१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

चीनले थप ६० लाख खोप खरिदबाटै दिने

चीनले थप ६० लाख डोज कोभिड १९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनले खरिद प्रक्रियाबाटै सो खोप दिन तयार भएको हो। स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेलका अनुसार यीसहित चीनले नेपालका लागि १ करोड ४४ लाख खोप दिनेछ। यी खोपमध्येमा १ करोड २० लाख खरिद प्रक्रियाअन्गर्तत र ३४ लाख अनुदान स्वरुप दिनेछ।  

दुई महिनाअघि घोषणा गरेको ५० लाख डोज खोप चीनले नेपाललाई पठाइसकेको र अनुदानको रुपमा दिने थप १६ लाख खोप दिने क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘चीनले आवश्यक थप खोप दिने भएको छ, यो हिसाबले नेपालले सन् २०२१ भित्रै धेरै जनसंख्यालाई खोप लगाइसक्नेछ,’ उनले भने।  

थप ६० लाख खोप नेपालालाई उपलब्ध गराएमा चीन नेपाललाई सबैभन्दा बढी खोप दिने राष्ट्रहरूमै पहिलो राष्ट्र हुनेछ। विवरणअनुसार चीनले अनुदान स्वरुप ३४ लाख खोप दिएको छ भने भारतले ११ लाख डोज खोप दिएको छ । त्यसैगरी अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ३४ हजार डोज, जापानले १६ लाख खोप, विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधाअन्गर्तत ३ लाख २४ हजार डोज खोप दिइसकेका छन्। त्यसबाहेक नेपालले भारतबाट १० लाख डोज खोप कोभिसिल्ड खोप खरिद प्रक्रियाबाट दिएको छ।  

कोभ्याक्स सुविधाअन्तर्गत २० प्रतिशतलाई खोप उपलब्ध गराउनेछ। यसअन्तर्गत अहिलेसम्म १९ लाख २४ हजार डोज खोप आइसकेको छ भने थप १६ लाख जापानबाट आउने घोषणा भइसकेको छ। अन्य खोप पनि आउने क्रममा रहेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए । चीन तथा कोभ्याक्स सुविधाअन्तर्गत खोप आएमा नेपालले सन् २०२१ भित्रै ५० प्रतिशत वा एकतिहाइ जनसंख्यालाई नेपालले खोप दिइसक्ने स्थिति रहेको कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए। 

डा. गौतमका अनुसार खोप उपलब्धताको आधारमा अभियान सञ्चालन हुँदै जानेछ। त्यो हिसाबले आगामी चैतभित्रमा सबैजसो जनसंख्याले खोप लगाइसक्ने स्थिति देखिको बताए । ‘प्रधानमन्त्रीले पनि आगामी चैतभित्रमा सबै नेपालीलाई खोप लगाइसक्ने भन्नुभएको छ, सबैतिरबाट खोप आउने पनि देखिएको छ,’ डा. गौतमले भने।  

काठमाडाैँ उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा  

परिवार कल्याण महाशाखाले काठमाडौं उपत्यकामा बुधबारदेखि ५० वर्षमाथिकालाई भेरोसेलको खोप अभियान सुरु भएको छ। उपत्यकाबाहिर भने जोनसोन एण्ड जोनसोनको मात्र खोप ५० माथिकालाई दिंदैछ। उपत्यकामा घनाबस्ती भएको, संक्रमणको जोखिम बढी भएकोले ५० वर्षमाथिको उमेर समूहमा खोप अभियान सुरु गरेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए। उनले भने, ‘फेरि संक्रमण बढेको छ, उपत्यकामा भिडभाड बढी हुने र सबै ठाउँबाट मानिसको आवातजावाता हुने हुनाले यहाँ खोप अभियान छिटो चलाउने आवश्यकता छ,’ उनले भने।  

संक्रमण दर २३.६२ प्रतिशत, तेस्रो लहरको संकेत  

गत चौबिस घण्टामा कोरोना संक्रमण दर २३.६ प्रतिशत पुगेको छ । गत चौबिस घण्टामा परीक्षण भएका १४ हजार २ सय ४२ वटा नमुनामध्येमा ३ हजार ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। अघिल्लो दिन बुधबार यो संख्या २४ प्रतिशतभन्दा बढी थियो। थपसहित नेपालमा कुल संक्रमित संख्या ७ लाख ५० हजार २२ पुगेको छ। तीमध्येमा दोस्रो लहरको अवधिभित्रमा ४ लाख ४८ हजार ४ सय ४९ जना संक्रमित भइसकेका छन्।  

बुधबार काठमाडौं उपत्यकामा कोरोना संक्रमित संख्या अघिल्लो दिनको तुलनामा बढेर ८ सय ६० पुगेको छ। एक साताअघि यो संख्या ४ सयको हाराहारीमा थियो। एक सातामै ५० प्रतिशतको हाराहारीमा बढेको हो। दैनिक संक्रमित संख्या बढेपछि अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढिरहेको राजधानीका मुख्य कोभिड अस्पतालहरूले जनाएका छन्। त्रिवि शिक्षण अस्पताल, शुक्रराज सरुवा रोग अस्पताल र वीरले समेत दैनिक कोभिडका बिरामी भर्ना हुने दर बढिरहेको जनाएका छन्।  

दैनिक संक्रमित संख्यामा वृद्धि भएपछि सरुवा रोग विशेषज्ञ चिकित्सकले भदौ महिनाभित्रैमा संक्रमण चुचुरोमा पुग्ने संकेत रहेको औंल्याएका छन्। ‘यही हिसाबले वृद्धि हुने हो भने भदौको अन्तिमसम्ममा कोरोना चुचरोमा पुग्न सक्छ,’ वीर अस्पतालका कोभिड उपचारमा संलग्न डा. धु्रव गैरेले भने। अहिलेकै गतिमा वृद्धिलाई हेर्दा दोस्रो लहर नियन्त्रण नहुँदै तेस्रो लहर आउन सक्ने  सम्भावना बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह– प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए। उनले भने, ‘यो तेस्रो लहरको संकेत हो।’ चिकित्सकका अनुसार दोस्रो लहरको संक्रमण २० प्रतिशतभन्दा तल जान नसकेकै अवस्थामा पुन संक्रमण उकालो लाग्नुले नियन्त्रणबिना नै तेस्रो लहर पनि आउनसक्छ।  गत चौबिस घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थपसहित नेपालमा कुल मृतक संख्या ९ हजार ८ सय ७ पुगेका छन्। 

प्रकाशित: १५ श्रावण २०७८ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App