३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा कोभिडः बजारमा घट्दै, गाउँमा बढ्दै

हालसम्म १,७६८ मा संक्रमण १,२८९ निको

उदयपुर कोविड अस्पताल बेलटारमा कोविड उपचारपछि निको हुनेलाई बिदाई गर्दै चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राई। तस्बिर: महेश्वर/नागरिक

उदयपुरका सहर बजारक्षेत्रमा कोभिड संक्रमण घट्दै गए पनि गाउँघरमा भने फैलिने गरेको पाइएको छ। सातादिनयता सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरलगायत बजारक्षेत्रमा कोविड संक्रमित घट्दै गए पनि पहाडी भेग र गाउँघरतिर भने संक्रमित भेटिने क्रम अझै रोकिएको छैन।  

पछिल्लो २४ घण्टामा थपिएका ९८ नयाँ संक्रमितमध्ये ताप्ली गाउँपालिकाका मात्र ५३ छन्। जिल्लाको दुर्गम र बिकट पहाडी गाउँपालिका ताप्ली सुरुको झण्डै १ महिनासम्म संक्रमित शून्य अवस्थामा थियो। ३ साताअघिसम्म ११ जना मात्र संक्रमित रहेको ताप्लीमा पछिल्लो ३ दिनमा ३० महिलासहित ५३ जना थपिएका हुन्।  

यो सँगै ताप्लीमा संक्रमितको संख्या ५६ पुगेको छ जसमा महिला संक्रमित २५ छन्। गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाका अनुसार ताप्लीमा हालसम्म एन्टीजेन विधिबाट ३ सय ४६ को स्वाव परीक्षण गर्दा नयाँ संक्रमितहरु ह्वात्तै बढेका हुन्। हालसम्म ताप्लीका २१ महिलासहित ३१ जना संक्रमित निको भईसकेको पनि थापाले बताएका छन्।  

त्यस्तै नगरपालिका भए पनि बेलका ६ (साविक बबला गाविस) को लामीडाँडामा मंगलबार एकैदिन २७ संक्रमित देखिएका छन्। वडाध्यक्ष बसन्त मगरका अनुसार त्यहाँ ३२ जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो। यो सहित वडा ६ मा ३६ जनामा संक्रमण पुष्टि भएको वडाध्यक्ष मगरले बताए। यसअघि यत्ति धेरै संक्रमित सो वडामा कहिल्यै देखिएका थिएनन्।  

६ नं. वडासँग जोडिएका रामपुर, लालबजार र बुद्धचोकमा भने यसअघि नै संक्रमितहरु बाक्लो रुपमा फेला परेका थिए । बजारक्षेत्रमा घर र व्यापार व्यवसाय गर्ने तथा जागीर खानेहरु पहाडको पुख्र्यौली घर फर्कदा संक्रमण बढेको अनुमान स्थानीयले गरेका छन्। गाउँमा ज्वरो, रुघाखोकीजस्ता कोविड लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमित पाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।  

उता अर्को दुर्गम र बिकट गाउँपालिका लिमचुङबुङमा यसअघि नै १ सय बढीमा संक्रमण पुष्टि भईसकेको छ । जसमध्ये ३८ महिलासहित ७४ जना निको पनि भईसकेका छन्। हाल १३ महिलासहित ३४ जना गाउँ अस्पताल र होमआईसोलेसन सेन्टरमा उपचाररत रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए। उनका अनुसार त्योभन्दा बढी संख्यामा कोविडसँग मिल्दोजुल्दो लक्षण देखिए पनि स्वास्थ्य परीक्षण गर्न नमानेकाले संक्रमण भए नभएको प्रष्ट छैन । तर, सबैजसो निको भईरहेको उनले बताए।  

कोभिडसँग मिल्दोजुल्दो रुघाखोकीको लक्षण देखिए पनि जँचाउनेतर्फ बेवास्ता गर्ने गरेको अस्पताल आईसोलेसनका फोकल पर्सन कर्णशेर राई बताउँछन्। उनका अनुसार लक्षण देखिएको खवर पाएपछि स्वास्थ्यकर्मी टोली खटाउँदा पनि परीक्षण गर्नै नआउने गरेको तर, केहीदिनपछि निको हुने गरेको पाइएको छ । लिमचुङुङमा संक्रमितमध्ये वडा नं. २ ताम्लीछाका एक ५६ वर्षीय पुरुषको भने उपचारकै क्रममा दुईसाताअघि दुःखद मृत्यु भएको थियो।  

उदयपुरमा पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २८ महिलासहित ३६ पुगेको छ । यो सँगै जिल्लामा कोविडबाट मुक्ति पाउनेको संख्या ५ सय ७७ महिलासहित १ हजार २ सय ८९ पुगेको छ। अघिल्लो दिन २५ महिलासहित ५८ निको भएका थिए भने आईतबार ३८ महिलासहित ८३ जनाले कोविड जितेको अभिलेख स्वास्थ्य कार्यालयले दिएको छ।  

हाल त्रियुगाका १ सय ९७, बेलकाका १ सय १८, चौदण्डीगढीका ८५ र कटारीका ३३ जना संक्रमित उपचाररत छन्।त्यस्तै ताप्लीका ५५, लिमचुङबुङका ३४, उदयपुरगढीका १३ र रौतामाईका ४ जनाको उपचार भईरहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् । उदयपुरमा कोविडका कारण हालसम्म ५१ जनाको मृत्यु भईसकेको छ। जसमा महिला १७ र बाँकी पुरुष रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको अभिलेखमा उल्लेख छ।

प्रकाशित: १ असार २०७८ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App