२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोभिड बिरामी र कुरुवालाई निःशुल्क खाना

रुकुम पश्चिमस्थित जिल्ला अस्पताल सल्लेमा कोभिड–१९ (कोरोना भाइरस) का बिरामी र उनीहरुका कुरुवालाई निःशुल्क खाना खुवाउन सुरु गरिएको छ।

कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले लगाएको निषेधाज्ञाका कारण खाना खान समस्या भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले निःशुल्क खाना खुवाउन थालेको हो।

महामारीमा बिरामी र बिरामीका कुरुवाहरुलाई खाना खान समस्या भएपछि आफूहरुले उनीहरुको सेवाका लागि निःशुल्क खाना खुवाउन थालेको नेकपा विप्लव समूहका जनवर्गीय संगठनका कार्यालयका सदस्य नरेन्द्र बिकेले जानकारी दिए। ‘बिरामी र बिरामीका आफन्तलाई खाना समस्या थियो,’ उनले भने, ‘नागरिकलाई समस्या हुँदा हामीले खाना खुवाउने कार्य सुरु गरेका हौं, यहाँ कुनै आग्रह, पूर्वाग्रह र राजनीतिक ढंगले होइन।’

विप्लव समूहले सुरु गरेको निःशुल्क खाना अभियानमा सल्लेका स्थानीयहरु र जिल्लाका केही व्यापारीहरुले पनि सहयोग गरेका छन्।

स्थानीयहरुले तरकारी, भाडाकुडा उपलब्ध गराएका छन् भने व्यापारीहरुले खाद्यान्न सहयोग गरेका छन्।  

निषेधाज्ञाका बेला बिरामी र बिरामीका कुरुवालाई खाना खान समस्या भएको थियो। निःशुल्क खाना अभियानले अहिले सहज भएको देखिन्छ। ‘कोरोना भाइरसबाट संक्रमित भएकाको मनोबल उच्च बनाउनु पनि थियो,’ उनले भने, ‘यस्तो संकटमा राज्य अभिभावक बन्नबाट पञ्छिएपछि बिरामीलाई मेरो पनि कोही छ भन्न आभाष दिलाउन यो अभियान सुरु गरेका हौं।’ उनका अनुसार उक्त अभियान बन्द गराउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रहरीसमेत पठाएका थिए। ‘सिडिओ साबले पठाउनु भएको भन्दै खाना बन्द गराउन अभियान चलाएको दोस्रो दिन प्रहरी आएका थिए,’ उनी भन्छन्, ‘भाँडाकुँडा सबै लिएर प्रशासनमा धर्ना बस्ने भन्ने बताएपछि प्रहरी फिर्ता गयो।’  

अस्पतालमा सञ्चालन भएको क्यान्टिनमा गुणस्तरहीन, महँगो र कोरोना भाइरसको जोखिम हुँदा निःशुल्क खाना अभियान सञ्चालन गरेको विप्लव समूहले जनाएको छ । क्यान्टिनभित्र गुणस्तरहीन र महँगो भएको भन्दै राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीसमक्ष लिखित गुनासोसमेत गरेका थिए। त्यसमा प्रशासनले तदारुकता नदेखाएपछि निःशुल्क खाना खुवाउन लागिएको बताइएको छ। विप्लव समूहले बिहान चिया अण्डा, १० बजेतिर खाना र साँझको खाना खुवाउँदै आएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App