२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

एक्सरेको पालो नआएपछि कोसी अस्पतालका सेवाग्राही आन्दोलित

एक्सरे गर्ने पालो नआएपछि कोसी अस्पतालका सेवाग्राही आन्दोलित बनेका छन्। कोटा प्रणालीका कारण भिडियो एक्सरे गर्ने पालो नआएको भन्दै उपचारका लागि कोसी अस्पताल आएका सेवाग्राही आन्दोलित बनेका हुन्।  

कोसी अस्पतालमा कार्यरत २ जना रेडियोलोजिष्टले राजीनामा दिएपछि अस्पतालले कोटा प्रणाली लागू गरेको छ। जनशक्ति कम भएको भन्दै अस्पतालले भिडियो एक्सरेमा कोटा प्रणाली लागू गरेको हो। कोटा प्रणालीले दैनिक २० जनाको मात्रै भिडियो एक्सरे गर्ने व्यवस्था गरेको छ। तर, अस्पतालमा दैनिक १ सयभन्दा बढी सेवाग्राहीले भिडियो एक्सरे सेवा लिँदै आएका छन्।

सेवाग्राही धेरै भएपछि अस्पताल कोटा प्रणाली लगाएर २० जनालाई मात्रै सेवा दिँदा अन्य सेवाग्राहीले पालो नपाएपछि आन्दोलनमै उत्रन बाध्य भएका छन्। सेवाग्राही लामो समयसम्म पालो कुरेर बसे पनि भिडियो एक्सरे सेवा पाउन नसकेपछि आन्दोलनमै उत्रेका हुन्।

उनीहरुले सोमबार बिहान अस्पताल अगाडि प्रदर्शन र नाराबाजी गरे। बिल काटिसकेको लामो समयसम्म पनि भिडियो एक्सरेको पालो नआएको र अस्पतालले भोलि आउनु भनेपछि आन्दोलनमा उत्रनु परेको विराटनगर–७ की राधिका शिवाकोटीले बताइन्। उनले भनिन्, ‘बिल काटेर शुल्क लिइसकेपछि सेवा नदिएर अर्को दिन आउने म्याद दिएकाले आन्दोलनमै उत्रेका हौं।’ स्वास्थ्यमा समस्या बढेर निक्कै गाह्रो भइसक्दा पनि अस्पतालले बिरामीको उपचारमा ध्यान नदिएको गुनासो उनको छ।  

आन्दोलनमा उत्रिएका सेवाग्राहीले बिल काटिसकेका बिरामीको तत्काल भिडियो एक्सरेलगायतका अरु परीक्षणलाई प्रभावकारी बनाइनुपर्ने माग राखेका छन्। उनीहरुले अस्पतालको उपचार सेवा प्रभावकारी बनाउन र आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न अस्पताल प्रशासनसँग माग गरेका छन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले रेडियोलोजिस्टको अभावका कारण बिरामीले समयमै भिडियो एक्सरे सेवा पाउन नसकेको स्वीकार गरे।  

उनका अनुसार अस्पतालमा ५ जना रेडियोलोजिस्टको दरबन्दी थियो। ४ जना कार्यरत रहेकोमा २ जनाले राजीनामा दिएका छन्। १ जना बिदामा बसेका कारण १ जनाले मात्रै सेवा दिनुपर्ने अवस्था रहेको छ। अस्पतालमा दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि पुग्ने १ हजारभन्दा बढी बिरामीमध्ये १ सय बढी बिरामीको भिडियो एक्सरे हुँदै आएको छ। जनशक्ति थपेर कोसी अस्पतालको सेवालाई प्रभावकारी बनाउन पहल भइरहेको डाक्टर यादवले बताए।

प्रकाशित: १८ श्रावण २०७८ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App