७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको न्युरो सर्जरी सम्पन्न

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक जना कोरोना संक्रमितको न्युरो सर्जरी भएको छ। लडेर घाइते भएका धरानका ५७ वर्षीय पुरुषको दिमागमा रगत जमेपछि उपचारको लागि परिवारले प्रतिष्ठान ल्याएको थियो । उनको शल्यक्रिया गर्नुअघि पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि प्रतिष्ठानका न्युरो सर्जन डा.आलोक दाहालको नेतृत्वमा ६ जनाको स्वास्थ्यकर्मीहरुको टिमले बिहीबार(हिजो) कोभिड अस्पतालस्थित अप्रेसन थिएटरमा अप्रेसन गरेको हो ।  

डा.दाहालका अनुसार विरामीको दिमागमा रगत जमेको थियो भने शरीरको बाँया भाग चलेको थिएन । उनलाई मुटुको पनि समस्या देखिएपछि वार्डमा राखेर उपचार गरिएको थियो । ‘तत्काल अप्रेसन गरेर जमेको रगत ननिकाले प्यारालाइज हुने र ज्यानको पनि खतरा थियो,’डा. दाहालले भने,‘मुटुको पनि समस्या देखिएपछि वार्डमा भर्ना गरेर उपचार शुरु गरियो । अप्रेसन गर्नुअघि पिसिआर गर्दा रिपोर्ट पोजेटिभ आयो ।’

डा. दाहालका अनुसार विरामीलाई मंगलबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । आकस्मिक अप्रेसनको तयारी गरिए पनि मुटुको समस्या देखिएकोले वार्डमा भर्ना गरेर उपचार गरिएको थियो । अप्रेसन अघि पिसिआर रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालका फोकल पर्सन डा.विकास साहसँग समन्वय गरेर बेडको व्यवस्थापन भएपछि कोभिड अस्पतालकै शल्यक्रिया कक्षमा न्युरो सर्जरी गरिएको डा.दाहालले जानकारी दिए । दा.दाहालको नेतृत्वमा एनेस्थेसियाका कन्सल्टेन्ट डा.आशिष घिमिरे, जेआर डा.नविन, न्युरो सर्जरीका जेआर डा.सुशिल र स्टाफ नर्ससहित ६ जनाको टिमले अप्रेसन सफलतापुर्वक सम्पन्न गरेको प्रतिष्ठानले जनाएको छ ।  

डा. दाहालका अनुसार विरामीको दिमागमा जमेको रगत निकालिएको छ भने फोहोर पानी निकाल्नको लागि ड्रेन राखिएको छ । सफा भइसके पछि उक्त ड्रेनलाई हटाइने उनले बताए । विरामीको स्वास्थ्य स्थिर रहेको र हातखुट्टा चलेको डा. दाहालले बताए । उनले भने,‘स्वास्थ्य अवस्था स्थिर छ । हातखुट्टा पनि चलेको छ ।’ प्रतिष्ठानमा यसअघि वैशाख २८ गते पनि कोभिड अस्पतलामा नै एक कोरोना संक्रमित महिलाको आन्द्राको जटिल शल्यक्रिया गरिएको थियो भने संक्रमित गर्भवती महिलाको पनि डेलिभरी गरिएको थियो । वैशाख २७ गते पनि एक ४० वर्षीय पुरुषको आन्द्राको शल्यक्रिया भएको थियो ।

प्रकाशित: ७ जेष्ठ २०७८ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App