१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘भरपर्दो मास्क लगाऔं कोरोनाबाट बचौं’

तपाईंले भरपर्दो मास्क लगाउनुभएको छ ? राम्रोसँग मास्क लगाउनुभएको छ ? भरपर्दो मास्क राम्रोसँग लगाएर घरबाहिर या भीडमा जाँदा या सार्वजनिक बसमा चढ्दा कोरोना संक्रमणबाट बच्न सकिन्छ। संक्रामक रोग विशेषज्ञहरूको राय पनि यही छ। राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले मास्क प्रयोग गरे कोरोना संक्रमणबाट बच्न सकिने भन्दै यही साउन २३ देखि २९ गतेसम्म मनाउनेगरी ‘नेपाल मास्क सप्ताह’ सुरु गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा प्रमुख डा. शेरबहादुर पुन वर्षाैँदेखि सरुवा रोग अस्पतालमै काम गर्छन् । कोभिड १९ पछि पनि उनले निरन्तर यही अस्पतालमै दैनिक बिरामी जाँचेका छन् । तर अहिलेसम्म उनलाई कोरोना संक्रमण भएको छैन।  

कोरोना संक्रमितकै बीचमा काम गरे पनि आफूले राम्रोसँग मास्क लगाएकाले संक्रमण नसरेको उनी बताउँछन्। ‘मास्क राम्रोसँग लगाए कोरोना सर्ने सम्भावना अत्यन्त कम हुन्छ’, उनले भने । सार्वजनिक बस या निजी गाडी या भीडभाडमा सबैले राम्रोसँग मास्क लगाए नसर्ने डा. पुन बताउँछन्।

डा. पुनका अनुसार भरपर्दो मास्क लगाएर भीडमा गए पनि कोरोना सर्ने सम्भावना कम हुन्छ। संक्रमित व्यक्तिले हाच्छयुँ गर्दा, थुक्दा या बोल्दा मुखबाट निस्कने छिटाहरूमा कोरोना भाइरस हुने र त्यो छिटा अर्को व्यक्तिको मुख या नाकमा परे संक्रमण हुने हुनाले मास्क लगाउँदा जोगिन सकिन्छ। मास्क लगाएमा एकबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्न सक्दैन। यसकारण सकेसम्म भीडमा नजाने र भीडमै जानुपरे भरपर्दो मास्क लगाउनुपर्ने विज्ञ बताउँछन्। सबैले नाक र मुख छोप्नेगरी मास्क लगाए कोरोना सर्दैन।

ह्याम्स अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा कोरोना संक्रमण भएदेखि निरन्तर संक्रमितको हेरचाहमा खटिएका छन् । तर उनलाई अहिलेसम्म कोरोना संक्रमण भएको छैन। उनको अनुभवमा आफूले मुख र नाक टप्प छोप्नेगरी मास्क लगाएर बिरामीको हेरचाहमा खटेका कारण संक्रमण हुन नपाएको हो। ‘केही शंका लाग्यो कि पटकपटक पिसिआर परीक्षण गरें, अहिलेसम्म संक्रमण भएको छैन, यसको मुख्य कारण राम्रोसँग मास्क लगाएरै हो’, उनले भने। उनको अनुभवमा अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुनुमा पनि धेरैले मास्क राम्रोसँग नलगाएरै हो। सबैले मास्क लगाए बसमा, भीडमा पनि कोरोना सर्ने सम्भावना कम हुने सुवेदी बताउँछन् । ‘कोरोना सर्नबाट बच्ने मुख्य उपाय राम्रोसँग मास्क लगाउनु नै हो’, उनले भने।

तर शौचालय वा अन्य ढोकाको चुकुल, टेबुल, भर्‍याङको रेलिङ, बसको डन्डी, ढोका र सिट छोएपछि अनिवार्य साबुनपानीले हात धुने या सेनिटाइजरले हात सफा गरिहाल्नुपर्छ। नेपालमा मास्क प्रयोग राम्रोसँग नभएकैले कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण हुनुअघि नै तेस्रो लहर सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । ‘मास्क लगाउनेले पनि राम्रोसँग नलगाउनाले पछिल्लो समय कोरोना संक्रमण बढेको देखिन्छ’, उनले भने।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रशिक्षक शीला श्रेष्ठले मास्क राम्रोसँग नलगाउने, मास्क चिउँडोमा लगाउने, मास्क धोएर लगाउने जस्ता गलत काम भइरहेको पाइएको बताइन्। नेपालमा मास्कको गलत प्रयोग भइरहेका कारण पनि मास्क सप्ताह आयोजना गर्नुपरेको उनले बताइन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रमुख डा. राधिका थपलियाले मास्कको प्रयोग सही तरिकाले गर्नकै लागि मास्क सप्ताह मनाइरहेको बताइन्। लक्षण भएका र नभएका दुवैबाट कोरोना सर्ने भएकाले हरेक आफन्तबीचमा पनि मास्क प्रयोग गरेरमात्र भेटघाट गर्नुपर्ने उनको सुझाव छ। मास्क सप्ताहको मुख्य उद्देश्य मास्कको राम्रो प्रयोग गरी आफू र अरुलाई कोरोना संक्रमण हुनबाट बचाउनु हो। ‘मुख्य कुरा घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्छ भन्ने नै हो’, केन्द्रकी प्रमुख थपलियाले भनिन्। अभियानको क्रममा हरेक साँझ काठमाडौंको धरहरामा दीप प्रज्वलन गर्ने, देशभरि स्थानीय तहसम्म मास्क वितरण, सामाजिक सञ्जालमा मास्कबारे सचेतना जगाउने सूचना दिने, सार्वजनिक बसमा मास्कको प्रयोगबारेमा पर्चा, पम्पलेट टाँस्नेजस्ता कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ।

कतिपय विकसित मुलुकमा मास्कको अनिवार्य प्रयोग गरेका कारण खोप लगाउनुअघि नै कोरोना संक्रमणमा कमी भएको अध्ययनहरूले औंल्याएका छन्। हालै हङकङ विश्वविद्यालयले गरेको एक अध्ययनले मास्कको प्रयोगले हावाबाट सर्ने र छिटाबाट सर्ने दरमा ७५ प्रतिशत कमी आउने औंल्याएको छ। मास्क नलगाएको पिँजडामा एक साताभित्र ६६ प्रतिशत मुसा संक्रमित भएका थिए भने संक्रमित पिँजडा मास्कले ढाकेपछि संक्रमणदर १६ प्रतिशतमा झरेको थियाे । 

स्वस्थ मुसालाई पिँजडा राखेरमात्र मास्क लगाउँदा भने संक्रमणदर ३३ प्रतिशत पुगेको थियो। मास्क लगाउँदा पनि संक्रमित भएका मुसाका शरीरमा कम भाइरस देखिएको थियो। मास्क लगाएमा लक्षण भएका र नभएका दुवै संक्रमितले अरुलाई सार्नबाट बचाउने अध्ययनले औंल्याएको छ। मास्क प्रयोगले कोरोना संक्रमणबाट मात्र नभई क्षयरोग, अन्य भाइरल फ्लु र प्रदूषणबाट समेत बच्न सकिने चिकित्सक बताउँछन्। सर्जिकल मास्क, कपडाको मास्क, एन ९५ मास्क प्रयोग गर्न सकिने चिकित्सको सुझाव छ।

सरुवा रोग विशेषज्ञ डा. सुवेदीले सार्वजनिक यातायातमा चढेका बेला मास्क लगाए पनि भौतिक दूरी कायम गर्ने, हावा जानेगरी झ्याल खोल्ने, हातको सफाइ गर्नेजस्ता काम अनिवार्य गर्नुपर्ने बताए । राष्ट्रिय स्वास्थ्य तथा सूचना केन्द्रकी प्रमुख थपलियाका अनुसार सार्वजनिक बसमा भौतिक दूरी पालना नभएमा कोरोना सर्ने जोखिम रहन्छ। सार्वजनिक बसमा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्न लगाउने र बेलाबेलामा बस सेनिटाइजर गर्नुपर्ने उनी बताउँछिन्। ‘तर यो नियम पछिल्लो समय धेरै उल्लंघन भएको देखिन्छ’, उनले भनिन्।

प्रकाशित: २५ श्रावण २०७८ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App