coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

दर्ता नै नगरी पीसीआर परीक्षण गर्ने बिध ल्याब बन्द गराईयो

दर्ता नगरी कोरोनाको पीसीआर परीक्षण गरेको भन्दै कास्की प्रशासनले सोमबार बन्द गराएको बिध ल्याब । तस्बिर : उमेश पुन/नागरिक

महामारीमा मनपरी गरेको भन्दै कास्की प्रशासनले पोखरामा सञ्चालित बिध ल्यावलाई बन्द गराएको छ । ल्याब दर्ता नै नगरी महामारीका रुपमा फैलिएको कोभिड–१९ को पीसीआर जाँच गर्ने ल्यावलाई प्रशासनले बन्द गराएको हो ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासन लगायतको संयुक्त टोलीको अनुगमनका क्रममा ल्याबले दर्ता नै नगरी पीसीआर परीक्षण गर्ने गरेको पत्ता लागेपछि सो ल्याबलाई बन्द गराएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त प्रमुख सपना सुवेदीले जानकारी दिईन् ।

काठमाडौंमा मुख्य कार्यालय रहेको ल्याबले कोरोना माहामारी शुरु हुने समयमा पोखरामा शाखा खोलेको हो । पोखराको पृथ्वीचोकमा शाखा खोलेको सो ल्याब कास्कीमा भने दर्ता छैन । काठमाडौंमा दर्ता भएपनि कास्कीमा पनि ल्याब दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । तर पीसीआर परीक्षणका लागि नमुना काठमाडौं पठाउने भन्दै सो ल्याबले स्वाब संकलन शुरु गरेको उनले बताईन ।  ‘शुरुमा त यहाँस्थित प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासन लगायतले काठमाडौंमा लगेर पीसीआर गर्ने भनेपछि होला भनेर पत्यायो । तर, जब ल्याबले आधा घण्टामै रिपोर्ट दिन थाल्यो, तबमात्र प्रशासनदेखि सरोकारवाला सबै निकाय झस्किए,’ उनले भनिन ।

त्यसपछि निगरानीमा रहेको सो ल्याबमा सोमबार अनुगमन गरिएको थियो । अनुगमनमा ल्याबले पोखराकै अर्काे प्रयोगशालामा पीसीआर परीक्षण गर्ने गरेको प्रमाण भेटिएको सुवेदीले बताईन् । ‘शुरुमा त हामीले पनि काठमाडौंमै लगेर पिसीआर गर्ने भनेपछि पत्यायौं,’ उनले भनिन्, ‘तर बिध ल्याबले हामीलाई झुक्याएको रहेछ, उसले त पोखराकै ल्याबमा परीक्षण गर्ने गरेको प्रमाण नै भेटियो ।’ महामारीका बेला लापरवाहीपूर्वक झुक्याएर पिसीआर परीक्षण गर्ने बिध ल्याबलाई ‘सिल’ गरिएको निमित्त प्रमुख सुबेदीले बताईन् । ‘दर्ता नगरेसम्म बिध ल्याबलाई पिसीआर नगर्न भनेका छौं, साथै ल्याबको ढोकामा ताला लगाएका छौं,’उनले भनिन् । उनले पोखरामा दर्ता गरेमा भने पिसीआर परीक्षण गर्न दिइने बताईन् ।

पिसीआर परीक्षण्का लागि सरकारी अस्पताल टेकु अस्पतालबाट ए ग्रेडको प्याथोलोजी ल्याब भएको प्रमाणपत्र वा नेपाल सरकारबाट स्वीकृत प्राप्त टिचिङ हस्पिटल जसले कोभिडका विरामीका लागि २० प्रतिशत बेड छुट्याएको अस्पतालले मात्र गर्न पाउने ल्याब विज्ञहरु बताउँछन् । तर बिध ल्याबले दुवै मापदण्ड पूरा गरेको छैन । अझ आधाघण्टामै पीसीआरको रिपोर्ट दिएको भन्नेबारेमा थप अनुसन्धान हुनुपर्ने उनीहरुको भनाई छ । किनकी कोभिडको पीसीआर टेस्ट आधा घण्टामा हुनै नसक्ने उनीहरुको दाबी छ । ‘आधा घण्टा त के २ घण्टामा पनि कोभिडको परीक्षण सकिन्न त्यसैले पैसामा पिसीआर प्रमाणपत्र बिक्री गरेको पनि हुनसक्छ, त्यसबारेमा पनि अनुसन्धान हुनुपर्छ,’ पोखराका एक प्रयोगशालाका जानकारले भने ।

प्रकाशित: ३ जेष्ठ २०७८ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App