२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनामा टीकापुर अस्पतालः डाक्टरको टिम, जसले स्थिति सम्हाल्यो

कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आए। कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखे। उनले एक्सरे गरेर हेरे। बिरामीको छाती र फोक्सोमा जटिल समस्या देखियो। उनलाई यो कुनै फरक समस्या हो भन्ने लाग्यो।  

उनले ती बिरामीलाई अस्पताल भर्ना गरेर उपचार थाले। वैशाख १२ गते त्यस्तै स्वास्थ्य समस्या भएका अरु केही बिरामी पनि आए। यो क्रम बढ्दै गयो। वैशाख १६ गते एकजनाले ज्यान गुमाए। अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या र मृत्यु हुने क्रम दिनप्रतिदिन बढ्दै गयो। बिरामीले अस्पतालको कम्पाउण्डसमेत भरियो। एकैदिन ६० जना बिरामी भर्ना भए।  

वैशाख २६ गते एकैदिन ६ जनाले ज्यान गुमाए। स्थिति नियन्त्रणभन्दा बाहिर गयो। सीमित स्वास्थ्यकर्मीले धान्न मुस्किल भयो। त्यसमाथि अक्सिजनको चरम अभाव भैदियो। पछिल्लो दिन थप ८ जनाले ज्यान गुमाए।  

यी सबै बिरामीलाई हेरिरहेका थिए डा. उपाध्यायले। उनी कत्ति आत्तिएनन्। किनकि उनले यसअघि यस्तै अवस्था भोगिसकेका थिए। तीन महिनाअघि टीकापुर पुगेका उनी कोरोना पहिलो लहरमा काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत थिए। त्यहाँको अनुभवले डा. उपाध्यायलाई परिपक्व बनाइसकेको थियो। ‘मेरा लागि त्यो अनुभव हिम्मत बनेर आयो’ उनले भने, ‘मैले मात्रै हैन पूरै टिमले हिम्मत जुटायौं ।’

उनको टिममा थिए डा. संवाद खरेल र डा. सन्दिप यादव। स्टाफ नर्सको कमाण्ड सम्हालिन नर्सिङ अधिकृत कमला बिष्टले। कोभिड जनरल वार्डमा चारजना स्टाफ नर्स खटिए। उनीहरुलाई महामारीको खासै अनुभव थिएन। आँखैअघि मान्छे मर्न थालेपछि स्टाफ नर्स आत्तिए। बिष्टले उनीहरुलाई सम्हालिन्। बिस्तारै उनीहरुले बिरामीलाई सम्हाल्न थाले।  

‘उनीहरुले यस्तो अवस्था कहिल्यै फेस गरेका थिएनन्’ उनले भनिन्, ‘त्यसैले पनि सुरुको अवस्था निकै चुनौतीपूर्ण रह्यो।’

अहिले कोभिड जनरल वार्ड र उच्च उपचार कक्षमा २४ जना स्टाफ नर्स कार्यरत छन्। प्रसुति वार्ड लगायतमा कार्यरत स्टाफ नर्सलाई त्यता परिचालन गरिएको छ। बिरामीको चापअनुसार यो संख्या प्रयाप्त हैन। नर्सिङ अधिकृत बिष्टका अनुसार तैपनि धानेका छन्।  

डा. उपाध्याय लगायतको टिम वैशाख दोस्रो साताबाट पूरै समय अस्पतालमा छ। उनीहरु दिनरात नभनेर बिरामीको उपचारमा संलग्न छन्। ‘कति दिनसम्म त हामी सुत्न पाएनौं’ डा. यादवले भने, ‘हाम्रा लागि सुत्नुभन्दा बिरामीको ज्यान जोगाउनु महत्वपूर्ण थियो।’    

अस्पतालमा वैशाख २८ गतेपछि अवस्था नियन्त्रणमा आएको छ। हाल ३६ जना उपचाररत छन्। ५२ जना उपचार गरेर निको भई घर फर्किएका छन्। करिब १५० जना सामान्य चेकजाँच गरेर निको भएका छन्। डा. उपाध्यायका अनुसार कैयौं व्यक्ति टेलिफोनबाटै भनेको औषधी सेवन गरेरसमेत निको भएका छन्।

अस्पतालले कुनै स्वास्थ्य समस्या भए खबर गर्नु भनेर डा. उपाध्यायको नाम र मोबाइल नम्बर सार्वजनिक गरेको थियो। ‘धेरै व्यक्तिले टेलिफोनबाट सोधेरै औषधी सेवन गरे’ उनले भने, ‘एकजना हिजो निको भएर भेट्न आउनुभएको थियो।’

उनी कुनै स्वास्थ्य समस्या भए अस्पताल आउन सुझाव दिन्छन्। उनका अनुसार रोग पालेर बस्दा समस्या बढ्दै गइरहेको छ। उनले अहिले पनि धेरै व्यक्ति अस्पताल नआएर घरमै बसेको बताए। ‘अन्तिम अवस्थामा अस्पताल आएका व्यक्ति नै समस्यामा परेका छन्’ उनले भने, ‘स्वास्थ्य समस्या हुने बित्तिकै उपचार गर्नुस्।’

कतिपय व्यक्तिहरु उपचारका लागि अस्पताल आउन डराइरहेका छन्। उनीहरु घरमै बसेका कारण जोखिम बढ्दै गएको छ। चिकित्सकका अनुसार त्यस्ता व्यक्तिहरु आफ्नो मात्रै नभई घरपरिवारका सदस्यहरुको स्वास्थ्यसमेत समस्यामा पारिरहेका छन्। 

प्रकाशित: ६ जेष्ठ २०७८ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App