७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

उयदपुरमै अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला खोल्ने तयारी

संघीयता र गणतन्त्रसँगै गठन भएका स्थानीय सरकारहरु उदयपुरे जनतालाई अभर पर्दा कामकाजी देखिने प्रयासमा लागेका छन्।

गतवर्षको कोभिड कहरमा जिल्लामै कोभिड अस्पताल खोल्न सफल भएका यहाँका ८ स्थानीय तहहरुले यसवर्ष पीसीआर प्रयोगशाला र अक्सिजन प्लान्ट स्थापना गर्ने योजना अघि सारेका छन्।

जिल्लाका ८ स्थानीय तह मिलेर गतवर्ष नै गठित ‘उदयपुर विकास बोर्ड’ले चालू वर्षको कोभिड कहरबाट बच्न बोर्डले भर्खरै जिल्लामै अक्सिजन प्लान्ट र पीसीआर परीक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। मंगलबार सम्पन्न बोर्डको भर्चुअल बैठकले चौदण्डीगढीमा पीसीआर प्रयोगशाला र बेलका नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दै सुरुवाती प्रयास थालिएको बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताए।  

चौधरीका अनुसार बैठकले महामारीलाई ध्यानमा राख्दै जनताको सुरक्षाका लागि बेलकामा अक्सिजन प्लान्ट राख्न प्रत्येक नगरपालिकाले १० लाख र गाउँपालिकाबाट ५ लाख रुपैँयाका दरले बजेट बिनियोजन गर्ने निर्णय गरेको छ।

त्यसैगरी चौदण्डीगढीको कोभिड अस्पतालमा पीसीआर परीक्षण प्रयोगशाला राख्नका लागि दातृ निकाय सेभ द चिल्ड्रेन र सम्पूर्ण स्थानीय तहहरुसँग सहयोग लिने निर्णय भएको नगर प्रमुख चौधरीले बताए।  

बैठकले बजेट बिनियोजनको पूर्व सन्ध्यामा आगामी आर्थिक वर्षको पूर्वाधारतर्फ जिल्लाभरका १८ वर्षभन्दा माथिका सबैलाई कोरोना खोप दिने व्यवस्था मिलाउने गरी बजेट विनियोजन गर्ने निर्णय गरेको छ।

‘वर्षेनी आउने कोभिड कहरले जिल्लाबासीलाई मुक्त राख्न सबै स्थानीय तह मिलेर एकीकृत योजना बनाउने निर्णय गरिएको छ’ नगर प्रमुख चौधरीले भने ‘कमसेकम उदयपुरलाई आगामी वर्षदेखि कोभिडमुक्त जिल्ला घोषणा गर्ने हाम्रो लक्ष्य हो।’

४ नगर र ४ गाउँपालिका रहेको उदयपुरमा गतवर्ष त्रियुगा नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा बेलका नगरप्रमुख सचिव र अन्य स्थानीय तह प्रमुख सदस्य रहेको ‘उदयपुर विकास बोर्ड’ गठन गरेका थिए।

प्रदेश र संघीय सरकारसँग पटकपटक बजेट सहयोग मागे पनि नपाएपछि आफ्नै पहलमा अस्पताल खोल्ने हिम्मत कसेको बोर्डले सुरुमा चौदण्डीगढी नगरपालिका ६ सातधारे बेलटारमा कोभिड आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। त्यहँ उदयपुरसहित विभिन्न जिल्लाका २ सय ४५ संक्रमितको सफल उपचार भयो ।

आइसोलेसन सुरु गरेको ६ महिनाभित्रै त्यहाँ झण्डै ३ करोड लागतको उदयपुर कोभिड अस्पताल भवन बनिसकेको छ। हाल दुईदर्जन बढी संक्रमितको सोही अस्पतालमा अक्सिजन सुविधासहित उपचार चलिरहेको छ भने दर्जन बढी निको भएर घर फर्किसकेका छन्।

भवन बनाउन प्रदेश र संघले सहयोग नगरेपछि गाउँपालिका प्रत्येकले १० लाख र नगरपालिकाले २० लाखका दरले १ करोड जम्मा गरेर सुरु भवन स्वीस सरकारले १ करोड ५० लाख र बाँकी चौदण्डीगढी नगरपालिकाबाट जोहो गरेर निर्माण भएको हो।

यसवर्ष बिरामीको चाप बढ्दै गएकाले सुरुमा २२ बेडको अस्पताललाई छिट्टै ६० बेडमा स्तरोन्नति कार्य सुरु भएको चौदण्डीगढी नगप्रमुख खगेन्द्र राईले बताए। 

प्रकाशित: ४ जेष्ठ २०७८ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App