२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

७५ करोड लगानीमा औषधि उद्योग

औषधिको बिक्री सुरू गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल। तस्बिर : नागरिक

विराटनगरमा ७५ करोड रूपैयाँको लगानीमा औषधि उद्योग सञ्चालनमा आएको छ। विराटनगर–१२ स्थित बखरीमा निप्पोन फर्मास्युटिकल्स प्रालि सञ्चालनमा आएको हो।  

कोरोनाको महामारीका कारण सिटामोल लगायतका अत्यावश्यक औषधिको अभाव भइरहेका बेला निप्पोनले नेपालमै औषधि उत्पादन सुरू गरेको हो। कोरोना महामारीका कारण बजारमा सिटामोल लगायत औषधिको अभावलाई मध्येनजर गरी निप्पोनले पहिलो चरणमा एक करोडभन्दा बढी सिटामोल ट्याब्लेट र बच्चाका लागि ५० हजार बढी सिरप उत्पादन गरी बजारमा पठाउने तयारी गरेको छ। बजारको मागलाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा उत्पादन गरेको एक करोड बढी ट्याब्लेट र सिरप दुई महिनाभित्रै बजारमा पुर्‍याइसक्ने निप्पोन फर्मास्युटिकल्सका अध्यक्ष मन्टु घिमिरेले जानकारी दिए।  

पारासिटामोल उत्पादनका लागि एलसी खोलेर मगाइएको कच्चा पदार्थ आउने क्रममा रहेको घिमिरेले जानकारी दिए। १३ जना साझेदारको लगानीमा औषधि उद्योग सञ्चालनमा ल्याइएको घिमिरेले बताए। ७५ करोड रूपैयाँ लागतमा स्थापना भएको उद्योगमा संस्थापक १३ जनाको ३० प्रतिशत लगानी छ। अन्य लगानी भने हिमालयन बैंकबाट ऋण लिएर जुटाइएको घिमिरेले बताए। उद्योगले ९३ प्रकारका औषधि उत्पादन गर्न औषधि व्यवस्था विभागबाट अनुमतिपत्र लिइसकेको छ। केही औषधि उत्पादनका लागि अनुमति लिने प्रक्रियामा उद्योग छ। स्वदेशी बजारलाई लक्षित गरी औषधि उत्पादन थालेको उद्योगले बजारको मागलाई ध्यानमा राख्दै थप नयाँ औषधिसमेत उत्पादन गर्दै जाने योजना बनाएको घिमिरेले बताए। उनले भने, ‘बजारको मागका आधारमा नयाँ उत्पादन बजारमा ल्याउँछौं।’  

उद्योगमा हाल तीनवटा ब्लक छ। पहिलो ब्लकमा रिसर्च सेन्टर र क्वालिटी कन्ट्रोल छ। दोस्रो ब्लकमा सामान्य उत्पादन छ। जसमा कच्चा पदार्थ लगायत वस्तु राखेर प्रशोधन गरिन्छ। अर्को भागमा उत्पादन युनिट रहेको छ। दोस्रो तलामा ट्याब्लेट, क्याप्सुल र जीवनजल लगायत औषधि उत्पादन हुन्छ। तेस्रो ब्लक पूर्ण रूपमा आइसोलेट गरिएको छ। जसमा एन्टिबायोटिक औषधिहरू उत्पादन गरिन्छ। तेस्रो ब्लकमा ट्याब्लेट, क्याप्सुल र ड्राई सिरफ उत्पादन गरिने अध्यक्ष घिमिरेले जानकारी दिए।  

उद्योगले तीन प्रकारका उत्पादनको बिक्री सुरू गरिसकेको जनाएको छ। उद्योगले पारासिटामोल, एकिटोसियसिस र काटेको पोलेको ठाउँमा लगाउने मलमको बिक्री सुरू गरेको हो।  

पारासिटामोल लगायत औषधिको बिक्रीको शुभारम्भ नोपली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले गरेका थिए। कोरोना महामारीले आक्रान्त भएको र धेरै मात्रामा पारा सिटामोल लगायत औषधिको माग हुँदा भारत लगायत देशका औषधि उत्पादकले पर्याप्त मात्रमा औषधि आपूर्ति नगर्दा नेपालमा पारासिटामोल लगायतका अत्यावश्यक औषधिसमेत अभाव छ। 

यस्तै, भारतले गरेको नाकाबन्दीका बेलासमेत अत्यावश्यक औषधिको आपूर्ति अवरुद्ध हुँदा नेपालमा समस्या निम्तिएको थियो। नेपालमा पर्याप्त औषधि उत्पादन नहुने भएकाले अधिकांश औषधिका लागि विदेशकै भर पर्नुपर्ने बाध्याता रहँदै आएको छ।

प्रकाशित: ६ असार २०७८ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App