यास गर्न पाएनन्। एकोहोराे सामाजिक सञ्जाल म्यासेन्जरमा नोट हालियो। नबुझेको विद्यार्थीले सोध्न पाएनन्। झनै अन्यौल भयो। उनले अबको दुई हप्ता नियमित प्राक्टिलमा जोड्ने बताए।

प्रमाणपत्र तहमा पि जेटिए र प्रि डिप्लोमा सव ओभरसियरको पढाइ हुन्छ। कर्णाली प्राविधिक शिक्षालयमा विशेष छात्रवृत्ति कोठामा सात वटै प्रदेशबाट विद्यार्थी सहभागी छन्। शिक्षालयको नियमित कार्यक्रम अन्तर्गत कर्णालीका दसवटै जिल्लाबाट विद्यार्थी आउँछन्।  

प्रमुख थापाले भने,‘कोरोना महामारीमा गरिएको लकडाउनका बीच विद्यार्थी घर पठाउन समेत निकै गाह्रो भयो। अहिले कोर्ष पूरा गरेर विद्यार्थीलाई प्राक्टिल गराउन कठिन छ। समय घर्किदैछ। गर्नु पर्ने काम धेरै छन्।’

कोरोनाको पहिलो लहरमा कर्णाली प्राविधिक शिक्षालय क्वारेन्टिनको रुपमा स्थापित भयो। जिल्लाभरीका संक्रमित शिक्षालयमै राखियो। पछिल्ला समयमा आइसोलेसनका रुपमा अघि सारिएको थियो। त्यो भएर पनि कर्णाली प्राविधिक शिक्षालय कोरोना महामारीको उच्च जोखिममा रह्यो।  

अहिले सबै शिक्षकले कोरोना खोप लगाइसकेका छन्। दुई/चार जनाले दोस्रो डोज खोप लगाउन बाँकी छ। २५० बढी विद्यार्थीले पनि खोप लगाए। केही विद्यार्थी घरैमै खोप लगाएको कार्ड बोकेर आइसकेका थिए। यहाँका सबै विद्यार्थीलाई खोप लगाउन पहल भइरहेको शिक्षालयले जनाएको छ।  

उनले मास्क, सेनिटाइजरको प्रयोग भएपनि भौतिक दूरी कायम गर्न कठिन भएको बताए। उनले भने,‘सरकार एक बेन्चमा दुई विद्यार्थीभन्दा बढी राख्न नपाउने भन्छ, यहाँ उपलब्ध संरचनाले तीन विद्यार्थी राख्नु पर्ने देखिन्छ। भौतिक दूरी कायम गर्न सकिएको छैन। त्यो बाहेक अरु मापदण्डको पालना भएको छ।’

शिक्षकहरु साउन १ गतेदेखि शिक्षालयमा पुगिसकेका थिए। शिक्षालय प्रमुख थापाले पहिलो खोप शिक्षक र विद्यार्थीलाई दिएर विद्यालय खुलाउनु पर्ने वातावरण बनाउनु पर्नेमा त्यसो हुन नसकेको प्रति दुःख पोखे। उनले भने,‘अहिले विद्यार्थीमा पढ्ने बानी हराइसकेको छ। कलेज आउन पनि अल्छी मान्ने अवस्था देखिन्छ।’ पहिलेको अवस्थामा फर्काउन केही समय लाग्ने देखिएको शिक्षकहरु बताउँछन्।  

यो वर्ष अनलाइन कक्षमा पढेको आधारमा विद्यार्थी परीक्षामा सामेल हुनु पर्ने अवस्था देखिएको छ। नजिकैका विद्यार्थी शिक्षालय खुल्ने वित्तिकै आइसके। तर टाढाको विद्यार्थी मौसम बदली हुनेदेखि अन्य प्राविधिक समस्याका कारण आउन सकेका छैनन्।  

कर्णाली प्राविधिक शिक्षालयले यसअघि सयौँ दक्ष जनशक्ति उत्पादन गरेको छ। निकै गुणस्तरीय र जस्तो सुकै भूगोलमा काम गर्न सक्ने जनशक्ति उत्पादन गरेको थियो। अहिले कर्णाली जस्तो दुरदराज भएको ठाउँमा तीनै जनशक्तिले काम गरिरहेका छन्। तर यो पटक कोभिड महामारीले पठनपाठन प्रभावकारी हुन सकेको छैन। यहाँ अध्ययन गरेका अधिकांस विद्यार्थी लोकसेवा आयोगको परीक्षामा पास गरेर सरकारी जागिर तिर लागि सकेका छन्। केही मेडिकल खोलेर व्यवसाय तिर लागिसकेका छन्।  

शिक्षालय प्रमुख थापाले थपे,‘कोभिडले नराम्ररी थलियो। शिक्षा क्षेत्र थलिनु पर्नेको सिंगो देशको अवस्थामा हलचल हुनु हो।’ अब सबै मिलेर कोरोनाले थलिएको शिक्षा क्षेत्र उकास्न लागि परी गर्नु पर्ने उनले बताए।

प्रकाशित: ५ आश्विन २०७८ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App