८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा फेरि थपिए ७८ संक्रमित, जेठ २१ सम्म निषेधाज्ञा

उदयपुरमा कोभिड भेरियन्टका बिरामी निको हुने र थपिने क्रम जारी छ। शुक्रबार थपिएका ७८ जना नयाँसहित संक्रमितको संख्या ८ सय ६३ पुगेको छ।  

नयाँ संक्रमितहरुमा त्रियुगा नगरपालिकाका मात्र २४ महिलासहित ७० जना रहेका छन्। बेलकामा ५, चौदण्डीगढीमा २ र उदयपुरगढी गाउँपालिकामा १ जना संक्रमित देखा परेका छन्। उता उदयपुर कोभिड अस्पताल बेलटारमा शुक्रबार जँचाइएका २१ जनामध्ये १० जनामा संक्रमण पुष्टि भएको छ।  

जिल्लामा संक्रमितमध्ये १४ महिलासहित ३१ जना रहेका छन्। योसहित निको हुनेको संख्या उदयपुरमा २ सय ८ पुगेको छ। निको हुनेमा त्रियुगामा ३२ महिलासहित ९३ जना छन् भने चौदण्डीगढीमा २१ महिलासहित ४७ जना छन्। त्यस्तै बेलकामा २२ महिलासहित ४१ र कटारीमा ६ महिलासहित १६ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय उयदपुरले जनाएको छ।  

गाउँपालिकातर्फ लिमचुङबुङमा ४ महिलासहित ८ जना, रौतामाईमा १ महिलासहित ७, उदयपुरगढीमा ३ महिलासहित ५ र ताप्लीमा एक मात्र संक्रमित महिला निको भएर घर फर्केको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए। उनका अनुसार हाल जिल्लाभरी ८ सय ६३ सक्रिय संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ।  

उपचाररत रहेका संक्रमितहमा त्रियुगाका २ सय १ महिलासहित ४ सय ४७ रहेका छन् भने चौदण्डीगढीका ४९ महिलासहित १ सय, कटारीका ४० महिलासहित ९३ र बेलकाका ३६ महिलासहित ७० जना उपचाररत छन्। त्यस्तै लिमचुङबुङका २६ महिलासहित ५१, रौतामाईका २३ महिलासहित ७० र उदयपुरगढीका १० महिलासहित ३१ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ।  

उदयपुरमा शुक्रबार पनि एक संक्रमितको मृत्यु भएको छ। त्रियुगा नगरपालिका २ का ६३ वर्षीय पुरुषका उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको लुईटेलले बताएका छन्। योसँगै जिल्लामा कोभिडले मृत्यु हुनेको संख्या १० महिलासहित ३१ पुगेको छ।

दिनदिनै संक्रमित थपिने क्रम नरोकिएपछि जिल्लामा आउँदो २१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ। वैशाख २५ देखि लागू भएको निषेधाज्ञा यसअघि एक–एक साताका दरले दुईपटक थपिएको थियो। दोस्रोपटक थपिएको निषेधाज्ञा आज १४ गते राति १२ः०० बजेदेखि सकिँदै गर्दा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले थप सातादिन निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

प्रकाशित: १४ जेष्ठ २०७८ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App