८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रोपाइँ छोडेर एन्टिजेन परीक्षण

वर्षासँगै अहिले रोपाइँको सुरु भएको छ। खेतमा रोपाइँका लागि तयारी गर्ने किसानहरुको संख्या बढ्दैछ। किसानहरु रोपाइँका लागि हातमा कोदालो बोकेर खेततिर गइरहँदा सीतालक्ष्मी माकजु भने विहान ९ बजेतिर बिस्का जात्रामा लिंगो उभ्याउने योसिंखेल जाँदै थिइन्।

हल्का ज्वरो आएको अनुभव गरिरहेकी उनी योसिंखेलमा जारी एन्टिजेन परीक्षण गराउन पुगेको सुनाइन्।  

‘झमझम पानी परिरहेको कारण खेतमा पानी भइसक्यो होला, खेतमा मुसाले पारेको दुलोबाट र अरु भ्वाङबाट पानी चुहियो होला’ ४३ वर्षीय माकजुले भनिन्,  ‘खेत र रोपाइँको चिन्ताभन्दा पनि स्वास्थ्यको ख्याल गरेर  आएँ।’ एन्टिजेन परीक्षणका लागि आएकी उनले स्वास्थ्यको हालबुझेर मात्र खेतको हालचाल बुझ्ने बताइन्।  

सबैतिर कोरोना संक्रमण व्याप्त भइरहेको बेलामा उनी बसिरहेको टोल पनि त्यसबाट अछुतो थिएन। सामान्य खोकी लागे पनि, ज्वरो आएको जस्तो भएको थियो उनलाई, रुघा लागे–लागेजस्तो हुन थालेको थियो, सिंगान पातलो हुन थालेको थियो। ‘कोरोना नै लाग्यो कि क्यो हो?’ भन्ने लागेको थियो उनलाई। तर, कसरी थाहा पाउने? परीक्षणविना त थाहा हुन्न।

त्यही थाहा पाउन उनी परीक्षणमा आएकी थिइन्।

परीक्षण गर्न नपाउँदा अझ मानसिक रुपमा समस्या व्यहोरेका माकजुको एन्टिजेन परीक्षणको नतिजा आयो, उनको एन्टिजेन परीक्षण नेगेटिभ निस्कियो। त्यो रिपोर्ट आएपछि उनी अलि सन्तुष्ट देखिए। ‘कोरोना लाग्यो कि भन्ने चिन्ता थियो, धन्न हैन रहेछ।’

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणको वास्तविक अवस्था थाहा पाउन भक्तपुर नगरपालिकाले टोलटोलमा सुरु गरेको एन्टिजेन परीक्षणपछि उनलाई राहत मिल्यो। ‘सबै ज्वरो, सबै रुघाखोकी कोरोना नहुँदो रहेछ, यसरी जँचाउन पाएपछि ढुक्क भएँ, नजँचाएको भए भित्रभित्रै डर लाग्ने थियो, अब ढुक्क भई खेत जाँदा भएको छ।’

एन्टिजेन परीक्षणमा सहभागी एक महिला 

कोरोना भाइरसको हटस्पट बनेको ठाउँ पहिचान गरेर नगरपालिकाले आफूले सञ्चालन गरिरहेको जनस्वास्थ्य केन्द्रका जनशक्तिको उपयोग गर्दै भक्तपुरका टोलटोलमा एन्टिजेन परीक्षण गरिरहेको छ। परीक्षणमा माकजुजस्ता धेरै गृहणी र किसान, मजदुर, दैनिक ज्यालामा काम गर्नेहरु, किराना पसलेहरु, विभिन्न पेशाकर्मीहरु सहभागी भइरहेका छन्।  

बाक्लो बस्ती र बढी जनघनत्व भएको भक्तपुरमा कोरोना महामारीको थप जोखिम कम गर्नका लागि नगरपालिकाले वडाका टोलटोलमा सो परीक्षणलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए।

‘अझै पनि परीक्षणका लागि समस्या भएकाहरु हुनुहुन्छ, तिनीहरुलाई सहज होस् भनेर पनि हामीले टोलमै पुगेर परीक्षण कार्यक्रम गरिरहेका छौं।’ वडाध्यक्ष ज्याख्वले भने।

चिकित्सकको पे्रस्किप्सनविना नगर्ने सो परीक्षण नगरपालिकाले टोलटोलमा गर्दा नगरबासी लाभान्वित भइरहेको ५ नं.का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले बताए। उनले सो परीक्षणबाट संक्रमित कति बाँकी छन् भन्ने पत्ता लगाउनका लागि पनि सहयोग पुगेको बताए।‘

परीक्षणले कोरोना संक्रमण समुदायमा फैलिएको छ, छैन भन्ने थाहा हुन्छ, यसले समुदायको अवस्थाबारे पनि जानकारी प्राप्त हुन्छ।’

परीक्षण कार्यक्रमले परीक्षणसम्बन्धी विभिन्न भ्रमहरु चिर्न सहयोग पुगेको उनको भनाइ छ। उनले कतिपय व्यक्तिहरुमा अझ पनि पोजेटिभ रिपोर्ट आउला कि भन्ने चिन्ता रहेको देखिएको बताए।

‘रुघा लागिरहेको छ, जचाएँ भने त पोजेटिभ रिपोर्ट आइहाल्छ, पोजेटिभ आए काम गर्न पाइँदैन, त्यस्तो सोचेर परीक्षण नगराउनेहरु पनि रहेका छन्’ उनले भने।

नगरपालिकाले कोरोनाबारेको भ्रम हटाउनका लागि प्रत्येक वडाबाट ४ सय जनाको एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App