८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

वीपीका चारै जना पदाधिकारीको कार्यालयमा तालाबन्दी, सबैको राजिनामा माग

पदाधिकारीहरुको कार्यालयमा तालाबन्दी गर्दै संयुक्त संघर्ष समिति। तस्बिर: रोहित/नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै जना पदाधिकारीको कार्यालयमा तालाबन्दी भएको छ। दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा आज बिहान तालाबन्दी गरेको हो।

पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन्। यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि संघर्ष समितिले माग गरेको छ।

यसैगरि, अबका दिनमा पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरुले दिएको सुझाव अनुसार विशिष्टिकृत एवं विज्ञहरुको समुह बनाई उक्त समुहले सिफारिश गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउन पनि संघर्ष समितिले माग गरेको छ।

संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.ज्ञानेन्द्र गिरी मदिरा पिएको अवस्थामा आएपछि हिजो (मंगलबार) दिउँसो वार्ता भाडिएको थियो। राती अबेरसम्म चारै जना पदाधिकारीको मापसे जाँच गर्न माग गर्दै संघर्ष समितिले उपकुलपति कार्यालय घेराउ गरेपछि व्यापक प्रहरी परिचालन गरिएको थियो।

आन्दोलनरत पक्ष पछि हटेपछि राती नै प्रहरीले उपकुलपति गिरीलाई विराटनगरस्थित उनको निवास पुर्याएको छ। मदिरा पिएर आएका उपकुलपतिलाई वार्तामा राख्ने अन्य पदाधिकारीहरु पनि उतिकै दोषी भएको संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए।

एक साताको अल्टिमेटम

संयुक्त संघर्ष समितिले आफ्नो माग पुरा गर्न एक साताको अल्टिमेटम दिएको छ। असार २३ गतेभित्र माग सम्बोधन नगरिए सम्पुर्ण फ्याकल्टी, कर्मचारी, आवासिय चिकित्सक विद्यार्थीहरुले समुहिक राजिनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाण्डौं जाने पनि घोषणा गरेको छ।  

‘पदाधिकारी चयन आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने मात्र अभिप्रायःले कति हदसम्म असक्षम, गैरजिम्मेवार पदाधिकारीहरुको चयन गर्दा रहेछन् भन्ने पुष्टि भएको छ,’संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले भने, ‘अब पदाधिकारीहरु चयन गर्दा नै विभिन्न आयोग तथा विज्ञहरुले दिएको सुझाव अनुसार चयन हुने वातावरण बन्नुपर्छ।’

प्रकाशित: १६ असार २०७८ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App