कोभिड १९ को महामारीविरुद्ध स्वास्थ्य संस्थामा अग्रपङ्क्तिमा खटिने नर्सले स्वयंसेवी अभियानमार्फत सङ्क्रमित तथा परिवारका लागि निःशुल्क परामर्श सेवा सुरुवात गरेका छन्। नर्सिङ काउन्सिलबाट इजाजतप्राप्त उनीहरुले ‘कोभिड विशेष नर्स समूह’ गठन गरी सातै प्रदेशमा टेलिफोन, अनलाइन लगायतका माध्यमबाट कोभिड १९ का बारेमा नि:शुल्क परामर्श सेवा सुरु गरेका हुन्।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ। समूहका कर्णाली प्रदेश संयोजक नर्स मोना दाहालले कोभिड १९ सङ्क्रमित तथा परिवारका लागि सबैभन्दा पहिला उचित परामर्श जरुरी रहेको बताए।
कर्णालीबाट हालसम्म ४५ भन्दा बढी नागरिकले परामर्श सेवा लिइसकेका छन्। “लाइसेन्सप्राप्त इच्छुक नर्सलाई यो स्वयंसेवी अभियानमा जोडिन आह्वान गरेका छौं, अहिलेसम्म १ सय नर्स अभियानमा आवद्ध भइसकेका छौं,” उनले भने, “कर्णालीका १० जिल्लामा रहेका इच्छुक नर्सहरुले अभियानमा आवद्ध हुन आवेदन दिएका छन् ।” समूहसँग हाल परामर्शकर्ता, संयोजक र तथ्याङ्क सहजकर्ता छन्। कोभिड अनलाइन कक्षा, टेलिफोनबाट बिरामी तथा उनीहरुका आफन्तले निर्धक्क आफ्ना समस्या राख्न सक्ने छन् ।
यसैबीच प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले कोरोना सङ्क्रमित र परिवारका लागि परार्मश सेवाको थालनी गरेका छन्। नगरपालिकाले हरेक वडामा कोरोना सम्पर्क व्यक्ति र परामर्शकर्ता खटाउन थालेको छ। नगर उपप्रमुख मोहनमाया ढकालले होम आइसोलेसनमा बसेका सङ्क्रमितको रेखदेख, सल्लाह–सुझाव र आवश्यक परे उद्वार गर्ने उद्देश्यले परामर्शकर्ता खटाइएको बताए।
कर्णाली प्रदेश सरकारले पनि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर सङ्क्रमित व्यक्तिका लागि परामर्श सेवा सुरु गरेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा छ हजार बढी सङ्क्रमित होम आइसोलेसनमै छन् । समयमै उचित परामर्श र खानपिनमा ध्यान दिन सके आइसोलेसनमै बसेर कोरोना जित्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
प्रकाशित: ११ जेष्ठ २०७८ १३:४४ मंगलबार