६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

अक्सिजन र बेड अभावमा मृत्युदर बढ्यो

१० दिनमा १ सय जनाको मृत्यु

रूपन्देहीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। अस्पतालहरूमा अक्सिजन र शय्या अभावमा संक्रमितको मृत्युदर बढेको हो। पछिल्लो १० दिनमा यहाँका कोभिड अस्पतालमा उपचाररत एक सयजना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको कोभिड विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा उपचारत संक्रमितमध्ये अधिकांशले पर्याप्त अक्सिजन नपाएर ज्यान गुमाइरहेको मृतकका आफन्तको दाबी छ। त्यसो त अक्सिजनको मौज्दात सकिँदा गत बुधबार भैरहवाको भीम अस्पताल र बुटवलको कोभिड अस्पतालको आइसियूमा उपचारत ९ जनाको अक्सिजन नपाएरै मृत्यु भएको अस्पतालले नै पुष्टि गरेका छन्।

ती अस्पतालको ईमर्जेन्सी वार्ड, गल्ली र पेटीमै उपचार गराइरहेका बिरामीलाई पनि आवश्यक मात्रामा अक्सिजन नदिँदा छटपटाएरै संक्रमितको मृत्यु हुने गरेको अस्पतालमा कुरुवा बसेकाहरूको गुनासो छ। पछिल्लो एक महिनामा मात्रै जिल्लामा १२ हजार २१० जना संक्रमित थपिएका छन्। गम्भीर लक्षणसहितका संक्रमतिको संख्या बढिरहँदा अस्पतालमा शय्या र अक्सिजनको चरम अभाव भएको हो।

अक्सिजनको चरम अभाव भएपछि लुम्बिनी प्रादेशिक अस्पतालले ईमर्जेन्सीका बिरामीको अक्सिजन मास्क नै झिकिदिने गरेको छ। भेन्टिलेर र आइसियुका बिरामीलाई एक मिनेट पनि अक्सिजन रोक्नै नहुने भएकाले इमर्जेन्सिकालाई एकैछिन अक्सिजन रोकेर भए पनि ज्यान बचाउने प्रयासमा लाग्नुपर्ने बाध्यता रहेको लुम्बिनी प्रादेशिक अस्पतलका एक नर्सले बताइन्। तर बिरामीका आफन्तले भने आइसियुमा बेड नपाएर इमर्जेन्सीमा राखिएकै सिकिस्तै बिरामीलाइ पर्याप्त अक्सिजन नदिँदा मृत्यु हुने गरेको दाबी गरेका छन्।

पछिल्ला केही दिनमा अक्सिजनको चरम अभाव भएपछि सरकारी अस्पतालले नै भेन्टिलेटर, आइसियू र एचडियूमा भर्ना भएकै बिरामीका आफन्तलाई समेत अक्सिजनको व्यवस्थापन आफैं गर्न भनेका छन्। जसका कारण अक्सिजन नपाएर बिरामी अस्पतालको शय्यामा छटपटाइरहँदा आफन्त सडक पेटीमा हारगुहार गरिरहेका छन्। अस्पतालबाहिर, चौर सडकसम्मै बेड र अक्सिजन खोज्ने संक्रमित र आफन्तको बेहाल छ। अस्पतालहरूमा बेड नपाएर होम आइसोलेसनमा बसेका बिरामीको उस्तै बिजोग छ।

बुटवलको कोभिड अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भिम अस्पताल, भैरहवा मेडिकल कलेज, मणिग्रामको क्रिमसन अस्पतालले दुई/चार घन्टाका लागि अक्सिजन जुगाड गर्दै बिरामी बचाउँदै गरिरहेका छन्। बिरामीको उपचारका खटिनुपर्ने चिकित्सकहरू नै अक्सिजनको जुगाडमा खटिनु परिरहेको बताउँछन् प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतम। यहाँका सरकारी र निजी अस्पतालहरूमा पछिल्लो १० दिनदेखि अक्सिजनको चरम अभाव भएको हो। दुई साताअघि नै ती अस्पतालले तीन तहकै सरकार र प्रशासन समक्ष अक्सिजन आपूर्तिको सहज व्यवस्थापको माग गरेका थिए। तर सम्बन्धित निकायले भरपर्दो व्यवस्थापनमा ध्यान नदिँदा भयावह स्थिति निम्तिएको लुम्बिनी प्रादेशिक अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले बताए।

अक्सिजनको चरम अभाव भएपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामी भर्ना लिएका छैनन्। भैरहवा मेडिकल कलेजले त अक्सिजनको चरम अभाव भएपछि विज्ञप्ति नै जारी गरेर भर्ना भएका बिरामीलाई आफ्नो व्यवस्थापन आफैं गर्न भनेको छ। अक्सिजनको अभावमा बिरामीको अवस्था जे पनि हुनसक्ने भन्दै बिरामीका आफन्तलाई मन्जुरीनामामा हस्ताक्षर गराइएको छ।

रूपन्देहीका अस्पतालहरूमा अहिले दैनिक २ हजार सिलिन्डर अक्सिजनको माग छ। तर आपूर्ति पुग नपुग १ हजार सिलिन्डर छ। जिल्लामा रहेका तीनवटा ग्याँस उद्योगले दैनिक १ हजार सिलिन्डर ग्यास भरिरहेका छन्। २४ घन्टा बन्द नगरी उद्योग चलाउँदा १ हजार सिलिन्डर ग्याँस भर्न सकिने ती उद्योगका सञ्चालकको भनाइ छ। प्रशासनको पहलमा केही सिलिन्डर अक्सिजन चितवन र अन्य जिल्लाबाट ल्याएर तत्काललाई काम चलाइए पनि ती जिल्लामै संक्रमणको दर बढीरहेकाले नियमित आपूर्ति सम्भव देखिँदैन। कोभिड अस्पतालहरूलाई माग अनुरूपको अक्सिजन आपूर्तिको भरपर्दो व्यवस्थापन नगरीए जतीबेला पनि स्थिती अप्रिय हुनसक्ने चेतावनी कोभिड अस्पतालका चिकित्सकहरूले दिइरहेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७८ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App