७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

वीपीका महाशाखा–शाखा प्रमुखहरु भन्छन् : चार पदाधिकारी चारतिर फर्कदा समस्या बढ्यो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु एकजुट नभै चारतिर फर्कदा समस्या चुलिएको कर्मचारीहरुले गुनासो गरेका छन्। धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार भएको अन्र्तक्रियामा प्रतिष्ठानका कर्मचारीहरुले समस्या चार जना पदाधिकारीमै रहेको औल्याएका हुन्।

उनीहरुले चारजना पदाधिकारीहरुलाई आपसमा मिलेर नै प्रतिष्ठानलाई सही बाटोमा हिँडाउन आग्रह पनि गरेका छन्। सञ्जालले प्रतिष्ठानको विभिन्न महाशाखा र शाखा प्रमुखहरुसँग अन्र्तक्रिया गरेको हो।

महशाखा तथा शाखा प्रमुखहरुले आआफ्नो कार्यक्षेत्रको समस्याहरुबारे जानकारी गराउँदै चारजना पदाधिकारीहरु नमिलेकै कारण समस्या चुलिँदै गएको जिकिर गरेका थिए। ‘हामीले पत्रपत्रिकामार्फत् सुन्दै आएका थियौं, पदाधिकारीहरु मिल्दैनन् भन्ने। आज कर्मचारीहरुले नै पनि भने, पदाधिकारीहरु एकढिक्का छैनन्,’ दबाब सञ्जालका संयोजक एवं सहप्रध्यापक डा.राजेन्द्र शर्माले भने, ‘मुहान नै फोहोर छ। कर्मचारीहरुले नियुक्ती प्रक्रियामै समस्या छ भनेर पनि भने।’

प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले पछिल्लो समय वीपी प्रतिष्ठानलाई भ्रष्टाचारको अखडा भएको स्थापित गर्न केही समूहहरु लगि परेको बताए। उनले पदाधिकारीहरु मात्र नभै विभागीय प्रमुख, चिकित्सकहरु, शाखा र महाशाखा प्रमुखहरु सबै राजनीति मात्र गर्ने गरेको भन्दै आलोचना गरे। ‘सबै राजनीति मात्र गर्छन्, अनि कसरी संस्था अघि बढ्छ ?’ उनले भने, ‘४ जना पदाधिकारीहरु नियुक्त भएर आएपछि एकपटक पनि शाखा, महाशाखा प्रमुखहरुलाई राखेर छलफल गरिएको छैन । कार्यकारिणी समिति बसेर त निर्णय हुन सकेको छैन। कमजोरी सबैको छ।’ उनले पहिला ४ जना पदाधिकारीहरु नै सुध्रिएर आउनुपर्ने पनि बताए।

कर्मचारी प्रशासन शाखाका महेश्वर राईले अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्दा सबै ध्वस्त हुने भन्दै चार जना पदाधिकारी एकजुट हुनुपर्नेमा जोडदिए । धरानमा ९ राजनीतिक दल मिलेर वीपी प्रतिष्ठान सुधार हुनुपर्छ भनेर आवाज उठाइरहेको उदाहरण दिदै उनले भने,‘अहिले ४ जना नै डाक्टर हुनुहुन्छ। ९ वटा दल त मिलेर वीपी सुधार हुनुपर्छ भनिरहेका छन्, भने ४ जना यहाँका पदाधिकारीहरु एक हुने कि नहुने ?’ उनले चारै जना पदाधिकारीहरु डाक्टर भए पनि एमआरआई, सिटिस्क्यानलगायत अत्यावश्यक मेशिनहरु खरीद नभएकोमा पनि प्रश्न गरेका थिए ।  

प्रतिष्ठानकी मेट्रोन गायत्री राईले पनि पदाधिकारीहरु एक नहुँदा काम गर्ने सहज वातावरण नभएको बताइन् । आफुहरु व्यवस्थापनको दोस्रो तहको व्यक्तिहरु भएको भन्दै उनले चार जना पदाधिकारी चार तिर हुँदा समन्वयमा पनि समस्या भइरहेको बताइन्।

कर्मचारी प्रशासन शाखा प्रमुख उमेश कोइरालाले पदाधिकारी नियुक्तीमा नै समस्या भएको औल्याए।

परीक्षा शाखा प्रमुख प्रकाश श्रेष्ठले वीपीको एउटा नराम्रो घटनाको चर्चा साताभरि मिडियामा छाइरहने तर राम्रो काम भएका ओझेलमा पर्ने भन्दै गुनासो राखे। ‘वीपीको राम्रो कामको चर्चा नै हुदैन । यहाँको उत्पादनहरु विश्वको जुनसुकै कुनामा पनि आफुलाई अब्बल सावित गरेका छन्, यहाँ जुन मुल्यमा बिशेषज्ञ सेवा पाउँछन्, अरुतिर छैन,’ उनले भने। 

प्रकाशित: ६ असार २०७८ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App