coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जेष्ठ नागरिकलाई दोस्रो डोज एस्ट्राजेनिका खोप भोलिदेखि

कोभिसिल्डको पहिलो डोज खोप लगाएको झण्डै ७ महिनापछि जेष्ठ नागरिकलाई दिइने दोस्रो डोजका लागि एस्ट्राजेनिका खोप उदयपुर आईपुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत आईतबार साँँझ जिल्ला आईपुगेको खोप सोमबारको स्वास्थ्य समिति बैठकपछि स्थानीयतहलाई वितरण गरी लगाउने तयारी भएको छ।

सोमबार बिहान ८ बजे बसेको स्वास्थ्य समितिको बैठकले जिल्लाका सबै स्थानीयतहलाई वितरण गरी २ सय १० वटा खोप केन्द्रमार्फत मंगलबारदेखि खोप लगाउने निर्णय भएको छ। पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई माघ अन्तिम र फागुन पहलिो साता भारतीय कम्पनीको कोभिसिल्ड खोप दिइएको थियो। पहिलो डोज लगाएको ३ देखि ४ साताभित्र दोस्रो डोज खोप दिनुपर्नेमा भारतले भुक्तानी लगेर पनि खोप उपलब्ध नगराएका कारण ७ महिनादेखि जेष्ठ नगारिकहरु दोस्रो डोज खोप पाउनबाट वञ्चित भएका छन्।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले आएको एस्ट्राजेनिका खोप छिमेकी मुलुक भुटान र जापानले सहयोगमा उपलब्ध गराएका हुन्। निमित्त स्वास्थ्य कार्यालय प्रमुख रामनरेश ठाकुरका अनुसार माघ अन्तिम र फागुन पहिलो साता पहिलो डोज लगाएका सबै जेष्ठ नागरिकका लागि १३ हजार डोज खोप आएको हो। खोप वितरणका लागि सोमबार विहान जिल्ला प्रशासन कार्यालयमा बैठक राखेर १५ गतेदेखि दिने कार्यतालिका तय भएको उनले बताए।  

बैठकले सदरमुकाम त्रियुगा नगरपालिकामा १५ देखि १८ गतेसम्म खोप दिने निर्णय गरेको छ भने चौदण्डीगढी र बेलका नगरपालिकामा १५ देखि १९ गतेसम्म तथा लिमचुङबुङ र रौतामाई गाउँपालिकामा १७ देखि २० गतेसम्म खोप दिइने छ। त्यस्तै उदयपुर जिल्ला अस्पतालमा १६ र १८ गते खोप चलाइनेछ भने उदयपुगढी र ताप्ली गाउँपालिका तथा कटारी नगरपालिकामा २६ देखि ३० गतेसम्म खोप दिइने कार्यक्रम बनाईएको छ।  

स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जिवी निरौलाले कोभिसिल्ड लगाएका उदयपुरका १२ हजार हाराहारी जेष्ठ नागरिक दोस्रो डोजको खोप पाउनबाट वञ्चित थिए। भारतले सुरुमा नि:शूल्क दिएको कोभिसिल्ड खोप लगाएकाहरु दोस्रो डोजका लागि खरिद प्रक्रिया अनुसार सरकारले सबै रकम भुक्तानी दिएको ६ महिनासम्म खोप नपठाएपछि विकल्पमा एस्ट्राजेनिका दिन लागिएको हो। रकम भुक्तानी लिएर पनि खोप नदिएर भारतले नेपालप्रति चरम बदमासी गरेपछि सरकारले अन्य देशसँग आग्रह गरे अनुसार भुटान र जापानले नि:शूल्क खोप उपलब्ध गराएका हुन्।  

पहिलो पटक आएको कोभिसिल्ड कोभिडविरुद्ध अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, पत्रकार, सुरक्षाकर्मी र ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गरी दिइएको थियो। त्यसपछि आएको  चीनीयाँ कम्पनीको भेरोसिल खोप पहिलो चरणमा ६० वर्षमाथिकालाई र दोस्रो चरणमा आएको ५५ वर्षमाथिकालाई लक्षित गरेर दिइएको थियो। भेरोसिल खोपको दुवै डोज पुरा भईसकेको छ। त्यसपछि एक डोज मात्र दिए हुने अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोपसमेत आएर ५० वर्षमाथिकालाई लगाईसकिएको छ।

उदयपुरमा हालसम्म उदयपुरमा ६७ हजारलाई कोभिडविरुद्धको खोप दिइसकिएको छ। तर, सुरुमै काेभिसिल्डकाे लिएका १२ हजार जेष्ठ नागरिकले भने दोस्रो डोज पाउन सकेका थिएनन्। हाल आएको एस्ट्राजेनिका उनीहरुकै लागि प्रयोग गर्न लागिएको सुपरभाईजर निरौलाले बताएका छन्।  

सोमबार १४ संंक्रमित थपिए

यसैबीच गएको २४ घण्टामा उदयपुरमा थप १४ जना नयाँ संक्रमित देखिएक छन्। स्वास्थ्य कर्यालयले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा ३ महिला र ११ पुरुषमध्ये १० जना कटारी नगरपालिकाका, २ जना चौदण्डीगढी र २ जना त्रियुगा नगरपालिकाका हुन्।  

अघिल्लो दिन ६ महिलासहित १२ जनामा संक्रमण देखिएको थियो भने शनिबार १० जना संक्रमित पाइएको थियो। त्यसैगरी बिहीबार १६ जना र त्यसअघि बुधबार १० जना संक्रमित देखिएका थिए। यो संक्रमण दर हेर्दा पछिल्लो समय जिल्लामा संक्रण नियन्त्रणतर्फ गईरहेको अनुमान गरिएको छ।  

अहिले उदयपुरमा सक्रिय संक्रमितको संख्या ६६ महिलासहित १ सय ३१ रहेको छ। उनीहरुको सदरमुकामस्थित आँखा अस्पतालको जिल्ला आईसोलन र उदयपुर कोभिड अस्पताल बेलटारलगायत विभिन्न अस्पतालमा उपचार भईरहेको निमित्त प्रमुख ठाकुरले बताएका छन्। त्यस्तै अहिलेसम्म निको हुनेको संख्या १ हजार ४ सय ९५ महिलासहित ३ हजार २ सय २९ जना पुगेको छ। स्वास्थ्य कार्यालयको विवरण अनुसार उदयपुमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १६ महिलासहित ५२ रहेको छ।

प्रकाशित: १४ भाद्र २०७८ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App