६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

छातीमा १२ इञ्च रड छिरेका घाइतेको जटिल शल्यक्रिया

फाइल फोटो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा जेठ ११ गते करिब ४ बजेतिर कोखाबाट रड छातीभित्र छिरेका एक व्यक्तिलाई उपचारको लागि ल्याइयो।  

झापाका ३८ वर्षीय ती पुरुषको स्वास्थ्य अवस्था एकदमै गम्भीर थियो। उनको देब्रेपट्टी कोखाबाट १२ इञ्च(३० से.मी.) रड छातीभित्र छिरेको थियो। चिकित्सकहरुको टोलीले एक्स रे, सिटी स्क्यान र थप जाँचहरु गर्दा तत्कालै अप्रेशन गर्नुपर्ने भयो। उनलाई अप्रेशन थिएटरमा पुर्याएर अप्रेशन गर्ने बेला जिन एक्स्पर्टबाट गरिएको परीक्षणमा घाइतेलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। अब के गर्ने ? यो अन्योलतालाई चिर्दै चिकित्सकहरुको टोलीले तत्कालै अप्रेशन गर्याे।  

तिनै घाइते करिब १० दिनको उपचारपश्चात् हिजो शनिबार पूर्ण निको भएर घर फर्किएका छन्। उनी अस्पतालबाट डिस्चार्ज भइसकेपछि मात्र प्रतिष्ठानले औपचारिक जानकारी गराएको हो। ‘उहाँ पूर्ण रुपमा निको भएर डिस्चार्ज भइसकेपछि मात्र सार्वजनिक गरिएको हो,’ प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले भने, ‘यो एकदमै जटिल शल्यक्रिया थियो। ओटी टेबलमा बिरामी पुगेपछि कोरोना भएको रिपोर्ट आयो, तर पनि चिकित्सकहरुको टोलीले स्वास्थ्य मापदण्ड अपनाएर तत्कालै अप्रेशन गरेको हुनाले ज्यान जोगियो।’  

घरको भित्ता प्लाष्टर गर्दा गर्दै ती व्यक्ति ६ फिट उचाईबाट खस्दा कोखामा रड छिरेर गम्भीर घाइते भएका थिए। प्रतिष्ठानका उनको आकस्मिक शल्यक्रिया जनरल सर्जरी विभागका डा.सुरेश प्रसाद साहको नेतृत्वमा भएको थियो। उक्त टिममा कार्डियो थेरासिक भास्कुलर सर्जन डा.लोकेश शेखर जैसवाल, डा.विजय श्रेष्ठ, डा. पवन सापकोटा, एनेस्थेसिया विभागका प्रा.डा.सत्येन्द्र नारायण सिंह, डा.योगेश ढकाल, डा.विशाल देव, डा. अरुण मण्डल, नर्सहरु जानकी चौधरी, गीता राईलगायतको टिमले शल्यक्रिया गरेका थिए।

राती ७ बजे सुरु भएको शल्यक्रिया राती ११ बजे सकिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए।  

प्रतिष्ठानका अनुसार घाइतेको कोखाबाट छिरेको रडले देब्रे पट्टीको करङलाई पनि छेडेर फोक्सोको तल्लो भागमा चोट पुर्याएको थियो। यस्तै, मुटुको पेरिकार्डियममा समेत चोट पुर्याएको चिकित्सकको भनाइ छ। शल्यक्रियाबाट रड निकालिएको थियो भने फोक्सो र मुटुमा लागेको चोटको पनि उपचार भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए। ‘शल्यक्रियापछि घाइतेलाई कोभिड अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। त्यही थप उपचार भयो, र जेठ १७ गते पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो,’ सहप्रवक्ता डा.पोखरेलले भने, ‘ त्यसपछि सर्जरी वार्डमा सारेर उपचार गरिएको थियो। निको भएपछि जेठ २२ गते शनिबार डिस्चार्ज गरिएको छ।’

प्रकाशित: २३ जेष्ठ २०७८ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App