२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गण्डकी प्रदेशः ७२ स्थानीय तहलाई ५ लाखको दरले अनुदान

गण्डकी प्रदेश सरकारले प्रदेशका ७२ वटा स्थानीय तहलाई कोरोना संक्रमणविरुद्ध लड्न ५ लाख रुपैयाँका दरले अनुदान दिने भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आफैले सम्हालेको स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रदेशका ७२ वटा स्थानीय तहलाई ५ लाख रुपैयाँका दरले अनुदान दिने पत्रमा हस्ताक्षर गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले स्वास्थ्य मन्त्रालय आफैले राखेका छन । यसअघी यो सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको थियो । माग गरे बमोजिम नै स्थानीय तहलाई रकम दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । ‘पहिले नै माग भइ आएको हो,’ मन्त्रालय श्रोतले भन्यो, ‘अहिले आएर पदभार ग्रहणको मौकामा हस्ताक्षर मात्र भएको हो ।’ प्रदेशमा ८५ वटा स्थानीय तह भएपनि अन्यले रकम माग नगरेकाले तत्काल उनीहरुलाई रकम विनियोजन नगरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

विनियोजित रकम कोभिड–१९का संक्रमितको उपचार व्यवस्थानार्थ अक्सिजन सहितको कोभिड–१९ केयर युनिट (आइसोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिण्डर खरिद, अक्सिजन कन्सन्ट्रेटर खरिद, अक्सिजन दिनका लागि फेस मास्क, पल्स अक्सिमिटर, विरामी शैया ब्यबस्थापनका लागि खर्च गर्नुपर्ने शर्त राखिएको छ ।

५ लाख रुपैयाँका दरले अनुदान प्राप्त गर्ने पालिकामा स्याङ्जाका एउटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । तनहुँका ३ नगरपालिका र ६ गाउँपालिकाले पनि स्वास्थ्य मन्त्रालयले दिएको रकम पाएका छन् ।  

गोरखाका १० गाउँपालिकाले रकम प्राप्त गरेका छन् । मनाङका चारवटै गाउँपालिकाले रकम पाएका छन् । लमजुङका ३ नगरपालिका र ४ गाउँपालिकाले रकम प्राप्त गरेका छन् । प्रदेशको राजधानी कास्की ४ गाउँपालिकाले मात्र रकम पाएका छन् ।

पवर्तका १ नगरपालिका र ५ गाउँपालिकाले रकम प्राप्त गरेका छन् । बागलुङका ४ नगरपालिका तथा ६ गाउँपालिका गरि १० पालिकाले रकम प्राप्त गरेका छन् । म्याग्दीका ५ गाउँपालिकाले रकम पाएका छन । मुस्ताङका ४ गाउँपालिकाले रकम प्राप्त गरेका छन् । प्रदेशको कान्छो जिल्ला नवलपुरका ३ नगरपालिका तथा ४ गाउँपालिका गरी ७ स्थानीय तहले रकम पाएका छन् ।  

हस्ताक्षरपछि मुख्यमन्त्री गुरुङले स्मार्ट सिटीमा स्मार्ट हेल्थको कार्यक्रम आवश्यक पर्ने बताए । उनले कोरोनाको दोश्रो लहर चलिरहेको र तेश्रो लहरपनि आउने सम्भावना भएकाले त्यसको रोकथामका लागि खोप र अक्सिजन प्लान्ट निर्माणमा जोड दिए । उनले पिसीआर रिपोर्ट २४ घण्टा भित्रमा दिने ब्यव्स्था गर्न आवश्यक रहेको भन्दै त्यसको तयारी गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । 

प्रकाशित: ८ जेष्ठ २०७८ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App