६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणको असरले नयाँ रोग

कोरोना संक्रमण हुनु भनेको फोक्सोमा निमोनियाँ हुनु भन्ने बुझेका छौं। तर चिकित्सकको अनुभव तथा अध्ययनले कोरोना संक्रमण भइसकेकाहरूमा विभिन्न नयाँ रोग देखिएको पाइएको छ। चिकित्सकका अनुसार कोरोना संक्रमणको गम्भीर तथा मध्यम लक्षण भएकाहरूमा संक्रमणपछि कपाल झर्ने, मुटुको चालमा गडबडी हुने, हृदयघात, मधुमेह बढ्ने तथा अन्य स्नायु सम्बन्धी रोग लाग्ने गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुुर पुनका अनुसार कोरोना सन्चो भएपछि उनीहरूमा अन्य नयाँ रोग देखिएका छन्।  

‘पोष्टकोभिड उनीहरूमा शारीरिकदेखि मानसिक समस्यासमेत भएको पाइएको छ,’ डा.पुनले भने, ‘डराउने, शरीर तातिने, लामो समयसम्म खोकी लाग्ने, अत्याधिक थकाइ लाग्ने, मांसपेशी दुख्ने जस्ता समस्या देखिएको अध्ययनले देखाएको छ।’ यस्तो समस्या केहीलाई दुई महिनादेखि लामो समयसम्म पनि देखिने गरेको उनले बताए। वीर अस्पतालका न्यूरोलोजिष्ट डा. सुनिल कोइरालाकाअनुसार अस्पतालको बहिरंग विभागमा कोभिड–१९ पछि बिर्सने, मांसपेशी दुख्ने, महिनौ गन्ध थाहा नपाउने समस्या भएका बिरामी उपचारका लागि आउने गरेका छन्। उनीहरूमा कोभिड संक्रमणपछि यस्तो समस्या देखिएको पाइएको छ।  

वीर अस्पतालकै चर्म तथा छाला रोग विशेषज्ञ डा. लैला लामाकाअनुसार कोभिड–१९ संक्रमण भएकाहरूमा कपाल झर्ने समस्या बढी देखिएको छ। अहिले अस्पतालमा दैनिक चार/पाँच कपाल झर्ने समस्या लिएर आइरहेका छन्। डा. लामाकाअनुसार कुनै पनि गम्भीर रोग लागेपछि कपाल झर्ने समस्या आउँछ। अहिले नेपालमा कोरोना संक्रमण बढी भएकाले कोरोना संक्रण सन्चो भएकाहरूमा बढी कपाल झर्ने समस्या देखिएको हो। ‘कोरोनापछि नेपालमा कपाल झर्ने समस्या बढको देखिन्छ,’ डा. लामाले भनिन्।  

कोभिड सक्रमणपछि मुटुको चाल बढ्ने, घट्ने र कतिपयमा हृदयघात समेत भएको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रत्नमणी गजुरेलले बताए। अहिले कोभिड–१९ निको भएपछि मुटु बन्द भएका बिरामी अस्पतालमै उपचार गराइरहेको उनले बताए। कतिपयमा मुटुको मांसपेशी कमजोर भएर चाल घट्ने र मुटु ‘ब्लक’ भएमा चाल बढी हुने समस्या पाइएको डा. गजुरेलले बताए। मुटुको यस्तो समस्या लामो समयसम्म रहन्छ वा रहँदैन भन्ने विषयमा अध्ययन हुन बाँकी रहेको उनको भनाइ छ।  

कोरोनाबाट थप २४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। थप मृतकसहित नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ जना पुगेका छन्। ती मध्येमा ७ हजार २ सय चैतदेखि यता मात्रै मृत्यु भएको हो। गत २४ घन्टामा नेपालमा थप एक हजार ९ सय २० जनामा कोरोना पुष्टि भएको छ।  

थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ जना पुगेको छ। हाल नेपालमा ३८ हजार ७ सय ५१ जना संक्रमित छन्। ती मध्येमा ३५ हजार ५ सय ५५ जना होम आइसोलेसनमा र ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। ती मध्येमा ६ सय ८१ जनाको आईसियूमा र १ सय ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ५ सय ६६ जनामा नयाँ संक्रमण पुष्टि भएका छन्।

प्रकाशित: ७ भाद्र २०७८ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App