७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपकुलपति मादक पदार्थ सेवन गरी वार्तामा आएको भन्दै वीपी प्रतिष्ठान तनावग्रस्त

चारै जना पदाधिकारीलाई बर्खास्त गर्न संघर्ष समितिको माग

वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई घेराउ गर्दै चिकित्सक, कर्मचारीहरु। तस्बिर : रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा बोलाए पछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएको भन्दै मंगलबार प्रतिष्ठान तनावग्रस्त बनेको छ।

दिउँसो करिब ३ बजे संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएको उपकुलपति डा.गिरी भने मदिरा पिएर आएको संघर्ष समितिको आरोप छ। वार्तामा अन्तिममा बोल्ने क्रममा उपकुलपतिको हाउभाउ असामान्य भएको र बोली लर्बरिए पछि संघर्ष समितिले वार्तास्थल छोडेका थिए। आफूहरुलाई वार्तामा बोलाएर अपमानपूर्वक उपकुलपति मदिरा पिएर आएको भन्दै चिकित्सक, कर्मचारीहरु नाराबाजी गरिरहेका छन्। 

वार्तामा सहभागी रहेका उपकुलपति डा.गिरीसहित अन्य पदाधिकारीहरुलाई आन्दोलनकारीले उपकुलपति कार्यालयभित्रै थुनेका छन्। सेक्युरिटी कम्पनी भिआइपीको गाडीमा चढेर क्वार्टर जान खोजेका उपकुलपति डा.गिरीलाई आन्दोलनकारीले रोकेपछि पुनः कार्यलय फर्कन बाध्य भएका थिए। प्रतिष्ठानको उपकुलपति कार्यालय परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  

कोरोना संक्रमण भएको कारण वार्तामा अस्पतलाल निर्देशक डा.गौरीशंकर साह सहभागी थिएनन्। उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद वराल सहभागी थिए। संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले वार्ता हुँदै गर्दा उपकुलपतिको आवाजमा परिवर्तन आएको र बोली पनि लर्बरिएको कारण मादक पदार्थ सेवन गरेर आएको बताए। जिम्मेवार पदाधिकारी मादक पदार्थ सेवन गरेर वार्तामा आएको कारण वार्तास्थल छोड्नु परेको र चारै जना पदाधिकारीहरुको राजीनामा मागिएको डा.पोखरेलले बताए।  

डा.पोखरेलले यो घटनामा चारै जना पदाधिकारी दोषी रहेको उल्लेख गर्दै राजीनामा वा बर्खास्त नभएसम्म आन्दोलन नछोड्ने बताए। ‘हाम्रो आग्रह छ, सबै पदाधिकारीको मापसेको स्वास परीक्षण गरियोस्। यस्ता पदाधिकारीलाई यो प्रतिष्ठानमा बस्ने हक छैन। उहाँहरुको राजीनामा माग नै हाम्रो एक मात्र माग हो,’डा.पोखरेलले भने,‘यसमा भिसि एक जनाको मात्र दोष छैन, एक जना भिसि अचेत अवस्थामा मिटिङमा बसिरहदा अरु पदाधिकारीहरुले उहाँको अस्वस्थता ख्याल नगरि रसस्वादन गरिरहेको जस्तो लाग्यो।त्यसैले अरु पदाधिकारीहरु पनि उतिकै जिम्मेवार हुनुहुन्छ। चारै जना पदाधिकारीहरुले प्रतिष्ठान छोड्नुपर्छ, अनि मात्र प्रतिष्ठिान राम्रो हुन्छ भन्ने हाम्रो अन्तिम निष्कर्ष छ। चार जनाको राजीनामा नआएसम्म उहाँहरुको बर्खास्तगी नभएसम्म आन्दोलन छोड्दैनौं।’

कर्मचारी कल्याण समाज तदर्थ समितिका महासचिव मदन हवलाईले वार्ताको नौटंकी गरेर अपमान गरिएको भन्दै अब कुनै पनि हालतमा वार्ता नहुने बताए। ‘उपकुलपतिको मापसे परीक्षण गर्नुपर्छ उहाँको बडी ल्याङ्ग्वेजले के देखिन्थ्यो भने उहाँ सन्तुलित अवस्थामा हुनुहुन्न,’उनले भने। प्रतिष्ठानका रेक्टर एवं वार्ता समितिका संयोजक प्रा.डा.गुरुप्रसाद खनालले आफूहरु सल्लाह गरिरहेको बताए। उनले भने,‘हामीसँगै छौं, के गर्ने भनेर सल्लाह गरिरहेका छौं।’

प्रकाशित: १५ असार २०७८ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App