४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको ज्यान गएपछि उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका २ को खैजनपुरलाई ‘सिल’ गरिएको छ। गएको २५ दिनभित्र कोभिड संक्रमणबाट एकै परिवारका २ पुरुष र १ महिलाको ज्यान गएपछि आउँदा सातादिनका लागि खैजनपुर सिल गरिएको हो।  

वडाले जिल्ला प्रहरी र प्रशासन कार्यालयको समन्वयमा वडाको बरगाछी टोल विकास संस्था, नमूना थारु टोल विकास, नयाँ बस्ती टोल विकास र बबिया टोल विकास संस्थाको सीमाभित्र आउजाउ ठप्प पार्ने गरी निशेधाज्ञा लागू गरेको हो। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार महिना दिन नपुग्दै कोरोना संक्रमणले एकै परिवारका ३ जनाको ज्यान गएपछि थप क्षति हुन नदिन निषेधाज्ञा जारी गरिएको हो।  

वडाध्यक्ष खत्रीका अनुसार कोभिड संक्रमण भई बिराटनगरमा उपचाररत रहेका ४२ वर्षीय पुरुषको २५ दिनअघि ज्यान गएको थियो। सोही परिवारका अर्का ३८ वर्षीय पुरुषको ११ दिनअघि कोभिडकै कारण ज्यान गएकोमा गए राति सोही परिवारकी ४० वर्षीया महिलाको पनि ज्यान गएको छ।

लगातार एकै परिवारका ३ जनाले ज्यान गुमाएपछि निषेधाज्ञा लागू गर्नु परेको उनले बताए।  वडाध्यक्ष खत्रीले मृतक महिलाका पतिलाई पनि संक्रमण भएको र टोलभित्र दर्जन बढी व्यक्तिहरु समेत संक्रमित पाइएको बताए। एकै घरमा ३ जनाको ज्यान जानु र थप बिरामीहरु भटाभट टोलमा भेटिएका कारण शनिबार राति १२ः०० बजेदेखि आउँदो २४ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको खत्रीले बताए।  

निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सबैलाई आग्रह गरिएको छ भने यातायात, बजार, पसल, बिहे, भोज, पार्टी, भेला सबै बन्द गरिएको छ। खाद्यान्न जोहो गर्नका लागि विहान ७ः०० देखि ९ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म बाहिर निस्कन खुल्ला गरिएको छ। निषेधाज्ञा अवधिमा बिनाकारण बाहिर निस्केको पाइए संक्रामक रोग ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी वडाले जारी गरेको सूचनामा दिइएको छ।    

उदयपुरमा पछिल्लो २४ घण्टामा ७ महिलासहित २४ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा १४, बेलका नगरपािलकामा ७  चौदण्डीगढी नगरपालिकामा ३ जना संक्रमित थपिएका छन्। योसँगै  सक्रिय संक्रमितको संख्या१ सय १४ महिलासहित २ सय ४६ पुगेको छ।

हालसम्म उदयपुरमा निको हुनेको संख्या १ हजार २ सय १३ महिलासहित २ हजार ६ सय २८ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश लुईटेलले बताए। 

प्रकाशित: १६ श्रावण २०७८ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App